स्वास्थ्य संस्था थप्न मलेसिया ‘सकारात्मक’, दुई देशबीच बिहीबार पुन: बैठक

Loading

Peoples News : काठमाडौँ — झन्डै १५ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुलाउन दुई देशबीचका श्रम अधिकारीहरुको बैठक बिहीबार बस्नेगरी टुङ्गिएको छ । मलेसिया जाने कामदारको बायोमेडिकल प्रणालीअनुसार स्वास्थ्य परीक्षण गर्ने संस्थाका विषयमा दुईसम्म बसेको छलफलमा कुरा नमिल्दा बैठक लम्बिएको हो । श्रम सम्झौतालाई कार्यान्वयन गर्न दुवै देशका उच्च अधिकारीहरु संलग्न संयुक्त कार्यदल बैठक मलेसियामा बसेको हो। बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा टोलीसहभागी छ। घिमिरेले दुई पक्षबीच सम्झौतालाई कार्यान्वयन गर्ने विषय सकारात्मक रुपमा अघि बढेको बताए। उनले सकारात्मक र सौहार्दपूर्ण हिसाबले बैठक भइरहेकोले बैठकमा उठेका विषयहरु बताउँदा हतार हुने बताए। ‘दुवै पक्षबीच सहमतिको नजिक पुगेका छौं,’ उनले भने, ‘भोलिसम्म टुंगिनेछ।’

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले संयुक्त प्राबिधिक समितिको बैठ्क गतिरोध तोड्ने तर्फ अगाडि बढेको वताए। ‘दुई दिनसम्म बिषयमाथि निकै गहन र विस्तुतरुपमा छलफल भयो,’ उनले भने।

नेपालले मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र प्रक्रिया पूरा गर्ने स्वास्थ्य संस्थालाई यथाशीघ्रअनुगमन गरी बायोमेडिकल प्रक्रियामा समावेश गर्न प्रस्ताव राखेको छ। नेपालले गत साउन २१ गते नै स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै ३६ वटा पुराना स्वास्थ्य संस्थासहित १ सय २२ वटा संस्थाको प्रस्तावित सूची पठाएको थियो। नेपालले पठाएको स्वास्थ्य संस्थाको पत्रको जवाफ दिँदै एक साताअघि मलेसिया नयाँ स्वास्थ्य संस्था थप्न तयार भएको जनाएको थियो।

मेडिकल संस्थाको छनोट विषयमा दुई देशबीच सहमति भएलगत्तै मलेसियाको रोजगारी खुल्नेछ। ‘मलेसिया र नेपाल दुवैको संयुक्त प्रयासबाट कामदारको हित, अधिकार र सुरक्षालाई संरक्षण गर्न सकिन्छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने,‘यसैमा हामी केन्द्रित भएका छौं। यो बैठकबाट सबै बिषयहरु टुंगिने आशा राखेको छु। यसतर्फ मलेसिया पनि सकारात्मक छ।’ kantipur

Leave a Comment