![]()
People’s news : काठमाडौं : रामेछापका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण रामेछापमा निरन्तर बढी रहेको र उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञा घोषणा गरेको हो । नेपालमा नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण बढेपछि बैशाख २७ गतेसम्म तीन स्थानीय तहमा जोखिमयुक्त क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जानकारी दिए । उनकाअनुसार निषेधाज्ञाका लागी मन्थली नगरपालिका, रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकाले पत्र पठाएपछि जिल्ला स्तरीय कोभिड-१९ संकट व्यस्थापन केन्द्र र जिल्ला सुरक्षा समिति रामेछापको बैठकले कोरोनाको जोखिम भएका बजार क्षेत्रमा निधेषाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्थली नगरपालिकाका वडा नं. १ को मन्थली बजार, वडा नं. २ को करम्बोट, वडा नं. ३ को मदौ, वडा नं. ६ को कुनौरी/सेलेघाट, वडा नं. ७ को मुगिटार, वडा नं. ८ को गाइखुरा, वडा नं. १३ को देविटार र वडा नं. १४ को पोखरीका बजार क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । त्यसैगरी गोकुलगंगा गाउँपालिकाका वडा नं. १, ४ र ५, लाई जोखिमयुक्त क्षेत्र तोकेर निषेधाज्ञा घोषणा गरिएको छ। यता रामेछाप नगरपालिकाको रामेछापसहितको बजार क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी सैजूले जिल्ला प्रवेश गर्ने नाकाबाटै कडा गरिने जानकारी दिए। ‘अत्यावश्यक कार्यमा जिल्लाको प्रवेश नाकाहरुबाट रामेछाप प्रवेश गर्ने जिल्लाभित्रका नागरिकहरुलाई सम्बन्धित पालिका तथा वडाको क्वारेन्टिन तथा आइसोलेसनमा राख्ने सुनिश्चिततासहित सिफारिस भएकोमा बाहेक प्रवेश गर्न दिइने छैन 18542।’उनले भने, ‘जिल्लाभित्र प्रवेश गर्नेहरुले जिल्ला प्रवेश गर्ने नाकामा चेकजाँचको क्रममा सम्बन्धित स्थानीय तह र वडा अध्यक्षको सिफारिसमा मात्र आफ्नो घर जान पाउने भएका छन्।’ निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कार्वाही गरिने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रामेछापमा हाल ४६ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन्। उनीमध्ये प्राय: होम आइसोलेसनमै बसेका छन्। स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार अस्पतालमा भर्ना भएका दुई जनाको संक्रमितको जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं र धुलिखेल अस्पतालमा पठाइएको छ।
के गर्न पाइन्छ ?, के पाइदैन ?
१.अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिड्डुल गर्न निषेध गर्ने ।
२.एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न सामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेका सवारी साधनहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारी साधनहरु, निर्माण सामाग्री बोकेका सवारी साधनहरु, परिचय पत्र वाहक कर्मचारी, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधनहरु मात्र सञ्चालन गर्ने ।
३. बीचमा चढाउने, ओराल्ने नगर्ने गरी राजमार्ग चल्ने लामोदुरीका सवारी साधन बाहेक सो क्षेत्रमा आन्तरिक सार्वजनिक तथा निजी यातायातका साधनहरु बन्द गर्ने, ४. निर्माण तथा खाद्यसामाग्रीका सवारी साधनमा चालक र सहचालक मात्र रहन पाउने ।
५. औषधी एवम् स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने ।
६. खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्यासलगायतका अत्यावश्यक सेवाका पसलहरु मात्र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्णपालना गरी विहान ६:००-९:०० र साँझ ५:००-७:०० बजेसम्म मात्र सञ्चालन गर्ने ।
७.बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवाहरुमात्र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना हुने गरी न्यूनतम कर्मचारीहरुबाट सेवा प्रवाहको व्यवस्था मिलाउने ।
८. अत्यावश्यक कार्यमा जिल्लाको प्रवेश नाकाहरुबाट यस जिल्ला प्रवेश गर्ने जिल्ला भित्रका नागरिकहरुलाई सम्बन्धित पालिका तथा वडाको क्वारेन्टिन तथा आइसोलेसनमा राख्ने सुनिश्चितता सहित सिफारिस भएकोमा बाहेक प्रवेश गर्न नदिने । Link