राजा बन्छु भन्दै नारायणहिटीबाट 

Loading

People’s News : राजा बन्छु भन्दै नारायणहिटी दरबार संग्रहालयमा रहेको पूर्वराजाको श्रीपेच चोर्न/निकाल्न खोज्ने एकजालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका– ११ का २५ वर्षीय खेमबहादुर घर्तीलाई संग्रहालयको सुरक्षामा खटिएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । उनले श्रीपेच निकाल्न श्रीपेचलाई कभर गरिएको सीसा मुड्कीले हानेर फुटाएकाे महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ । श्रीपेच निकाल्नै लाग्दा सुरक्षाकर्मीले उनलाई रोकेका थिए । उनी दरबार संग्रहालय अवलोकनको लागि भन्दै टिकट काटेर संग्रहालय प्रवेश गरेका थिए ।

संग्रहालयमा पुगेपछि श्रीपेच रहेकै कोठाबाट घर्तीले  खुकुरी निकालेका थिए । श्रीपेच निकाल्नलाई उनले हातले हानेर सिसा फुटाएको वृत्तका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दरबार संग्रहालय घुम्ने बहानामा श्रीपेच निकाल्न ती व्यक्ति पुगेको हुन सक्ने बताए । श्रीपेच निकाल्न खोज्ने घर्ती दुई वर्षअघि मात्रै वैदेशिक रोजगार गरी बहराइनबाट फर्किएका थिए। त्यसयता उनी नेपालमा बसेको र बेरोजगारीका कारण त्यस्तो प्रयास गरेको हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका घर्तीलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ ।

Leave a Comment