देशै भरका बैंक तथा वित्तीय संस्थाले ऋणीको फोटो सहित सूचना निकाल्दा पनि टुलु टुलु हेर्न बाध्य

Loading

पिपुल्स न्युज साउन, काठमाडौं । देशमा आर्थिक समस्या आउदा सब भन्दा बढी आतंकित र दुखि जनता भएका छन् त्यस माथि बैंक तथा वित्तीय संस्थाले फोटो सहितको धितो नीलाम् प्रक्रिया प्रकाशित गर्दा झन इज्जत जोखिममा परेका हरुको आफ्नो छुट्टै समस्या थप भएका छन् बिगत करीब एक वर्षदेखि घरजग्गा कारोबार ओरालो लागेको छ । एकपछि अर्को सरकारी नीतिले यो क्षेत्र थला परिसकेको छ ।

अहिले भने बैंक तथा वित्तीय संस्थाले कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो धमाधम लिलाम गर्दै छन् । त्यसमा धेरै जसो घरजग्गा व्यवसायीहरू पनि परेका छन् ।

कोभिड-१९ को शुरूवातसँगै जारी लकडाउनका कारण समग्र आर्थिक गतिविधि ठप्प हुँदा घरजग्गा कारोबार प्रभावित हुने आम अनुमान विपरित कोभिड कालमा घरजग्गा र शेयर बजार दुवै क्षेत्र निकै उचालिए । सरकारले अनुत्पादक क्षेत्र भनेर भन्दै आएको यी दुवै क्षेत्रको चहलपहल भने खहरे खोलामा आएको भेल जस्तै थियो ।

पछिल्लो एक वर्ष भने यी दुवै क्षेत्र फेरि खहरे खोलामै परिणत भएका छन् । ३२०० विन्दुमा पुगेको शेयर बजार १८०० विन्दु आसपास आएर अहिले २२०० विन्दु नजिक पुगेको छ । मासिक ७५ हजार घरजग्गा किनबेच हुने घरजग्गा बजारमा मुस्किलले ४०-४५ हजार घरजग्गा किनबेच भइरहेका छन् । जुन कोभिड अघि हुने किनबेचकै बराबरी हो ।

मासिक ७५ हजार घरजग्गा किनबेच हुने पिक समयमा यो क्षेत्रमा प्रवेश गरेका लाखौ साना ठूला व्यवसायी यतिबेला निकै अफ्ठेरोमा परिसकेका छन् । केही टाठा बाठा व्यवसायीले परल मूल्य वा एकाध लाख कममै बेचेर बजारबाट निस्किएपनि धेरै जसो लगानीकर्ताहरू भने फसेको फसेइ भएको घरजग्गा व्यवसायीहरू नै बताउँदै आएका छन् ।

देशको अर्थतन्त्र संकटोन्मुख हुँदा झन समस्या
विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले विलासी वस्तुको आयातमा प्रतिबन्ध नै लगाउनु परेको छ । विदेश जाने नेपालीको संख्या बढिरहँदा पनि रेमिट्यान्स त्यस अनुसार आउन नसक्दा करीब एक वर्षको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति घटेर साढे ६ महीनाको वस्तु तथा सेवा आयात मात्रै धान्न सक्ने अवस्थामा आएको थियो ।

विदेशी मुद्राको सञ्चितिमा दबाब आएपछि राष्ट्र बैंकले सामान आयात गर्दा सतप्रतिशत मार्जिन राखेर प्रतित पत्र (एलसी) खोल्नुपर्ने व्यवस्था राख्यो । बैंकमा तरलताको चरम अभाव भएपछि घरजग्गा र शेयर धितो कर्जामा थप कडाइ गरिएको थियो ।

अहिले मौद्रिक नीतिमार्फत घरजग्गा लगायत शीर्षक नखुलेका क्षेत्रमा ऋण लिंदा घरजग्गाको बजार मूल्यको ३० देखि ४० प्रतिशत मात्रै ऋण पाउने व्यवस्था गरिएको छ ।

आफ्नै फोटो पत्रिकामा आउँदा टुलुटुलु हेर्नुपर्ने अवस्था छ

विगत एक वर्षदेखि जसो तसो धानेका घरजग्गा व्यवसायीहरूले यो विचमा मूल्य घटाएर जग्गा बेच्ने स्किम पनि ल्याए । त्यति हुँदा पनि जग्गा विक्री नभएपछि अहिले बैंकहरूले धमाधम लिलामीको सूचना निकाल्न थालेका छन् ।

घरजग्गा व्यवसायीहरूलाई अहिले कुन दिन आफ्नै फोटो छापिएर लिलामीको सूचना आउँछ भन्ने त्रास छ । त्यसबाट बच्न उनीहरूले सबै प्रयास गरिसकेका छन् । लिलामीको सूचना आएपनि त्यसलाई टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आएको घरजग्गा व्यवसायीहरू बताउँछन् ।

४/६ महीनामा सामान्य हुन्छ भन्न सक्ने अवस्था छैन
गत वर्षसम्म चैत/बैशाखसम्म यो क्षेत्र सामान्य हुनसक्छ भन्ने व्यवसायीहरू अहिले भने यो विषयमा केही पनि भन्न नसक्ने बताइरहेका छन् ।

एक पछि अर्को समस्यामा घेरिँदै गएपछि अहिले विश्व अर्थतन्त्रमा नै मन्दी आउने आँकलन गरिएको छ ।

यदि केही गरी विश्व अर्थतन्त्र मन्दीमा गए त्यसको प्रभाव नेपालसम्म पर्ने भएकाले अहिले नै केही बताउन नसकिने व्यवसायीहरू बताउँछन् ।

रियल इस्टेटमा मन्दी आउँदा कति समय लाग्छ रिभाइभ हुन ?
सन २००८ मा अमेरिकी रियल इस्टेट क्षेत्र धरासायी हुँदा विश्वव्यापी मन्दी आएको थियो । त्यतिबेला अमेरिकी घरजग्गा बजार मन्दीबाट बाहिर आएर सामान्य हुन ३ वर्ष भन्दा बढी समय लागेको थियो ।

त्यतिबेलै चीनमा पनि आर्थिक मन्दी आएको थियो । चिनियाँ घरजग्गा बजार सामान्य अवस्थामा फर्किन पनि ३ वर्षभन्दा बढी समय लागेको थियो ।

यदि अहिले नेपालको घरजग्गा क्षेत्रले निकै ठूलो मन्दीको सामना गर्नुपरेमा नेपालमा पनि कम्तिमा ४/५ वर्षसम्म सामान्य नहुने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

अहिलेकै अवस्थामा रिभाइभ भएमा डेढ देखि २ वर्षमा सामान्य हुन सक्छ । तर यो भन्दा गहिरो संकटको सामना गर्नुपरेको खण्डमा भने ४/५ वर्ष अघि यो क्षेत्र सामान्य हुन नसक्ने विज्ञहरूले बताउँदै आएका छन् ।

Leave a Comment