![]()
Peoples News : महोत्तरी — प्रतिबन्धित चन्द समूहका महोत्तरी सेक्रेटरी भीमबहादुर आले पक्राउ परेका छन् । प्रहरीले उनलाई गौशाला नगरपालिका–८ स्थित उनकै घरबाट बिहीबार पक्राउ गरेको हो । आलेलाई बिहीबार नै इलाका प्रहरी कार्यालय बर्दिबास पठाइएको छ । उनीमाथि बर्दिवास नगरपालिका कार्यालयमा गत जेठ १३ गते कुकर बम राखेको आरोप लागेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए।
यही आरोपमा चन्द समूहका महोत्तरी इन्चार्ज रुपबहादुर कार्कीलाई प्रहरीले भदौ १३ गते पक्राउ गरेर हिरासतमा राखेको छ। प्राप्त सूचना र प्रमाणको आधारमा दुवैविरुद्ध थप आरोपसहित मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पक्राउ परेका चन्द समूहका युवा संघ महोत्तरी अध्यक्ष विकासकुमार गुप्ता भने २५ दिनको न्यायिक हिरासतपछि धरौटीमा रिहा भएका छन्।
उनीमाथि अभद्र व्यवहार गरेको आरोपमा महोत्तरी प्रशासनमा मुद्दा विचाराधीन छ। kantipur