![]()
पिपुल्स न्युज चितवन, वैशाख ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् । चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् ।
गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवाको रुपमा मनोनयन दर्ता गरेका छन् ।
कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् ।
‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने । रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उनको उद्घोष गरे ।
यो पनि : रेणु दाहाललाई कुनै पनि शंका नहुने गरी सहयोग गर्नुपर्छः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन् । चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले चितवनको भरतपुर महानगरको मेयरमा रेणुलाई शंका नहुनेगरी सहयोग गर्न आग्रह गरेका हुन् ।
‘रेणु दाहालजीलाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस् । उहाँले पाँच वर्षमा गरेको विकास हेर्नुहोस् । त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भने, ‘बेरूजु नहुने एक मात्र नगरपालिका भरतपुर हो । अरु नगरपालिकामा धेरै बेरूजु छ ।’
रेणुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुसी भएको उनको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेका देउवाले रेणुले मेयरमा अहिले नै चुनाव जितिसकेको बताए ।
आफ्नै पार्टीले बखेडा झिकिरहेको भन्दै उनले भने, ‘उहाँले जितिसक्नु भएको छ । तर, के गर्ने मेरै पार्टीका साथीहरूले बखेडा झिक्नुभएको छ ।’