![]()
पिपुल्स न्युज काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागि रहेको बेलामा बडामहाराज पृथ्वी नारायण शाहलाई माला लगाउन नसकिने बताएका छन् । आइतबार बिहान देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ समारोहमा बोल्दै देउवाले राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्ती मनाउन नसकिने बताएका हुन्।
कार्यक्रमको सुरुमा बोल्दै नेता अर्जुन नरसिँह केसीले नेपाली काँग्रेसले लाज नमानी पृथ्वी जयन्ती मनाउन सभापति देउवालाई आग्रह गरेका थिए। केसीले भनेका थिए, ‘लाज नमानिकन कांग्रेसले पृथ्वीजयन्ती मनाउनुपर्छ । विरोध हुँदाहुँदै पनि २०७४ सालमा पृथ्वीजयन्ती मनाउन म नुवाकोट गएको थिएँ।’
पृथ्वी जयन्ती मनाउदा काँग्रेसको राष्ट्रवादी छवी सुध्रिने केसीको तर्क थियो। ‘म विनम्रतापूर्वक सभापतिलाई आग्रह गर्छु- पृथ्वीजयन्ती मनाऔं। यसले इतिहासमाथि सम्मान हुन्छ। कांग्रेसमा यसले राष्ट्रवादी चरित्र पनि देखाउँछ। पार्टीमा एकता कायम पनि गर्छ। पार्टीमा सबैलाई अटाउने नयाँ यात्रा सुरू गरौं,’ भाषणका क्रममा केसीले भनेका थिए।
कार्यक्रमको सभापतित्व ग्रहण गरेका देउवाले अन्तिममा बोल्दै पृथ्वी जयन्ती मनाउन नसकिने जवाफ केसी लाई फर्काए। उनले केसीलाई हप्काउदै सडकमा राजावादी नारा लागेको बेला राजाको शालिकमा माला लगाउन नसकिने भन्दै त्यस्तो कुरै नगर्न भनेका थिए।
देउवाले झोकिदै भनेका थिए, ‘राजा आऊ देश बचाऊ भनेका बेला पृथ्वीजयन्ती मनाउन सकिन्न। यस्तो बेला पृथ्वीनारायण शाहको शालिकमा माला लगाउन सकिन्छ? त्यस्तो कुरा नगरौं।’
तर उनले एकीकरण पृथ्वी नारायण शाहले नै गरेको पनि बताए। तर देशकाल परिस्थितिले शाहलाई सम्झिदा अनर्थ लगाउने उनको बुझाई थियो। ‘देशको भूगोल मेची महाकाली बनाउने कुरामा उनको ठूलो योगदान छ। त्यो हिसाबमा एकीकरण गरेको भनेर नै हेर्नुपर्छ। तर अहिले त लिम्बुले हाम्रो राज्य खायो, अर्कोले हामीलाई खायो भनेको अवस्था छ,’ उनले पछि थपेका थिए।