दुर्गा प्रसाईँ किन बने एमालेको आलोचक

Loading

People’s News Kathmandu : बेलाबेलामा विवादमा परिरहने व्यवसायी दुर्गा प्रसाईँ कुनै बेला नेकपा एमालेका केन्द्रीय सदस्य थिए । सार्वजनिक कार्यक्रमहरूमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हजुरबुवा’ को नाता लगाउँदै बोल्थे । उनी कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकट मानिन्थे । अहिले सरकारमा भएका मुख्य दल माओवादी केन्द्र र नेपाली कांग्रेस हुन् । तर केही महिनादेखि प्रसाईँले एमाले नेतृत्वको चर्को आलोचना गर्दै आएका छन् । विभिन्न माध्यमबाट उनले एमाले र उक्त दलका अध्यक्ष ओली एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध अभिव्यक्ति दिइरहेको देखिन्छ । ओली र बस्नेतसहित एमाले नेताले उनको विभिन्न आलोचना गर्दै उनलाई नियन्त्रण र कारबाही गर्नुपर्ने टिप्पणी समेत गर्ने गरेका छन् । सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्तामा प्रसाईँले पहिला आफू माओवादी पार्टीमा आबद्ध भएको बताउने गरेका छन् । उनी पछि एमाले बनेका थिए । अहिले भने उनी प्रखर गणतन्त्रविरोधी बनेका र हिन्दूराष्ट्र तथा राजतन्त्रको पक्षमा लागेका देखिन्छन् । कतिपयका विश्लेषणमा कुनै बेला एमालेकै केन्द्रीय सदस्य बनेका प्रसाईँ र एमालेका नेताहरूबीच सम्बन्ध बिग्रिनुमा एमाले र ओलीबाट उनको “स्वार्थ पूर्ति नहुनु” पनि एक प्रमुख कारण हुन सक्छ ।  

चर्चा र राजनीतिक पहुँच : एमाले र माओवादी मिलेर गठित तात्कालिक नेकपाका अध्यक्षद्वय प्रचण्ड एवं ओलीलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चामा आएका थिए । उनी त्यस बेला आफूले झापामा स्थापना गरेको एउटा मेडिकल कलेजलाई सम्बन्धन लिने प्रयासमा थिए । मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई चिकित्साशास्त्र अध्यापन गराउन सम्बन्धन दिन नहुने लगायतका माग राखेर प्रा डा गोविन्द केसीले गरेको सत्याग्रहका कारण प्रसाईँका जस्तै मेडिकल कलेजहरूलाई सम्बन्धन नदिन सरकार दबावमा परेको थियो । तात्कालिक अवस्थाको शक्तिशाली दललाई आफ्नो हातमा लिँदा सहजै सम्बन्धन पाउने अपेक्षामा प्रसाईँले ओली र प्रचण्डबीच समझदारी बढाउन आफ्नै घरमा बैठक राखेको र प्रभावित पार्न खोजेको धेरैको बुझाइ थियो । केही दिनअघि एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रसाईँले ओली र प्रचण्डबीच विसं २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गराउन आफूले भूमिका खेलेको दाबी गरेका छन् । ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएको प्रसङ्गबाट चर्चामा आएका प्रसाईँ पछि नेकपा फुटेपछि एमालेका केन्द्रीय सदस्य बने ।

एमालेको केन्द्रीय सदस्य रहेकै बेला गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनी उक्त दलबाट निष्काशित हुन पुगे । त्यसपछि उनी एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन् । केपी ओलीसँग पारिवारिक नाता भएको देखाउन रुचाउने प्रसाईँले केहीअघि मात्र एमाले अध्यक्ष ओलीको विदेशको एउटा कम्पनीमा लगानी रहेको भन्ने आरोपका बारे’ विवादास्पद अभिव्यक्ति दिएका थिए । राजधानीमै भएको प्रसाईँको एउटा कार्यक्रमपछि केही व्यक्तिले उनलाई कालमोसो पनि दलेका थिए । त्यसको आरोप उनले एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र एमाले नेता महेश बस्नेतमाथि लगाए ।

