नक्कली औषधि बेचेको भन्दै ३५० जना पक्राउ

Loading

People’s News : भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे ३ सयजना पक्राउ गरिएको प्रहरीले बताएको छ । ती घटना मानवताविरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । सामाजिक सञ्जालमार्फत् ठगी : भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ । सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो । प्रहरीका एक वरिष्ठ अधिकारी प्रेम नाथले बीबीसीलाई यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी अपराध भएको बताए ।

दोस्रो लहरविरुद्ध सङ्घर्षरत : हाल भारत कोभिडको घातक दोस्रो लहर नियन्त्रण गर्न सङ्घर्षरत छ । बितेको चौबीस घण्टामा भारतमा कोरोनाभाइरसका एक लाख ६५ हजार नयाँ सङ्क्रमित भेटिएको र सो अवधिमा ३,४६० जनाको ज्यान गएको बताइएको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या २ करोड ७८ लाख नाघेको छ। हाल त्यहाँ २१ लाख मानिसमा सक्रिय सङ्क्रमण छ । कोभिडका कारण भारतमा ज्यान गुमाउनेहरूको सङ्ख्या सवा तीन लाख नाघेको छ। अढाइ करोडभन्दा धेरै मानिस निको भइसकेका छन् । भारतमा हालसम्म २१ करोडभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको बताइएको छ।

Leave a Comment