![]()
पिपुल्स न्युज सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको संख्या घटेको छ । बुधबार सार्वजनिक एक तथ्यांकअनुसार दैनिक फेसबुक प्रयोगकर्ताको अनुपात लगभग २० प्रतिशतले घटेको हो । अमेरिकी दैनिक पत्रिका द वासिङटन पोस्टका अनुसार फेसबुकले आफ्नो १८ वर्षको इतिहासमा पहिलो पटक दैनिक प्रयोगकर्ता गुमाएको हो।
तथ्यांकअनुसार सन् २०२१ को चौथो त्रैमासिकसम्ममा मात्रै करिब आधा मिलियन फेसबुक प्रयोगकर्ता घटेको थियो। विशेष अफ्रिका र ल्याटिन अमेरिकामा फेसबुकको प्रयोग घटेको हो। अमेरिकी र युरोपियन राष्ट्रमा भने फेसबुकले हालसम्म राम्रो प्रतिक्रिया र प्रयोगकर्ता पाइरहेको छ।
फेसबुक प्रयोगमा कमि देखिनुको मुख्य कारण यसलाई युवा पुस्ताले बढी प्रयोग नगर्नु मानिएको छ । कम्पनीले केही समय अघि मात्रै फेसबुकको रिब्रान्डिङ गर्दै यसलाई ‘मेटा’ बनायो। तर यतिले मात्रै प्रयोगकर्ताहरू फेसबुक प्रयोगमा आकर्षित नभएको निश्कर्ष निस्किएको छ ।
उस्तै फेसबुकको इन्स्टाग्रामको भने प्रयोगकर्ता दिनहुँ बढ्दो छ । द वासिङटन पोस्टका अनुसार सन् २०२१ को तेस्रो त्रैमासिकदेखि हालसम्म झन्डै १० मिलियन इन्स्टाग्राम प्रयोगकर्ता बढेको छ । त्यस्तै, ह्वाट्सएप र मेसेन्जरको प्रयोगकर्ता भने बढ्दो छ ।
फेसबुकले यतिबेला विभिन्न विज्ञापन र नयाँ उपकरण निर्माणमा आफ्नो पुँजी खर्चदैछ । यसले आफ्नो रियालिटी ल्याब विकासमा मात्रै अर्बौं खर्चेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बुधबार मात्रै पत्रिकालाई कम्पनीको नयाँ भिआर हेडसेट सन् २०२२ भित्र सार्वजनिक गर्ने बताएका छन्।
यतिबेला सामाजिक सञ्जालमध्ये टिकटकले फेसबुकलाई ठूलो चुनौति दिएको छ । सिइओ मार्क जुकरबर्गले समेत मानिसहरूको आकर्षण टिकटकमा बढेको स्वीकारेका छन् ।