![]()
Peoples News : संसारभरी हिन्दुमाथि प्रहार भई रहदा इस्कोनमाथि प्रतिबन्ध लगाउन उठयो माग : बंगलादेशको भेदभाव विरोधी विद्यार्थी आन्दोलनले देशमा इस्कोन (इन्टरनेशनल सोसाइटी फर कृष्णा चेतना) लाई प्रतिबन्ध लगाउन माग गरेको छ । ढाका ट्रिब्यूनका अनुसार बुधबार इस्कोनमाथि प्रतिबन्ध लगाउन र वकिलको हत्या प्रकरणमा दोषीमाथि कारबाही गर्न माग गर्दै कानुनी सूचना जारी गरिएको थियो । १० जना वकिलको तर्फबाट गृह मन्त्रालय, कानून तथा न्याय मन्त्रालय र प्रहरी महानिरीक्षकलाई यो सूचना पठाइएको समाचारमा जनाइएको छ । यसमा इस्कोनलाई कट्टरपन्थी समूह भएको र साम्प्रदायिक अशान्ति फैलाएको आरोप लगाइएको छ । विद्यार्थी आन्दोलनका संयोजक हसनत अब्दुल्लाले इस्कोनलाई ‘आतंकवादी समूह’ भनेर वर्णन गर्दै त्यसमाथि प्रतिबन्ध लगाउन माग गरे । अब्दुल्लाले भने, ‘हाम्रो देशमा सबै धर्म सद्भावमा बस्छन् । हामी सबैको अधिकारको रक्षा गर्न काम गर्नेछौं । तर धर्मको नाममा चल्ने चरमपन्थी संगठनहरूले बंगलादेशमा एक इन्च पनि ठाउँ पाउने छैनन् । सैफुलको निर्ममतापूर्वक हत्या गरिएको थियो । यो इस्कोन आतंकवादी समूहको रूपमा प्रतिबन्धित हुनुपर्छ ।

बंगलादेशको चटगाउँस्थित इस्कोन मन्दिरसँग सम्बद्ध चिन्मय कृष्ण दासलाई पक्राउ गरी जेल हालिएपछि वातावरण तनावपूर्ण बनेको छ । चिन्मय कृष्ण दासलाई जेल पठाइएकोबाहेक ३२ वर्षीय वकिल सैफुल इस्लामको मंगलबार चटगाउँ अदालत परिसरमा हत्या भएको थियो । त्यसयता उक्त क्षेत्र तनावग्रस्त छ । भारतले चिन्मय कृष्ण दासलाई जेल पठाएको विषयमा भारतले आपत्ति जनाएको थियो । यसलाई भारतले बंगलादेशमा हिन्दू र अन्य अल्पसंख्यकमाथि भइरहेको दमन भनेको थियो । जवाफमा बंगलादेशले भारतले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बताएको छ । बीबीसी