![]()


People’s News : काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पुँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए । उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गर्न तथा कमी कमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि निर्देशन दिए । पुँजी बजारसम्बन्धी नकारात्मक असर पर्ने कुनै पनि काम नगर्न अर्थमन्त्री पौडेलले निर्देशन दिएका छन् । पछिल्लो समयमा पुँजी बजारको कारोबार उत्साह ढंगले अघि बढेको भन्दै अवरोध सिर्जना हुने गरी कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका हुन् । धितोपत्र बोर्डका अध्यक्ष भीष्मप्रसाद ढुंगानाले सेयर बजारबाट दैनिक एक अर्ब राजस्व संकलन हुने बताए । धितोपत्र बजारबाट एक वर्ष पहिला महिनामा बल्लबल्ल एक अर्ब रुपैयाँ पुँजीगत लाभकरबाट आम्दानी हुने गरेकोमा पछिल्लो समयमा दैनिक एक अर्ब रुपैयाँ राजस्व उठ्ने गरेको उनले बताए । सहज निमय र तरलताको उपलब्धता, पुँजीगत लाभकरको निश्चितता तथा प्रविधि मैत्री बजारका कारण सेयर बजार निरन्तर वृद्धि भएको अध्यक्ष ढुंगानाले बताए । कोरोनाका कारण लगानीका अन्य क्षेत्रमा संकुचन आएको, बजारमा पर्याप्त मात्रामा तरलता रहेको, सूचीकृत कम्पनीहरूको प्रतिफल पनि राम्रो देखिएको, पुँजीगत लाभकरसम्बन्धी विवाद सुल्झिएको र बोर्डले नेप्से तथा सीडीएसको सेवालाई चुस्त दुरुस्त बनाउन भूमिका खेलेकाले बजारमा सकारात्मक प्रभाव देखिएको ढुंगानाले बताए । अध्यक्ष ढुंगानाले सेयर बजारलाई प्रविधि मैत्री बनाउँदै ऐन कानुन र नियमावलीलाई समयसापेक्ष सुधार गर्ने र नियमनको क्षमता अझ बढाउने गृहकार्य गरिरहेको उनले बताए ।