जंगी अड्डामा सेनाका संस्थापक राष्ट्र निर्माता पृथ्वीनारायणको सालिक स्थापना

Loading

कार्यकाल सकिनै लाग्दा शुक्रबारदेखि एक महिने बिदामा बस्ने तयारीमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा पृथ्वीनारायण शाहको सालिक स्थापना गरेका छन्।

राष्ट्र निर्माता तथा नेपाली सेनाका संस्थापकको हैसियतमा निर्माणधीन सैनिक मुख्यालयको अगाडि स्थापना गरिएको शालिकको प्रधानसेनापति क्षत्रीले शुक्रबार बिहान अनावरण गरे।

नेपाल एकीकरण अभियानको सुरुवातमै गोरखाली राजा पृथ्वीनारायण शाहले सेनाका ५ वटा पल्टनको निर्माण गरेका थिए। नेपाली सेनाको प्रारम्भविन्दू तिनै ५ गणलाई मानिन्छ।

नेपाली सेनाका संस्थापक भएपनि नेपाली सेनाको सालिक यसअघि जंगी अड्डामा राखिएको थिएन। सेनाले ब्यारेकहरुमा चाहिँ पृथ्वीनारायण शाहको उपदेश प्रयोग गर्दै आएको छ ।

नेपाली सेनाको संस्थापक शाहको सालिक अनावरण कार्यक्रममा नेपाली सेनाका छत्रमानसिंह गुरुङ बाहेक सबै जीवित पूर्व प्रधानसेनापतिहरु उपस्थित थिए।

क्षत्री अघिका पूर्वप्रधानसेनापति गौरब शमशेर जबरा, रुक्माङ्गद कटवाल, प्यारजङ्ग थापा, प्रज्वल्ल शमशेर जबरा, अर्जुननरसिँह राणा अनावरणमा सहभागी थिए।

अनावरण कार्यक्रममा पूर्व प्रधानसेनापतिका अलावा क्षेत्रीका उत्तराधिकारी बन्न लागेका बलाध्यक्ष रथी पूर्णचन्द्र थापापनि सहभागी थिए।

‘एकताका प्रतिक, हाम्रा राष्ट्र निर्माता तथा नेपाली सेनाका संस्थापक बडामहाराज पृथ्वी नारायण शाहको पूर्ण कदको स्मारक जंगी अड्डामा सगर्व स्थापना गरियो’ सालिक अनावरणपछि सामाजिक सञ्जालमार्फत् प्रधानसेनापति क्षत्रीले भनेका छन्, ‘शताब्दी पहिले बडामहाराजले हामीलाई सुम्पिबक्सेको राष्ट्रको संरक्षण र संबर्धन गर्ने प्रतिज्ञा नेपाली सेनाका समस्त सकलदर्जाहरु गर्दछौं ।’
प्रधानसेनापति क्षेत्रीले बलाध्यक्षरथी पूर्णचन्द्र थापालाई आजै कायममुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड हस्तान्तरण गर्दैछन्।

Leave a Comment