सहकारी ब्यबस्थापकको लापरबाहीको कारण संचालक समिति परे प्रहरी फंदामा

Loading

पिपुल्स न्युज : काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-९, एकताबस्तीमा रहेको एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकले गरेको बदमासीका कारण सिंगो सञ्चालक समिति मात्रै नभई सहकारी अभियानकै बदनाम भएको छ । संस्थाका व्यवस्थापक शम्भु कार्कीको ग्राण्ड डिजाईनमा संस्थाको रकम अपचलन भएको स्रोत बताउँछ । संस्थाका अध्यक्षसहित सञ्चालक समितिलाई समेत गुमनाम राखी व्यवस्थापकले सदस्यबाट निक्षेप संकलन गर्ने, आफूखुसी लगानी गर्ने गरेको स्रोतको भनाई छ ।

सदस्यहरुले खाई नखाई जम्मा गरेको रकम हिनामिना भएपछि संस्थाका अध्यक्ष लगायत सञ्चालक समिति, व्यवस्थापकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जेठ १६ गते पक्राउ गरेको थियो । सिमित व्यक्तीको बदमासिले सिंगो सञ्चालक समिति प्रहरीको निन्त्रणमा छ भने सहकारी प्रतिको आम विश्वासमा समेत आँच पुगेको छ ।

ब्यूरोले १७७ जनाको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुले पक्राउ गरेको हो । ब्यूरोले संस्थाका अध्यक्ष भानु कुमार शर्मा, उपाध्यक्ष प्रमोद कुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष राम कुमार श्रेष्ठ, सदस्य तथा ऋण संयोजक विर बहादुर तामाङ, व्यवस्थापक शम्भु कार्कीलाई जेठ १६ गते पक्राउ गरेको थियो ।

संस्थाका अध्यक्ष भानु कुमार शर्मा समाजका एक प्रतिष्ठित व्यक्ती हुन् । संस्थाको साधारण सभामा सदस्यहरुको आग्रहमा उनी अध्यक्ष बनेका थिए । शर्मा काठमाडौं महानगरपालिका वडा नं. ३३ का २ पटक निर्वाचित वडा अध्यक्ष समेत हुन् ।

२ पटकसम्म कम्प्युटर चोरी

संस्थाको अध्यक्ष भानु कुमार शर्मा बनेपछि संस्थाको कारोबार कम्प्युटराईज सिष्टममा राख्ने निर्णय भएको थियो । उक्त निर्णयपछि संस्था ३ थान कम्प्युटर खरिद गरिएको थियो । तर, सफ्टवेर राख्न नपाउँदै ३ वटै कम्प्युटर चोरी भयो । उक्त चोरी पछि पुनः दोस्रो पटक दुई थान कम्प्युटर संस्थाले खरिद गरेको थियो । दोस्रो पटक पनि कम्प्युटर चोरी भयो । दुई पटकसम्म कम्प्युटर चोरी भएपछि संस्थाले हरहिसाब सिष्टममा राख्न सकेन । कम्प्युटर चोरी हुनुको घटनाले पनि संस्थाको हिसाब पारदर्शी हुन नदिनु थियो भन्ने प्रष्ट पार्दछ ।

गत असारमै फसाउन खोजिएको थियो अध्यक्षलाई

गत असार महिनामै अध्यक्षको अनुपस्थितीमा सञ्चालक समितिको बैठक राखी अध्यक्षलाई फसाउने चाल चालिएको थियो । २०७९ असार ११ गते र असार १६ गते सञ्चालक समितिको बैठक राखी चार करोड हिनामिना भएको भनी अध्यक्षलाई नै फसाउन खोजीएको थियो । अध्यक्षलाई खबरै नगरी उपाध्यक्षको अध्यक्षतामा सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकले अध्यक्ष र व्यवस्थापकले संस्थाको रकम अदृश्य रुपमा हिनामिना गरी व्यक्तिगत रुपमा लगानी गरी संस्थालाई धरासायी भनाएको भनी माइन्युट गरिएको थियो । उक्त बैठकले अध्यक्ष र व्यवस्थापकलाई दुई दुई करोड वा संयुक्त रुपमा चार करोड रुपैयाँको हरेक महिना साँवा व्याज बुझाउनु पर्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध अध्यक्षले बागमती प्रदेश सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकारी महाशाखामा निवेदन समेत हालेका थिए । उक्त निर्णय गरेको थाहा पाएपछि अध्यक्ष शर्माले आफूलाई सञ्चालक र व्यवस्थापक मिलेर फसाउन खोजिएको पत्ता पाए । उक्त बैठकको निर्णय विरुद्ध व्यवस्थापक भने खुशी थिए ।

व्यवस्थापकले कुनै पनि किसिमको प्रतिक्रिया नदिई २ करोड तिर्ने पक्षमा देखिएका थिए । सोही महिनाको ३१ गते ३ करोड ५० लाख रुपैयाँ व्यवस्थापकले तिर्ने कागज समेत भएको थियो । उक्त रकम व्यवस्थापक कार्कीले २०८१ असार १० गतेभित्र साँवा व्याज तिर्ने गरी कर्जा बनाएका थिए । तर अध्यक्ष शर्मा आफुले संस्थाको रकम एक रुपैयाँ पनि हिनामिन नगरेको भन्दै उक्त निर्णयको विरुद्धमा उत्रिएका थिए । व्यवस्थापकले उक्त रकम तिर्न मानेको र अध्यक्षले नमानेपछि घटनाले अर्कैै मुड लिन पुग्यो । उक्त रकम व्यवस्थापकले समेत तिरेका छैनन् । उक्त रकम तिर्न स्विकार गर्नुले पनि व्यवस्थापक स्वंयले रकम हिनामिना गरेको पुष्टी गर्दछ ।

व्यवस्थापकलाई सर्वोपरि ठान्नुको परिणाम

संस्थाका अध्यक्ष मात्रै नभई सिंगो समिति नै व्यवस्थापकलाई सर्वोपरि ठान्दथे । व्यवस्थापकले भनेको र प्रस्ताव गरिएको विषय बैठकबाट निर्णय हुने गरेको थियो । विशेषगरी अध्यक्ष शर्माले व्यवस्थापक कार्कीलाई आँखा चिम्लेरै विश्वास गर्दथे । व्यवस्थापकले भनेको कुनै पनि कुरा अध्यक्ष शर्माले नकारेको थिएन । अध्यक्ष लगायत अन्य सञ्चालकहरुले व्यवस्थापक जहाँ भन्यो त्यही हस्ताक्षर समेत गर्ने गर्दथे ।

सदस्यलाई कम्पनीको चेक दिन्थे व्यवस्थापक कार्कीले

सदस्यहरु संस्थामा जम्मा भएको बचत रकम लिन आउँदा आफ्नो व्यक्तिगत कम्पनीको चेक दिएर व्यवस्थापक कार्कीले पठाउने गर्दथे । त्यस्तै संस्थाको खातामा पैसा नै नभएको अवस्थामा पनि अध्यक्ष, कोषाध्यक्षलाई हस्ताक्षर गराउन लगाई चेक वितरण गर्दै आएका थिए । सहकारीमा भएको बचत सदस्यले माग्न जाँदा आफ्नो कम्पनीको चेक दिनुको रहस्यले पनि रकम हिनामिनामा स्वंयम व्यवस्थापक रहेको पुष्टी गर्दछ ।

Leave a Comment