People’s news : संयुक्त राज्य अमेरिकाको मेइन राज्यस्थित लुविस्टन सहरमा एक बन्दुकधारीको आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको खबर आएको त्यहाँको प्रहरीले जनाएको छ । उक्त बन्दुकधारी अझै पनि खुला रूपमा हिँडिरहेकाले त्यहाँका बासिन्दासँगै नजिकैको लिज्बन सहरका बासिन्दालाई पनि सुरक्षित स्थानमा रहन भनिएको छ । प्रहरीले उक्त व्यक्ति ४० वर्षे रोबर्ट कार्ड हुन सक्ने भनी खोजी सुरु गरेको छ । राष्ट्रपति जो बाइडनलाई पनि उक्त घटनाबारे सूचित गरिएको र उनले यसबारे निरन्तर जानकारी लिने उनको कार्यालय ह्वाइट हाउसले जनाएको छ । अधिकारीहरूले मृतकको सङ्ख्या यकिन नगरे पनि अमेरिकी साझेदार सीबीएसले केही अधिकारीहरूसँग कुरा गरी कम्तीमा १६ को मृत्यु भएको जनाएको छ ।
 

राज्यभरि त्रास

आक्रमणमा परी कम्तीमा ५० जना घाइते भएको भनी फरकफरक विवरण प्राप्त भएका छन् तर तिनको पुष्टि हुन सकेको छैन । लुविस्टनको सिटी काउन्सलका लागि चुनाव लड्ने तयारीका रहेकी बिल्ली जेन कूकले उक्त आक्रमणको जानकारी पाउँदा आफू एउटा कार्यक्रमबाट निस्कने क्रममा रहेको बताइन् । घरसम्मको यात्रामा मैले साइरन मात्र सुनेँ, एकपछि अर्को,” उनले भनिन् । हेलिकप्टर, साइरन… यो सहरमा अहिलेसम्म यस्तो चहलपहल मैले सुनेकी थिइनँ । राज्यभरिका प्रहरी यहीँ जम्मा भएका छन् र राज्यबाहिरबाट पनि आउँदै छन् । सम्पूर्ण सहर लकडाउनमा छ । एकदमै डरलाग्दो छ । यस्तो होला भनेर तपाईँ सोच्नै सक्नुहुन्न तर यस्तै भयो । यसअघि ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा मेइन राज्य प्रहरीले भनेको छ, लुविस्टनमा एउटा शूटर सक्रिय छ । हामी मानिसहरूलाई घरभित्रै बस्न आग्रह गर्दछौँ। कृपया ढोका बन्द गरेर घरभित्रै बस्नुहोला ।

आक्रमणकारी को हुन् ?

मेइनको सार्वजनिक सुरक्षा विभागका आयुक्त माइकल सशकका अनुसार स्थानीय समयअनुसर बुधवार साँझ ६ः५६ बजे आक्रमण सुरु भएको थियो । आक्रमणमा परी “धेरै जना हताहत” भएका थिए । सेन्ट्रल मेइन मेडिकल सेन्टरका अनुसार घाइतेको उपचारका लागि यस क्षेत्रका अन्य अस्पतालहरूसँग समन्वय भइरहेको छ । एन्ड्रोस्कोगिन काउन्टी शेरिफ कार्यालयले सन्दिग्ध आक्रमणकारीको दुई ओटा तस्बिर सार्वजनिक गरेको छ । उनी अझै पनि खुला हिँडडुल गरिरहेको बताउँदै उनको पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको छ । सन्दिग्ध व्यक्ति मेइनको साको सहरस्थित एक केन्द्रमा अमेरिकी सेनाबाट तालिम पाएका प्रशिक्षक रहेको राज्यको प्रहरीले आफ्नो विवरणमा उल्लेख गरेको असोसिएटिड प्रेसले जनाएको छ । प्रहरी बुलेटिनका अनुसार यसै वर्षको गर्मीयाममा उनले एक मानसिक स्वास्थ्य केन्द्रमा बसेका थिए र त्यहाँ गोलीबारीको चेतावनी दिएका थिए । प्रहरीले सेतो रङ्गको एउटा गाडीको तस्बिर सार्वजनिक गर्दै त्यसको अगाडीपट्टिको बम्पर कालो रङ्गको भएको हुन सक्ने भन्दै त्यसको पहिचान गर्ने जोकोहीलाई प्रहरीलाई सम्पर्क गर्न भनेको छ । 

राष्ट्रपतिसमेतको चासो

लुविस्टनका सार्वजनिक विद्यालय सुपरिवेक्षक जेक लङ्ग्लेईले एक विज्ञप्तिमार्फत् त्यस क्षेत्रका विद्यालयहरू बिहीवारसम्म बन्द रहने बताएका छन् । अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत् मन्त्री अलेहान्ड्रो मायोकासले यस घटनापछिको अवस्थालाई नियालिरहेको जनाएको छ । मन्त्रालयले लुविस्टनका समुदायलाई सहायता गर्न हाम्रा सङ्घीय, राज्य र स्थानीय साझेदारहरूसँग निकट रूपमा काम गरिरहेको छ,” उक्त विज्ञप्तिमा भनिएको छ । अमेरिकी न्याय मन्त्रालयको एक विज्ञप्तिमा सङ्घीय निकायहरूले राज्य र स्थानीय तहको कानुन कार्यान्वयनमा सघाइरहेको जनाएको छ । राष्ट्रपति जो बाइडनले फोनमार्फत् मेइनका गभर्नर ज्यानेट मिल्स, माथिल्लो सदन सिनेटका सांसदहरू एङ्गस किङ र सुसन कोलिन्स तथा तल्लो सदनका सांसद जरेड गोल्डनसँग संवाद गरेका छन् ।
लुविस्टनको जनसङ्ख्या झन्डै ३८,००० छ र यो पोर्टल्यान्डपछि मेइनको दोस्रो ठूलो सहर हो ।