![]()





People’s News : कर्नाटक : कतिपय प्रशंसक आफ्नो मनपर्ने कलाकारको एक झलक पाउनका लागि जस्तोसुकै दुःखकष्ट सहन पनि तयार हुन्छन् । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाका एक प्रशंसकले पनि उनलाई भेट्न यस्तै दुःख गरेका छन् । एक प्रशंसकले रश्मिकालाई भेट्न नौ सय किलोमिटरभन्दा टाढाको यात्रा तय गरेका थिए । अभिनेत्रीलाई भेट्नकै लागि ती व्यक्ति तेलंगनादेखि कर्नाटकको कोडागाउँसम्म पुगेका थिए । तर, यति लामो यात्रा तय गर्दा पनि उनले आफ्नो मनपर्ने अभिनेत्रीलाई भेट्न भने पाएनन् । आकाश त्रिपाठी नामका ती प्रशंसक गुगल सर्च गर्दै त्यहाँसम्म पुगेका थिए । उनले ठाउँठाउँमा अभिनेत्रीको निवासबारे सोधपुछ गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती व्यक्तिको शंकास्पद गतिविधि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले ती व्यक्तिलाई कोडागाउँमा लकडाउन लगाइएको र रश्मिका पनि चलचित्र छायांकनका लागि मुम्बई गएको भन्दै तेलंगना फर्काइदिएको थियो । सुरुमा रश्मिकालाई नभेटिकन घर नफर्किने अड्डी कसेका उनी प्रहरीले सम्झाएपछि भने घर फर्किन राजी भएका थिए । रश्मिका मन्दना भने अहिले मुम्बईमा बस्छिन् । बलिउडमा डेब्यु गर्न लागेकी उनले मुम्बईमा केही समयअघि मात्र नयाँ अपार्टमेन्ट लिएकी थिइन् । रश्मिका सिद्धार्थ मल्होत्रासँग ‘मिसन मजनु’बाट बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् ।