![]()
Peoples News : (कपिलवस्तु/परासी) — मुस्लिम धर्मावलम्बीको महत्त्वपूर्ण पर्व मोहर्रम मंगलबार कपिलवस्तु र परासीमा धुमधामले मनाइएको छ । यहाँका हिन्दुले पनि यो पर्व मनाउँदै आएका छन् । हिन्दु र मुस्लिम समुदायको सामूहिक पर्व बनेको यसले धार्मिक सद्भाव राख्न बल पुगेको सरोकारवालाहरू बताउँछन् । दुवै समुदायले सोमबार साँझ आ–आफ्ना घरअघि कागजको मन्दिर (तहाजिया बाबा) बनाएर मंगलबार स्थानीय कर्बला (चिहान गाड्ने ठाउँमा सेलाएर पर्व मनाएका हुन् । धार्मिक गुरु हजरते इमामे हुसेनको सम्झनामा मुस्लिम समुदायले उनको प्रतीक स्वरूप तहाजिया बाबाको पूजाआजा गर्ने प्रचलन छ ।
धर्मगुरु पैगम्बर मोहम्मद शाहका नाति हजरते इमाम हुसेन न्यायका लागि लड्दा एक क्रूर शासकबाट मारिएपछि उनको सम्झनामा दुःखको पर्वका रूपमा मोहर्रम मनाउने पिलवस्तुका मुस्लिम अगुवा अब्दुल रसिद खाँले बताए । हिन्दु धर्मावलम्बीले मनोकांक्षा पूरा भएको खुसीमा बाबालाई घरअघि निकालेर अर्को दिन सेलाउने चलन छ । कपिलवस्तु नगरपालिका तिलौराका सन्तोष चाईले १० वर्षदेखि तहाजिया बाबाको पूजा गर्न थालेको बताए । गाउँका मुस्लिम समुदायसँगै मिलेर बाबाको पूजाआजा गर्न पाउँदा निकै सन्तुष्टि मिलेको उनले बताए । कपिलवस्तु १०, तेनुवाका वंशीधर बनियाले पनि आठ वर्षदेखि तहजिया बाबाको पूजा गर्दै आएको बताए ।
‘गाउँका हिन्दु र मुस्लिम मिलेर सँगै मोहर्रम मनाइयो,’ उनले भने । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका आमगाउँका हरिराम चौधरीले बाजेकै पालाबाट मोहर्रम पर्व मनाउँदै आएको बताए । बजारमा यस वर्ष दुई सयदेखि १० हजार रुपैयाँसम्मका तहाजिया बिक्री भएका थिए । जिल्लाको सीमावर्ती कृष्णनगर बजारमा पनि मोहर्रमको उल्लास बढेको थियो । तौलिहवामा सागरटोलमा रहेको कर्बला र कृष्णनगरमा लक्ष्मीनगरमा रहेको कर्बलामा तहाजिया सेलाइएको थियो । परासीका हिन्दु र मुस्लिमले अँगालोमा बाँधिएर शुभकामना साटासाट गरेका थिए ।
तहाजिया बेचेर आम्दानी
कपिलवस्तु नगरपालिका–१, मस्जिद टोलका समसुल पखियालाई दुई महिनादेखि दिनरात गरेर बनाएका तहाजिया बेच्न सोमबार भ्याइनभ्याइ भयो । उनले एकै दिन १ सय ४७ वटा तहाजिया बचेको बताए । उनीजस्तै मस्जिद टोलकै व्यापारी रउफ खाँले पनि सातायता दैनिक १० हजार रुपैयाँका दरले तहाजिया बिक्री गर्दै आएको बताए । उनले घरका पाँच जना मिलेर ढाइ महिनादेखि तहाजिया बनाएका थिए ।
‘सोमबार मात्रै ४० हजार रुपैयाँको बिक्री गरें,’ उनले भने, ‘यसैको कमाइबाट वर्षभरि पाँच जनाको परिवार पाल्नु छ ।’ धर्मसँगै आम्दानी हुने भएकाले आफूले तहाजिया बनाएर बिक्री गरेको अर्का ब्यवसायी अब्दुल अजिजले बताए ।