![]()


पिपुल्स न्युज सिरहामा एक जना नक्कली प्रहरी उपरीक्षक हतियार र लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका वडा नम्बर १ बस्ने काठमाडौँ महानगरपालिका वडा नम्बर ४ स्थित मण्डिखाटार बस्दै आएका ३२ वर्षीय असीम गुरुङ रहेको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका हुन् । आरोपित गुरुङले बसको काउण्टरमा धम्काउँदै गरेको अवस्थामा सिरहाका प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको कमाण्डमा खटेको प्रहरी टोलीले उनलाई शुक्रवार साँझ प क्राउ गरिएको जनाइएको छ ।
सिरहा नगरपालिका वडा नम्बर ७ स्थित युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भन्दै धम्काएको आरोपमा गुरुङलाई लागुऔषधसहित सिरहा प्रहरीले नियन्त्रणमा लिएको थियो । सिरहा प्रहरीले शंकाको आधारमा गुरुङलाई चेकजाँच गर्ने क्रममा उनको झोलाबाट नाइट्रोभेट ३९ पिस ट्याब्लेट, स्पास्मो प्रोक्सिवन प्लस २२ पिस बरामद भएको जनाइएको छ ।
त्यसैगरी सिरहा प्रहरी निरीक्षक असीम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र, नक्कली रिभल्भर १ थान, रिभल्भर राख्ने होलस्टर १ थान, ड्याईगन चक्कु १ थान, सायरासैंगबो र असीम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, मोबाईल २ थान, चेकबुक, एटिएम कार्ड, असीम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी, ३ हजार रुपैयाँ र एनसेलको ३ वटा सिम बरामद भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । आरोपित गुरुङलाई सिरहा जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको सिरहा प्रहरी प्रवक्ता बुढाथोकीले बताए । कपी
