सीआइबीद्वारा करिब 1 खर्ब बिगो दाबी असुल्न सिफारिस

Loading

Peoples News : २३८ प्रतिवादीसँग ७६ अर्ब १६ करोड पाँच लाख ५२ हजार र मृत्यु भइसकेका प्रतिवादी २१ जनाको परिवारसँग १५ अर्ब ६३ करोड ४९ लाख १४ हजार बिगो दाबी गर्न सिआइबीको सिफारिस, पछि जग्गा खरिद गर्ने ४८ जना भने जग्गा फिर्ताका लागि मात्र प्रतिवादी

बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिनामा संलग्नहरूसँग झन्डै एक खर्ब बिगो असुल गर्ने गरी मुद्दाको तयारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सजाय र बिगो दाबीको सिफारिससहित मंगलबार जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

सिआइबीको प्रतिवेदनमा प्रतिवादी बनाउन राय दिइएकाहरूसँग ९१ अर्ब ७९ करोड ५४ लाख ६६ हजार पाँच सय ३१ रुपैयाँ बिगो दाबी गर्नुपर्ने उल्लेख छ । प्रतिवादी दुई सय ३८ जनासँग ७६ अर्ब १६ करोड पाँच लाख ५२ हजार एक सय ७० रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै, मृतक प्रतिवादी २१ जनाको परिवारबाट १५ अर्ब ६३ करोड ४९ लाख १४ हजार तीन सय ६१ रुपैयाँ माग गरिएको छ । पछि जग्गा खरिद गर्ने ४८ जनाबाट जग्गा फिर्ता लिन मात्र प्रतिवादी बनाइएको छ । राजनीतिक र प्रशासनिक नेतृत्वलाई प्रभावित पारेर बिचौलिया र व्यवसायीले बालुवाटारको १४३ रोपनी ६ आना तीन पैसा तीन दाम सरकारी जग्गा व्यक्तिका नाममा लगेका थिए ।

प्रतिवादी बनाउन सिफारिस गरिएका चार पूर्वमन्त्रीविरुद्ध साढे ९४ करोड रुपैयाँभन्दा धेरै रकम बिगो दाबीसहित १०–१० वर्ष कैद सजाय हुनुपर्ने राय प्रहरीले सरकारी वकिललाई दिएको छ । चारमध्ये तत्कालीन भूमिसुधारमन्त्री चन्द्रदेव जोशीविरुद्ध सबैभन्दा धेरै ६३ करोड १० लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

त्यस्तै, तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र भौतिक योजना राज्यमन्त्री सञ्जय साहविरुद्ध जनही १० करोड ५१ लाख १२ हजार नौ सय तीन रुपैयाँका दरले बिगो दाबी गरेको छ । सबैको कुल बिगो दाबी ९४ करोड ६३ लाख ३८ हजार सात सय नौ रुपैयाँ हुन्छ । चारैजनालाई १०–१० वर्ष कैद गर्नुपर्ने सिआइबीको राय छ ।

सिआइबीले पछिल्लोपटक ५७ दिन लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । सिआइबीले घटनामा संलग्न अभियुक्तविरुद्ध सरकारी छाप किर्ते र संगठित कसुरअन्तर्गत अनुसन्धान गरेको थियो ।

 

Leave a Comment