![]()
पिपुल्स न्युज काठमाडौँ : नेपाल आज स्वतन्त्र राष्ट्रजस्तो होइन, भ्रष्ट शासकहरूको बन्धक राज्य बन्दै गएको छ । सत्ता र शक्तिको आडमा लुट मच्चाउने राजनीतिक वर्गले देशलाई खोक्रो बनाइसक्यो । विकासका नाममा अरबौँ पचाइएका छन्, न्यायका नाममा सम्झौता बिकेका छन्, र जनताको सपना राज्यकै हातबाट हत्या भएका छन् ।
भ्रष्टाचार अब अपवाद होइन, शासन प्रणाली बनेको छ.। आज नेपालमा ठेक्का बिना घुस हुँदैन, नियुक्ति बिना सेटिङ हुँदैन, अनुसन्धान बिना दबाब हुँदैन, फैसला बिना लेनदेन हुँदैन।
यो अवस्था कुनै “कमजोरी” होइन, राज्य संरचनामै जरा गाडेको अपराध हो । जब अपराधी नै शासक बन्छन्, तब देश स्वतः असफल राष्ट्रतर्फ धकेलिन्छ । कमजोर राष्ट्रमाथि हस्तक्षेप अनिवार्य हुन्छ
इतिहास साक्षी छ : जहाँ शासन असफल हुन्छ, जहाँ भ्रष्टाचार नियन्त्रणबाहिर जान्छ, जहाँ जनताको भरोसा मर्छ, त्यहाँ बाह्य शक्ति चुप बस्दैन ।
अमेरिका होस् वा अन्य शक्ति राष्ट्र, उनीहरू “मानवअधिकार”, “सुशासन”, “स्थायित्व” जस्ता शब्द प्रयोग गर्छन्, तर वास्तविकता के हो भने कमजोर राष्ट्र उनीहरूको प्रयोगशाला बन्छ ।
अमेरिकाको हस्तक्षेप : बन्दुकले होइन, दबाबले, नेपालमा आजभोलि देखिएको कूटनीतिक सक्रियता, आर्थिक सहायता सर्तसहित, भ्रष्टाचारविरुद्ध लक्षित टिप्पणी, राजनीतिक नेतृत्वप्रति बढ्दो असन्तोष यी सबै अप्रत्यक्ष हस्तक्षेपका संकेत हुन् । यदि अवस्था यहीँ रोकिएन भने भोलि नीति निर्माण बाहिरबाट निर्देशित हुनेछ, सरकार दबाबमा चल्नेछ, सार्वभौमिकता कागजमा सीमित हुनेछ, दोष अमेरिका होइन, दोषी हाम्रा शासक हुन् ।
नेपालको अवस्था बिग्रिनुमा अमेरिका, भारत वा चीनभन्दा बढी दोषी छन् नेपालकै भ्रष्ट नेता, कायर प्रशासक, मौन बुद्धिजीवी, गुलाम युवा वा जनता र स्वार्थी दलहरू.। शासकले देश बेच्न थालेपछि, किन्नेहरू लाइनमा उभिनु स्वाभाविक हो ।
अब चेतावनी होइन, अन्तिम समय आयो यदि भ्रष्टाचारमाथि कठोर कारबाही भएन, लुटेरालाई राजनीति बाट हटाइएन, जनताको आवाजलाई राज्यले सुनेन भने अब नेपालले : नीतिगत स्वतन्त्रता, आर्थिक आत्मनिर्भरता र अन्ततः राजनीतिक निर्णयको अधिकार गुमाउनेछ ।
देश बचाउने कि कुर्सी ? आज प्रश्न यो होइन कि अमेरिकाले हस्तक्षेप गर्छ कि गर्दैन । प्रश्न यो हो कि भ्रष्ट शासकलाई जोगाउने कि राष्ट्र बचाउने ? यदि अब पनि नेपाली समाज चुप बस्यो भने, भोलि विदेशी हस्तक्षेपको विरोध गर्ने नैतिक अधिकार पनि जनतासँग रहने छैन ।