देशैभर निषेधाज्ञामा थप कडाइ : कति र कुन कुन जिल्लामा छ निषेधाज्ञा ?

Loading

Peopel’s News : काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेध आदेश जारी गरिएका जिल्लाको संख्या ४६ पुगेको छ । यीमध्ये बाँके, सुर्खेत, कास्की, कैलालीमा निषेधाज्ञाको अवधि थप गरिएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, काठमाडौं उपत्यकासहित पर्सा र सुनसरीमा पनि लम्ब्याइँदै छ । मन्त्रालयका अनुसार बागलुङ, नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासीपूर्व गरी ८ जिल्लामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । महोत्तरी, रोल्पा र बाजुरामा बुधबारदेखि निषेध आदेश लागू हुने मन्त्रालयले मंगलबार बिहान १० बजेसम्म अपडेट गरेको तथ्यांकमा छ । दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, गोरखा, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप रताप्लेजुङमा आंशिकरूपमा मात्रै निषेध आदेश जारी गरिएको मन्त्रालयले जनाएको छ । पर्सामा वैशाख  १६ देखि एक साताका लागि लगाइएको निषेध आदेश थप ८ दिन विस्तार गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको मंगलबार अपराह्न बसेको बैठकले निषेधाज्ञा वैशाख ३० गते मध्यराति १२ बजेसम्म थप्न प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको हो । बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थपिएको सूचना बुधबार जारी गर्ने बताए । बैठकले सबै अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि अनुरोध गरेको छ । जिल्लामा उत्पादित अक्सिजन बाहिर नपठाउने निर्णयसमेत भएको पौडेलले बताए । वीरगन्ज महानगरपालिकाले १ सय बेडको अस्थायी कोभिड अस्पताल तत्काल सञ्चालनमा ल्याउने, महानगरपालिकाले नै १ सय बेडको आइसोलेसन पनि सञ्चालनगर्ने निर्णय बैठकले गरेको छ ।

सुनसरीमा थप कडाइ : सुनसरीमा वैशाख २४ सम्मका लागि जारी निषेधाज्ञा ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको मंगलबार बसेको बैठकले निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो । बैठकले निषेधाज्ञालाई थप कडा बनाउने निर्णयसमेत गरेको छ । जिल्लाभर बुधबारदेखि अत्यावश्यक बाहेक सवारी साधन सञ्चालन बन्द गर्ने निर्णयसमेत भएको छ । यसअघि जोर–बिजोर प्रणाली कायम गरिएको थियो । यस्तै सुनसरी हुँदै जाने लामो दूरीका सवारी साधनलाई बीचमा रोक्न निषेध गरिएको छ । यस्तै, काठमाडौं उपत्यकामा थप कडाइ गर्ने गरी निषेधको आदेश एक साता थप गर्ने निर्णय भएको छ । वैशाख १६ देखि २२ गतेसम्मका लागि निषेधको आदेश जारी भएकामा मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधाज्ञा अवधि एक साता लम्ब्याउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २९ गते राति १२ बजेसम्म उक्त आदेश थप गरिएको जानकारी दिएका छन् ।

Leave a Comment