कोरोना भाइरस नेपाल : २४ घण्टाको अवधिमा हालसम्मकै धेरैको मृत्युु

Loading

People’s News : नेपालमा कोभिड-१९ का कारण गत २४ घण्टाको समयावधिभित्र आइतवार हालसम्मकै दोस्रो धेरै व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टाभित्र २८ जनाको मृत्यु भएको जानकारी गराए । यो सङ्ख्या हालसम्मकै दोस्रो ठूलो उच्च हो। यसअघि गत कार्तिक १९ गते कोभिड-१९ का कारण ३० जनाको मृत्यु भएको थियो, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बीबीसी न्यूज नेपालीसित भने ।आइतवार कोभिड-१९ का कारण १४ जनाको मृत्यु भएको थियो भने २,६१९ जना नयाँ सङ्क्रमित फेला परेका थिए । गत २४ घण्टाभित्र एन्टीजन र पीसीआर गरी १०,०७८ वटा परीक्षण गरिँदा ३,१२२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमण बढ्दै : गत २४ घण्टामा काठमाण्डू उपत्यकामा १,४९८ जना सङ्क्रमित फेला परेका छन् । तीमध्ये सबैभन्दा बढी काठमाण्डू जिल्लामा १,१३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना सङ्क्रमित रहेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ४५० जना बिरामी निको भई घर फर्किएका छन् । गत बिहीवारदेखि आइतवारसम्म कुल ३५,६१६ पीसीआर र एन्टीजन परीक्षण गरिँदा १०,३३२ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । तीमध्ये १,४८० जना निको भई घर फर्केका छन्। आइतवारसम्म देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १९,३८२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय नयाँ भेरिअन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन् । सङ्क्रमण बढ्न थालेसँगै लकडाउन हुन सक्ने अड्कलबाजी भइरहँदा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आंशिक लकडाउनको सम्भावना रहे पनि तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन् । 

Leave a Comment