मंकिपक्स प्रकोपलाई बिस्व स्वास्थ्य संगठनद्वारा महामारीको रुपमा घोषणा

Loading

पिपुल्स न्युज काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ । शनिबार संगठनका प्रमुख डा. टेड्रोस आधनम गेब्रियससले सो घोषणा गर्नुभएको हो ।

डब्लूएचओले करिब दुई वर्षको अन्तरालमा दुई पटक विश्व स्वास्थ्य आपतकालको घोषणा गरेको हो । कोरोना महामारीको अवस्था पूर्ण नियन्त्रणमा नआई अर्को स्वास्थ्य जटिलता थपिएको हो ।

सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोरोना महामारीका कारण डब्लूएचओले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

‘हामीले थोरै मात्र बुझेको मंकीपक्स अहिले तीव्र गतिमा संसारभर फैलिन थालेको छ’, प्रमुख गेब्रियससले भन्नुभयो, ‘आपतकाल घोषणा गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

घोषणासँगै संक्रमण देखिएका देशमा प्रकोप रोक्न र जोखिम परेकालाई बचाउन आवश्यक कदम चाल्न जरुरी देखिएको छ । यसका लागि डब्लूएचओले तयारी र पहल गरिरहेको प्रमुख गेब्रियससले बताउनुभयो ।

के हो मंकीपक्स ?
बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । संक्रमण भएको खण्डमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिन्छ ।

मंकीपक्स कसरी सर्छ ?
सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरूको निम्न कुराबाट सर्छ:
– थुक, याल
– घाउ, खटिरा
– शरीरबाट निस्कने तरल पदार्थ
– दूषित सतह र सामाग्री

निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ:
– श्वासनली
– आँखा, नाक वा मुख
– काटिएको, टोकिएको वा फुटेको छाला बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।

लक्षणहरू के के हुन् ?
– ज्वरो आउनु
– सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु
– अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु
– डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनु
– टाउको, ढाड र मांसपेशी दुख्नु
– शरीरका ग्रन्थिहरू बढ्नु
– लक्षण १४–२८ दिनसम्म रहन सक्छ र सामान्यतया आफैँ हराउँछ

यो रोग कति खतरनाक ?
बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई निम्न जटिलता हुनसक्छ:
– आँखामा संक्रमणर दृष्टि गुम्नु
– अन्य जीवाणुको संक्रमण
– निमोनिया
– मस्तिष्क ज्वर
– गर्भ खेर जानु
– मृत्यु

रोकथामका उपायहरू
– मंकीपक्सको शंका लागेका वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
– सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने
– सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपीई लगाउने
– घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
– नियमित रूपमा साबुनपानीले हात धुने
– मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने
– सङ्क्रमित व्यक्तिले प्रयोग गरेका लुगा, ओछ्यान र भाँडाहरू तातो पानी र डिटर्जेन्टले धुने
– सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थान निसंक्रमणगर्ने ।
– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
– फोहोरलाई उचित स्थानमा फाल्ने

Leave a Comment