![]()
People’s News : नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या दिनानुदिन बढिरहँदा स्वास्थ्य प्रणालीमाथि चर्को दबाव परिरहेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक औसत आठ हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धिसँगै अक्सिजन दिनुपर्ने र आईसीयूमा राख्नुपर्ने बिरामीको सङ्ख्या पनि क्रमशः बढिरहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । गत दुई सातायता नै नेपालमा एक लाखभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल कुन दिशामा जाँदैछ ? : नेपालमा हालै गरिएको एउटा अध्ययनले कोरोनाभाइरस सङ्क्रमण दर उच्च भएमा जेठ मसान्तसम्ममा दैनिक ११,००० नयाँ सङ्क्रमित देखिन सक्ने प्रक्षेपण गरेको छ । सो अध्ययनअनुसार दैनिक ११,००० सङ्क्रमित थपिएमा त्यसको १५ प्रतिशत अर्थात् १,६०० बिरामी दैनिक भर्ना गर्नुपर्ने र अक्सिजन आवश्यक पर्ने बिरामी हुन सक्छन् । मङ्गलवारकै दैनिक वृद्धि हेर्दा कुल २४ घण्टाको अवधिमा ९,४८३ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
यसबीचमा अस्पतालको शय्यादेखि अक्सिजनसम्मको अभाव देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी स्वीकार्छन् । समग्र अवस्था हेर्दा नेपाल महामारीको कुन दिशामा गइरहेको छ भन्ने प्रश्नमा सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात भन्छन्, “हामी अननोन ट्र्याजक्टरी [अनिश्चित बाटो] तर्फ गइरहेका छौँ । हाम्रो स्वास्थ्य प्रणालीमाथि यसले एकदमै चुनौती थपिदिएको छ। ठूलो बाढी आएको बेला डुङ्गा नै नभए जस्तो भएको छ ।
पछिल्ला दिनमा देखिएको सङ्क्रमण दर र मृतकको सङ्ख्याले आउँदा दिनबारे सुखद सङ्केत नगरेको विज्ञहरूको ठम्याइ छ । त्यस्तैमध्ये एक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला भन्छन्, “सङ्क्रमण अझै फैलिने डर छ। घरमा बसेका व्यक्तिहरू आफू सङ्क्रमित भएर अरूलाई सङ्क्रमित बनाइरहेका छन् । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी अझ खराब दिन आउने आकलनमा सहमत देखिँदैनन् ।
धेरै मानिस सङ्क्रमित भएर निको भइसकेका छन्। कतिपयले कोभिड खोपको दुईवटै र केहीले एउटा मात्रा लिइसकेका हुनाले त्यस्तो दुर्दिन आउँछ जस्तो मलाई लाग्दैन,”उनले थपे । रोकथाम तथा नियन्त्रणका उपाय के ? : नेपालमा पछिल्लो समय सङ्क्रमण बढ्न थालेसँगै रोकथाम तथा नियन्त्रणको प्रयासमा अधिकांश स्थानीय प्रशासनहरूले निषेधाज्ञा लागु गरेका छन् । हाललाई आन्तरिक तथा चार्टर्डबाहेक अन्तर्राष्ट्रिय उडानहरूमा पनि सरकारले रोक लगाएको छ।
प्रतिबन्धात्मक कदमहरूका बीच सङ्क्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । अहिले सङ्क्रमण दर उच्च देखिए पनि प्रतिबन्धात्मक कदमहरूको नतिजा बिस्तारै देखिन थाल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल दाबी गर्छन् । गहिरिँदो सङ्कटलाई सम्बोधन गर्न जनस्वास्थ्य ऐनअनुसार स्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने उनको सुझाव छ । त्यो लागु हुनासाथ सरकारी तथा निजी अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, विद्यालय लगायतलाई सरकारले प्रयोग गर्न पाउँछ ।
कोरोना भाइरस नेपाल: कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च अनि सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीलाई मात्रै नभई निजी क्षेत्रका र मेडिकल कलेजका जनशक्तिलाई खटाउन सक्ने अधिकार राज्यमा आउँछ,” प्याकुरेल थप्छन् । नियन्त्रणका उपायबारे उनको सुझाव छः “प्रतिबन्धात्मक कदमलाई निरन्तरता दिनुका साथै ‘ट्रेसिङ्ग’, ‘टेस्टिङ्ग’, ‘कन्ट्याक्ट ट्रेसिङ्ग’, ‘ट्रिटमेन्ट’ र ‘टीम अप्रोच’को नीति लिएर अगाडि बढ्नुपर्यो । ती कामसँगै समानान्तर रूपमा खोप दिने अभियानमा पनि तीव्रता दिनुपर्ने प्याकुरेल बताउँछन् ।
यी सबै कुरा गर्ने हो भने दुई महिनाभित्र महामारी नियन्त्रण गर्न सकिन्छ,” स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ प्याकुरेलले भने । परीक्षणसँगै सङ्क्रमितको उपचारका लागि आवश्यक बन्दोबस्तीतर्फ राज्यले ध्यान दिनुपर्नेमा डा. बस्न्यात र डा. बास्तोलाको पनि जोड छ । व्यवस्थापकीय अवस्था कस्तो छ ? : कतिपय बिरामीले अक्सिजन र अस्पतालमा शय्या पाउन नसकिरहेका विवरण दैनिकजसो सञ्चारमाध्यममा आइरहेका छन् । काठमाण्डू उपत्यकाकै करिब एक दर्जन अस्पतालले अक्सिजन आपूर्ति हुन नसकिरहेको भन्दै नयाँ बिरामी भर्ना गर्न नसकिने मङ्गलवार बताए ।
मङ्गलवार नै एउटा भर्चुअल प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले माग भएजति अक्सिजन आपूर्ति गर्न नसकिएको स्वीकारे । शुरूमा अक्सिजन भए पनि सिलिन्डरको अभाव देखिएको बताइएको थियो भने अहिले सिलिन्डर हुँदाहुँदै तिनमा अक्सिजन भर्न नपाइएको निजी तथा सरकारी अस्पतालले जनाएका छन् । प्रधानमन्त्री केपी शर्माले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि अपील गरेपछि स्वास्थ्य मन्त्रालयले अक्सिजन, खोप र पीपीईलगायत सामग्री उपलब्ध गराउन विकास साझेदारहरूलाई आग्रह गरेको छ ।
त्यसबारे मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, “हामीलाई अहिले निकै नै गाह्रो भइसकेको अवस्था छ। मानिसहरूलाई अस्पतालमा शय्या उपलब्ध गराउन सकिएको छैन। अस्पतालहरूलाई अक्सिजन उपलब्ध गराउन सकिएको छैन । सहप्रवक्ता अधिकारीकै अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयहरूलाई सङ्घको तर्फबाट पर्याप्त परिणाममा एन्टिजन किट उपलब्ध गराउन सकिएको छैन । पर्याप्त किट उपलब्ध नहुँदा जिल्लाहरूमा अपेक्षाकृत रूपमा एन्टिजन परीक्षण गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयहरूले बताएका छन् । देशकै अग्रणी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाका अनुसार उक्त अस्पतालले शय्या अभावमा कतिपय सङ्क्रमितलाई बाहिरै राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
शय्या र आईसीयू कति छ ? : स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा हाल जनरल शय्याको सङ्ख्या १८,९१७ छ । देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ रहेको छ । कोरोनाभाइरस महामारीपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो ।