लकडाउन अन्त्य हुँदैन, अझ कडाइ हुने, लापरबाही स्वीकार्य नहुने : प्रधानमन्‍त्री

Loading

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तत्काल अन्त्य नहुने बताएका छन् । सात प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्समा कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयास सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पारेका हुन् ।

‘भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन’,  ‘यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु । उनले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गरे।  उनले स्वयंसेवक स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित एक्सन रुमबाट शनिबार प्रधानमन्त्री ओलीले चार घण्टाभन्दा लामो समय मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समा छलफल गरेका हुन् ।

प्रधानमन्त्रीसँगको भिडियो कन्फरेन्समा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए । anpurna

Leave a Comment