![]()
People’s News : काठमाडौं : काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले थप कडाईका साथ निषेधाज्ञा एक सातालाई थप गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीका अनुसार उपत्यकामा निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको हो । एक साता थप गरिएको निषेधाज्ञामा थप कडाई हुने पराजुलीको भनाइ छ ।
निषेधाज्ञामा सर्वसाधारणलाई मर्निङ र इभिनिङ वाकका लागि घरबाट निस्कनेलाईसमेत कारबाही गरिने भएको छ । त्यसैगरी खाद्य पसल र डिपार्टमेन्ट स्टोरसमेत बन्द गर्ने निर्णय गरेको छ । यसअघि उपत्यकाभित्र जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो । पछिल्लो थप भएको निषेधाज्ञामा बिहान ९ बजेसम्म मात्र तरकारी पसल खोल्न दिइने छ । अब विवाहमा सातजना मात्र सहभागी हुन पाइने छ । यसअघि १० जना सहभागी हुने पाइने निर्देशन जारी भएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको हो ।
