मन्त्री रेणु यादव सरकारको नोटिसमा छन् : गृहमन्त्री खाण

Loading

पिपुल्स न्युज काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाणले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको  चेतावनीयुक्त अभिव्यक्ति सरकारको नोटिसमा रहेको बताएका छन् । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछि गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।

मन्त्री यादवको अभिव्यक्तिमा प्रधानमन्त्री किन मौन भन्ने प्रश्नको उतर दिदै उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा हामी सबैले नोटिस राखेका छौं । हामी (मन्त्रीहरु)ले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्छ ।’

सबैभन्दा पहिला संविधान र विधिको पालना सरकारले नै गर्नुपर्ने उनको भनाइ छ । विधि र कानुन सम्मत अभिव्यक्ति राख्दा राम्रो हुने उनले बताए ।

मन्त्री यादव सम्बद्ध जनता समाजवादी पार्टी (जसपा)ले उनसँग छलफल गरेपछि मात्र सरकार धारणा बनाउने उनको भनाइ छ । गृहमन्त्री खाणले भने, ‘ विभागीय मन्त्रीसँग सम्बन्धित पार्टीले पनि छलफल गर्ला । त्यसपछि मात्र यस विषयमा सरकारले सोच्छ ।’

जसपाले भने शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवको बचाउ गरेको थियो । मन्त्री यादवको अभिव्यक्तिको चौतर्फिक विरोध भइरहेको छ । राजनीतिक दल, नागरिक समाज लगायतले मन्त्री यादवलाई बर्खास्त गर्न माग गरिरहेका छन् ।

Leave a Comment