संकटको समयमा सहकारीहरुलाई राष्ट्रिय सहकारी बैंकको असहयोग

Loading

पिपुल्स न्युज : सहकारी क्षेत्रले खेपिरहेको संकटमा राष्ट्रिय सहकारी बैंकको भूमिका नगन्य जस्तै देखिएको छ । सहकारी क्षेत्रकै एक मात्र बैंकले संकटको अवस्थामा आफ्ना सदस्य सहकारी संघ संस्थाहरुलाई सहयोग नगरेको आरोप लागेकाे छ ।

उत्कृष्ट वित्तीय सेवा सहितको मुल नारा लिएर आए पनि सहकारी बैंककाे भूमिका साे अनुरूपकाे देखिएकाे छैन । सहकारी संघ संस्थाहरुमा देखिएकाे तरलता संकट लगायतका गंभीर समस्यामा बैंक मुकदर्शक बनेर उभिएकाे छ ।

परिचालित ऋण नउठ्ने र बचत संकलनमा ह्रास आएपछि सहकारी संस्थाहरूमा तरलता संकट चरम हुन थाल्यो । संस्थामा बचत फिर्ता लिने मात्रै बढ्न थालेपछि तरलता ब्यवस्थापनामा निकै चुनौती देखा पर्यो । यस्तो अप्ठ्याराे अवस्थामा राष्ट्रिय सहकारी बैंकले ऋण दिन आलटाल मात्र हैन इच्छा नै नदेखाएको पिनाक बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक गोपाल तिमल्सनाले गुनासाे गरे ।

कोभिडपछि बजारमा देखिएको तरलता अभावका कारण सहकारीमा समस्या देखिन थाल्यो । उक्त समस्यालाई न्यूनिकरण गर्न सहकारी बैंकले प्रारम्भिक सहकारीलाई कर्जा दिने सूचना जारी गर्याे तर आवश्यक कागजात लिएर ऋणको माग गर्दा उल्टै आलटाल भयो । अहिले कर्जा उपलब्ध छैन। कर्जा दिन थालेपछि बोलाउने जानकारी गराएको छ । ‘यो संकटको अवस्थामा सहकारीका अभियान्ताहरु मार्फत कुनै पनि सहयोग पाइएको छैन’, तिमल्सिनाले मेरो लगानीसँग भने ।

समस्यामा परेका सहकारीहरुलाई संकटबाट जोगाउन लागि बैंकले तरलता व्यवस्थापमा कोष खडा गरेको छ । साे काेष तीन अर्ब रुपैयाको छ । तर, तरलता व्यवस्थापनका कारण समस्यामा परेका सहकारीहरुसँग समन्वय गरी संकटबाट जोगाउन उक्त कोष गठन गरिए पनि कर्जाको माग गर्न जाँदा बैंकले अनेक बहाना बनाएर कर्जा उपलब्ध नगराएकाे सहकारीकर्मीहरुको गुनासो छ ।

तर,सहकारी बैंकका सञ्चालक रामहरि बजागाईले भने समस्यामा परेका संस्थाहरुलाई बैंकले सहयोग गर्दै आएको दावी गरे । सञ्चालकहरुबाट नै आर्थिक अपचन भएर हिनामिना गरेका संस्थालाई ऋण दिनको लागि बैंकले पनि सोच्नु पर्ने हुन्छ । बैंकले पनि सदस्य सहकारी मार्फत लिएको पैसा अर्को ठाउँमा लगानी गर्ने भएकाले जोखिममा रहेर कर्जा उपल्ब्ध गराउन नसक्ने उनको भनाई छ ।

अहिले ८० प्रतिशत भन्दा बढी सहकारी संस्थाले तरलता सम्बन्धी समस्या झेल्दै आएका छन् । यस्तो अवस्थामा सहकारी प्रवर्द्धन र व्यवस्थापनकै लागि सञ्चालित बैंकबाटै सहयोग नभएको सदस्य सहकारी संघ संस्थाबाटै गुनासो बढ्न थालेको छ । बचत संकलनमा सहकारी संस्थाको अवस्थाको बारेमा कुनै चासो नराख्ने बैंकले कर्जा लगानीमा सहकारी संस्था यस्तो उस्तो भनेर बहाना गराउँदै कर्जा लगानीलाई आलटाल गर्ने गरेको सहकारी संस्थाकाे आरोप छ ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले भने सानो सानो कर्जा वितरणलाई बैंकले निरन्तरता दिएको बताए । “सहकारी मापदण्डमा चलेका, वित्तीय सूचकमा जोखिममा नदेखिएको संस्थाहरुलाई कर्जा उपलब्ध गराएको छ । आफ्नै लापरवाहीका कारण समस्यामा परेका संस्थालाई कर्जा उपलब्ध गराउदा कर्जाको जोखिम बढ्छ । साथै राम्रोसँग सञ्चालित भएका सहकारीले कर्जा प्राप्त गर्नबाट बञ्चित हुने अवस्था आएको कारणले कर्जा वितरणमा थारै कडाई गरिएको छ”, गुरागाईले भने ।

