![]()
पिपुल्स न्युज!!काठमाडौं : नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । निगमले पेट्रोल र डिजेल /मट्टीतेलको मूल्य प्रतिलिटर तीन /तीन रुपैयाँले बढाएको हो । याे मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६ , डिजल / मट्टीतेल १ सय १९ रुपैयाँ पुगेको छ ।
यस्तै , खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढेकाे छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब १ हजार ५ सय ७५ रुपैयाँ पुगेको छ ।
हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रति लिटर ५ रुपैयाँले बढेकाे निगमले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । अब आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य १ सय ९ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८ सय ९५ अमेरिकी डलर पुगेकाे छ ।
‘ मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ ५८ पैसा , डिजलमा प्रतिलिटर १३ रुपैयाँ १४ पैसा तथा एलपी ग्यासमा प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रही १५ दिनमा पेट्रोलमा झन्डै ६१ करोड २५ लाख , डिजलमा झन्डै ९७ करोड ३६ लाख तथा एलपी ग्यासमा झन्डै एक अर्ब ११ करोड १७ लाख घाटा नै रही समग्रमा निगमलाई १५ दिनमा झन्डै २ अर्ब ६२ करोड घाटा हुने देखिन्छ ’, विज्ञप्तिमा भनिएको छ ।
यसअघि निगमले गएकाे कार्तिक १२ गते इन्धनकाे मूल्य बढाएकाे थियाे ।