पश्चिम नेपालको हृदय बिदारक अवस्था

Loading

People’s News : पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भूकम्पका कारण घाइते हुनेहरुको सङ्ख्या १६१ पुगेको छ । शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बताए । राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए । उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू खटिएका छन् भने हेलिकोप्टरसमेत परिचालन गरिएको छ । अमेरिकी निकाय यूएसजीएसले उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाभन्दा ४२ किलोमिटर दक्षिण रहेको र त्यसको म्यागनिच्यूड ५.६ रहेको जनाएको छ । सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि सबैभन्दा घातक भुइँचालोका रूपमा शुक्रवार रातिको भूकम्पलाई लिइएको छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने, “स्थानीय क्षेत्रमा रहेका सबै फौजहरू भूकम्प गएका ठाउँमा खटाइएका छन् । आठवटा प्लाटुन र सुर्खेतमा रहेको हेलिकोप्टर पनि उद्धार तथा खोजमा केन्द्रित छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टरसहित सुरक्षाकर्मी खटाइएको बताए । उनले भने, “अहिलेसम्म सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको विवरण छ । त्यहाँ धेरै घरहरू भत्किएका छन् भने ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या पनि बढी छ । उनले सुर्खेतमा रहेको गणबाट पनि सुरक्षाकर्मी खटाइएको र केन्द्रमा परिचालन हुनका लागि स्वास्थ्यकर्मीहरूको टोली तयार भएर बसेको पनि बताए । स्थानीय समय अनुसार राति ११:४७ मिनेटमा गएको सो भूकम्पको धक्का राजधानीमा पनि महसुस गरिएको थियो । त्यसबाहेक छिमेकी भारतको दिल्लीसहित कतिपय सहरहरूमा पनि उक्त भूकम्पलाई महसुस गरिएको थियो ।

घाइते के भन्छन् ? : भूकम्पमा परेर जागकोटको नलगाड नगरपालिका-१२ की गीताकुमारी विष्टले एक छोरी गुमाइन् भने उनी पनि घाइते भएकी छन् । अस्पतालमा उपचाररत विष्टले सुर्खेतस्थित संवाददाता प्रकाश पन्तसँग कुरा गर्दै भनिन्, “हामी तीन जना आमाछोरी माथिल्लो तलामा एउटै कोठामा सुतेका थियौँ । पहिले जेठी छोरीलाई मैले बाहिर निकालेर तल लगेर उद्धार गरे । सानी छोरीलाई बचाउन सकिएन । एक्कासि आयो । मेरो चेत नै हराएको थियो । केही थाहा छैन । वरपर मान्छे कराए । मेरो होटेल नजिकै सशस्त्र प्रहरी थिए । उनीहरू आए । म पनि जिउँदै छु’ भनेर कराएँ । ठूलो छोरीलाई बचाउन सकेँ, सानी छोरीलाई सकिन । १४ वर्षकी थिई । अहिले उपचार गराइरहेकी छु । दाइने हात र दाइने खुट्टामा चोट लागेको छ । अवस्था ठिकै छ । 

उपचारको व्यवस्था : भेरी अस्पतालमा मात्रै गम्भीर घाइतेहरूको उपचार सम्भव नभए नेपालगन्ज नर्सिङ होम र मेडिकल कलेज कोहलपुरमा समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ । राँझास्थित नेपाली सेनाको अस्पताल, नेपालगन्जको प्रहरी अस्पताल र भेरी अस्पतालमा घाइतेहरूको उपचारका लागि १०५ वटा शय्या खाली गराइएको अधिकारीहरूले बताएका छन् । बिरामीलाई आवश्यक रगतको व्यवस्था गर्नका लागि सुरक्षाकर्मीलाई रक्तदानका लागि तयारी अवस्था राखिएको अधिकारीहरूलाई उद्धृत गर्दै नेपालगन्जस्थित संवाददाता बिमला चौधरीले बताएकी छन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले भूकम्पलगत्तै प्रभावित क्षेत्रमा प्रहरी लगायतका सुरक्षाकर्मीले घाइतेलाई उद्धार गर्ने काम थालेको जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धारका लागि ५६ जनाको टोली पठाइएको छ । प्रहरी अस्पतालबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ हिँडिसकेको डीआईजी ढकालले बताए । उनले भने, “ठाउँ-ठाउँमा सुक्खा पहिरो गएको हुँदा उद्धारमा कठिनाइ भइरहेको छ । हवाई उद्धारका लागि पनि प्रयासहरू भइरहेको छ । 

जुम्लामा पनि क्षति : जाजरकोटको छिमेकी जिल्ला जुम्लामा पनि भूकम्पले क्षति पुर्‍याएका विवरणहरू आइरहेका छन् । जाजरकोटसँग सिमाना जोडिएको तातोपानी गाउँपालिकाका धेरै घर चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार क्षतिबारे विवरण सङ्कलन गर्न प्रहरी टोली घटना स्थलतर्फ गएको छ । 

प्रधानमन्त्री प्रभावित क्षेत्रतर्फ : सैबीच प्रधानमन्त्री प्रचण्ड भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका छन् । उनले उक्त भूकम्पबाट भएको मानवीय एवं भौतिक क्षतिले मर्माहत भएको र घाइतेहरूको तत्काल उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई परिचालन गरिएको उनको समाजिक सञ्जाल फेसबुकको खातामा उल्लेख गरिएको छ । प्रधानमन्त्रीसहित ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको टोली उद्धार, स्वास्थ्य सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ लागेको उनको सचिवालयले जनाएको छ ।    

मोदीद्वारा दुःख व्यक्त : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । यो दुःखको घडीमा भारत नेपालसँगै छ र सक्दो सबै सहयोग गर्न तयार छ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना पनि गरेका छन् । 

Leave a Comment