संस्थाको अवस्थाबारेमा राम्रोसँग जानकार नभइ कर्जा उपलब्ध गराउदा निक्षेपकर्ताको निक्षेपको समेत दुरुपयोग हुने उनको धारणा छ । सोच विचार गरेर प्रवाह गरिएको कर्जा असुलीमा समेत समस्या हुँदा बैंकको खराब कर्जाको दर बढेको अवस्था छ । सहकारी संस्थाहरुसंँगै सहकारी बैंक पनि समस्यामा छ । आँखा चिम्लेर कर्जा लगानी गर्ने क्षमता छैन । आक्रमक रुपमा कर्जा लगानी नगर्दा पनि तरलता सन्तुलन राख्न हम्मे हम्मे परेको गुरागाईको भनाई छ ।

बैकले सहकारी विभागको निर्देशन बमोजिम मासिक रुपमा प्रकाशित गर्ने वित्तीय विवरणमा कर्जा लगानी क्रमिक रुपमा घटेको देखिन्छ । चालु आर्थिक वर्षको ६ महिनामा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको कर्जा लगानी निरन्तर घटेको हो । बैंकले साउन महिनामा ३६ अर्व ७ करोड, भदौमा ३५ अर्ब ९५ करोड, असोजमा ३५ अर्ब ५७ करोड, कार्तिकमा ३५ करोड १० करोड, मंसिरमा ३४ अर्ब ७९ करोड र पुस महिनामा ३४ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रकाशित वित्तीय विवरणलाई विश्लेषण गर्दा पनि बैंकको कर्जा लगानी नगन्य रहेको देखिन्छ

अहिले आर्थिक क्रियाकलाप गर्ने सानो संस्थादेखि ठूला संस्थाहरुले तरलता समस्या खेपेका छन् । प्रारम्भिक सस्थाहरुसँग भन्दा बैंकसँग तरलता व्यवस्थापनको लागि स्रोत साधनको दायरा फराकिलो हुन्छ । तर, संकटको अवस्थामा आफ्ना सदस्यहरु जोगाउनको लागि कुनै पहल कदमी भएको छैन । त्यसैले अप्ठेरोमा सहकारी बैंक साथ हुन्छ भन्ने बारेमा विश्वस्त हुन सक्ने अवस्था नरहेको सहकारीकर्मीहरुको धारणा छ ।

तल्लो तहका प्रारम्भिक संस्थाहरुमा देखिएको समस्या प्रति जिम्मेवार बैंक तथा सहकारी संघहरु प्राय निष्कृय छन् । जसले गर्दा सहकारी क्षेत्र प्रति आम विश्वास गुम्दै गर्दा चरम निरासा छाएको छ । समस्या समाधानको लागि कुनै पहल कदमी हुन नसक्नु अहिलेको सबै भन्दा ठूलो समस्या रहेको राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक माधव दुलालले बताए ।

अहिले सहकारीमा पैसाको समस्या भएको हो । पैसाको समस्या पैसाले समाधान गर्ने हो । पेट दुखेको उपचार टाउकोमा गरेर हुदैन । ठूला भाषण र बक्तव्य निकालेर मात्रै समस्या समाधान हुदैन । अहिले अभियानका जिम्मेवार ब्यक्तिहरु कामभन्दा पनि प्रचारमुखी भएका छन् । यसरी समस्याको समाधान हुदैन । वास्तविक समस्याको समाधान गर्न सहकारी अभियान्ताका नेतृत्व एकै ठाउमा बसेर उचित उपचार गर्नपर्ने दुलालको बुझाई छ ।

सहकारी बैकको निक्षेप संकलन गर्ने एक मात्र स्रोत सहकारी सस्थाहरु नै हुन । तरलता व्यवस्थापन सहज भएका सम्पूर्ण सहकारी संघ संस्थाहरुले आफ्नो लगानी पश्चात बाँकी रहेको तरलतालाई सहकारी बैंकमा जम्मा गरी समस्यामा रहेका सहकारी संस्थाहरुलाई कर्जामार्फत तरलता व्यवस्थापन गर्न सहयोग पुर्याउनु पर्छ। सहकारी संघ संस्थानै खराब र नियम विपरित सञ्चालित भनेर बैंकले आफ्नो सेवा दिनबाट पन्छिने भन्दा पनि ती संस्थाहरुलाई कानुन परिपालना सहित बलियो बनाउन आवश्यक कदम चाल्नु पर्ने हुन्छ ।

बैकले नाफामुखी क्रियाकलापलाई मात्र बढावा दिँदा संकटमा परेका आफ्ना सदस्यहरुले भोग्नु परेको तरलता समस्या समाधानको बाटो तर्फ चुकेको छ । बैंकले तरलता व्यवस्थापनको लागि अन्य स्रोतहरू पहिल्याउदै निक्षेप वृद्धि र आवश्यक कर्जा लगानी गरी घाम लागेको बेलामा छाता दिने र पानी पर्दा छाता खोस्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने सहकारीकर्मीहरुको धारणा छ । साभार गरिएको

Leave a Comment