ओलीप्रति कडा, अरूप्रति नरम : एमालेबाट निष्काशित हुँदाखेरि पनि प्रसाईँले ब्याङ्कको ब्याज र किस्ता नतिर्न आग्रह गर्दै देशव्यापी अभियान चलाइरहेका थिए । उनले लघुवित्त, सहकारीदेखि ब्याङ्कसम्मको ऋण मिनाह हुनुपर्ने नारालाई अघि सार्दै मान्छेहरू भेला पार्ने र कार्यक्रम गर्ने गर्दै आएका छन् । उनले अहिले “व्यवस्था परिवर्तन गर्ने” अजेन्डा सँगै ऋणीहरूको “२० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपर्ने” माग पनि अघि सारेका छन् । त्यस्तै “२० लाख रुपैयाँभन्दा माथिको ऋण पनि २० वर्षभित्र ६ प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने” माग उनको छ । त्यस्ता कुराले सामाजिक सञ्जालमा निकै चर्चा बटुले । प्रसाईँले विवादित अभिव्यक्तिहरू दिने क्रमलाई निरन्तरता दिए ।  

के प्रसाईँलाई चुनौती दिन युवा सङ्घले कार्यक्रम जुधाएको हो : एकै स्थानमा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र प्रसाईँले आन्दोलन गर्ने घोषणा गरेपछि दुई पक्ष आमनेसामने हुने अवस्था बनेको थियो । तर स्थानीय प्रशासनले दुवै पक्षका लागि फरकफरक स्थान तोकिदियो । बिहीवार दिउँसो बल्खुमा दुई पक्षबीच ढुङ्गा हानाहान भए पनि “गम्भीर घटना” हुन रोकिएको स्थानीय प्रशासनको बुझाइ छ । यद्यपि धेरैले एमालेप्रति आक्रामक बनेका प्रसाईँलाई चुनौती दिनकै लागि युवा सङ्घ अग्रसर भएको र कार्यक्रम जुधाएको ठानेका छन् । युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले भने त्यो कुरा अस्वीकार गर्छन् । हामीले दुर्गा प्रसाईँलाई काउन्टर दिन आन्दोलन थालेका हैनौँ । धेरै अघि नै हामीले मङ्सिर ७ गते कार्यक्रम गर्ने भनेर तिहारअगाडि नै प्रशासनलाई जानकारी गराइसकेका थियौँ,” उनले भने । प्रसाईँको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔैँ महाभियान’का केन्द्रीय सचिवालय प्रमुख यदुनाथ सिक्देलले पनि आफूहरूले कार्यक्रम नजुधाएको र युवा सङ्घसँग आमनेसामने हुन नखोजेको बताउँछन् । हामीले दुई-तीन महिनाअगाडि नै कार्यक्रमको समय तय गरेका हौँ,” उनको दाबी छ । 

दुर्गा प्रसाईँ किन एमालेविरोधी देखिए : पहिले एमालेकै कार्यकर्ता प्रसाईँ अहिले एमालेविरोधी हुनुको कारण के के हुन सक्ला ? प्रसाईँले एमाले र केपी ओलीबाट धेरै अपेक्षा गरे एउटा बिन्दुमा । प्रसाईँ मेडिकल व्यवसायी थिए तर उनले सम्बन्धन पाएनन् । पहिले माओवादी रहेका उनी ओली शक्तिशाली र सत्ताधारी हुने देखेपछि स्वार्थवश त्यता लागेका हुन्,” विश्लेषक प्रा कृष्ण पोखरेलको आकलन छ । पहिला उनीसँग निकट सम्बन्ध भएका नेताहरू अहिले सत्ता र प्रतिपक्षमा भएको औँल्याउँदै रोका “एक व्यक्तिविरुद्ध सिङ्गो पार्टी लागे जस्तो गरी त्यसलाई राजनीतिक रङ्ग दिएको” मा आश्चर्य प्रकट गर्छन् । खासमा सङ्गठन भएको संस्थाले कुनै व्यक्तिविरुद्ध त्यसै दिन विरोध कार्यक्रम राख्ने होइन, उसलाई गलत कार्य गरेको भए दण्डित गर्न दबाव दिने हो । उनले यसै साता प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले करिब ‘पाँच अर्ब ऋण लिएको’ तर ‘कसैले ऋण मिनाहा गरिदेलान् भनेर नसोचेको’ दाबी गरेका छन् । उनले आफूले ऋण तिर्न नसके पनि ब्याङ्कले लिलामी गर्नका लागि आफूले प्रशस्तै जग्गा धितो राखेको” बताएका थिए । सार्वजनिक रूपमा दिने अन्य अभिव्यक्तिहरूमा पनि प्रसाईँले “आफू कुनै पनि स्वार्थ लिएर नेताहरूको पछि नलागेको” र अहिले “नेताहरूले देश सिध्याउन लागेकाले” सडकमा आउनुपरेको दाबी गर्ने गरेका छन् । 

Leave a Comment