![]()
बीबीसीले गरेको एउटा अनुसन्धानले ५० भन्दा बढी अफ्रिकी देशमध्ये आठवटा देशमा मात्र अनिवार्य मृत्युदर्ताको व्यवस्था रहेको पाएको छ।
People’s News : त्यसो हुँदा व्यक्तिगत दु:खलाई पहिचान गर्न देश असफल बन्ने मात्र होइन, सरकारी नीति निर्माणमा पनि ठूलो प्रभाव पार्छ। संयुक्त राष्ट्रसङ्घको विवरणअनुसार युरोपमा अल्बानिया र मोनाकोबाहेक सबै देश तथा एशियामा आधाभन्दा बढी देशमा मृत्युदर्ताको व्यवस्था छ । तर अफ्रिकामा इजिप्ट, दक्षिण अफ्रिका, ट्युनिशिया, अल्जेरिया, केप भर्दे, साओ तोमे र प्रिन्सिपे, सेसेल्स र मोरिशसमा मात्र अनिवार्य पञ्जीकरण प्रणाली प्रभावकारी छ। त्यो प्रणालीलाई सङ्क्षिप्त रूपमा सीआरभीएस भनिन्छ । तथापि अफ्रिकाका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक आयोग (यूएनईसीए) का अनुसन्धानकर्तासँग मिलेर बीबीसीले सर्वेक्षण गरेका सबै देशहरूमा कुनै न कुनै किसिमको मृत्युदर्ता गर्ने प्रचलन छ । तर यो प्राय: कागजमा हुन्छ र वर्गीकरण गरेर डिजिटल रूपमा राखिएको पाइँदैन । त्यो विवरण स्थानीय स्तरमा त प्रयोग होला तर राष्ट्रिय तहमा मृत्युदर तुलना गर्न प्रयोग गर्न सकिँदैन । इबोला र अहिलेको कोभिड-१९ महामारीका कारण कहाँ, कसको र के कारणले निधन भइरहेको छ भन्ने यथार्थ विवरण हुनु स्रोत र बजेट वितरणका लागि एकदमै आवश्यक भएको छ । मृत्यु हुनेहरूको विवरण नहुँदा मातृशिशु मृत्युदर पत्ता लगाउने कुरामा पनि प्रभाव पार्छ । अदिस अबाबास्थित यूएनईसीएका जनसङ्ख्या प्रमुख विलीअम मुहवाभाका भनाइमा यो एउटा पहिचानको अधिकारको कुरा मात्र नभएर यसले केही शिक्षा लिइएको छैन भन्ने पनि सङ्केत गर्छ । बाँच्नका लागि सहायता गर्नका निम्ति पनि हामीले मृत्युको गणना गर्नु आवश्यक हुन्छ, यूएन जनसङ्ख्या कोषका जनसङ्ख्याविद् रोमेश सिल्भाले भने ।
उनका अनुसार गरिब र सामाजिक रूपमा पछाडि परेका मानिसहरू दर्तामा छुट्ने गरेका छन् । त्यसले गर्दा सूचनाको अभाव हुन्छ र विभिन्न कारणहरूसँग सङ्घर्ष गर्न कहिलेकाहीँ आवश्यक कदमहरू चालिँदैन । लगानी गर्दागर्दै पनि सीआरभीएस प्रणालीले काम गरिरहेको छैन र सरकारलाई सर्वेक्षणहरूमा भर पर्नु परिरहेको तर त्यस्ता सर्वेक्षणको नतिजा आउँदासम्म त्यो पुरानो भइसक्ने सीआरभीएस प्रणालीकी आइरिना दिन्चु बताउँछिन् । कैयौँ देशहरूले यस्तो दर्ताको आवश्यकताबारे नबुझ्दा अफ्रिकामा कोरोनाभाइरसबाट भएको मृत्युको विवरण अन्य क्षेत्रको तुलनामा निकै कम देखिएको खबरहरू आएका थिए । यद्यपि कतिपय महामारी नियन्त्रणमा विशेषज्ञता हासिल गरेकाहरूले केही देशहरूमा तुलनात्मक रूपमा युवा जनसङ्ख्या भएकाले पनि कोरोनाभाइरसको असर कम देखिएको बताएका थिए । तर डेटा वैज्ञानिकहरूका अनुसार महामारी कम देखिनुमा मृत्यु गणना राम्ररी नहुनु मुख्य कारण हो । सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने ‘आर’ के हो
कोभिड-१९ मृत्युको गणना : अघिल्लो वर्षको सोही अवधिमा भएको वास्तविक मृत्युको आधारमा अपेक्षा गरिएको मृत्युलाई हेरर अतिरिक्त मृत्युको गणना गरिन्छ । तर यो पूर्ण रूपमा मृत्युदर्तामा निर्भर हुन्छ । अतिरिक्त मृत्युको गणनाले कोरोनाभाइरसका कारणले कति जीवन गुम्यो भन्ने समग्र विवरण दिन्छ । यसले महामारीका कारण उत्पन्न विभिन्न अप्रत्यक्ष कारणहरू जस्तै अस्पतालमा धेरै बिरामी भएका कारण उपचार नपाउनु, अस्पताल जान डराउनु र आर्थिक अभाव आदिबाट भएको मृत्युलाई पनि देखाउँछ । वैज्ञानिक जर्नल लान्सिटले ११८ वटा न्यून र मध्यम आय भएका देशमा गरेको एउटा अध्ययनले कोभिड-१९ का कारण अवरुद्ध भएको स्वास्थ्य प्रणालीका कारण ११ लाख ५७ हजार थप शिशुको र ५६ हजार ७०० आमाको मृत्यु हुने अनुमान गरेको थियो । दक्षिण अफ्रिका र इजिप्टमा प्रयोगयोग्य मृत्युदर्ता प्रणाली भएकाले त्यहाँ अतिरिक्त मृत्यु गणना गर्न सम्भव छ । फेब्रुअरी सुरुसम्ममा दक्षिण अफ्रिकामा महामारी सुरु भएयता झन्डै एक लाख ३८ हजार अतिरिक्त मृत्यु भएको विवरण छ। त्यो भनेको कोभिड-१९ बाट ज्यान गुमाउनेको आधिकारिक विवरणभन्दा तीनगुना बढी हो ।
त्यहाँ ४६ हजार २०० जनाको कोरोनाभाइरसका कारण निधन भएको विवरण छ र त्यसलाई मृत्युदर्ताले पनि पुष्टि गर्छ । त्यसको अर्थ हो ९१ हजार ५०० मानिसले कि त उपचार हुन नसकेर वा महामारीको अप्रत्यक्ष कारणहरूले ज्यान गुमाए । गत वर्ष जुलाईमा दक्षिण अफ्रिकामा सो अवधिका लागि अनुमानितभन्दा ५४ प्रतिशत बढी मानिसको मृत्यु भयो । तर पहिलो लकडाउन लगाइएका बेला मृत्यु कम थियो। त्यसको कारण मदिरासम्बद्ध हिंसा र सडक दुर्घटना नहुनु रहेको ठानिएको छ । इजिप्टको दर्ता प्रणालीका कारण त्यहाँ गत मेदेखि अगस्टसम्म ६८ हजार अतिरिक्त मृत्यु भएको देखिन्छ । जुन महिनामा प्राय: त्यस अवधिमा हुने अनुमान गरिएकोभन्दा करिब दुईगुना मृत्युदर्ता भएको छ । औसतमा आधिकारिक कोभिड-१९ कारण भएको मृत्यु अतिरिक्त मृत्युको १० प्रतिशत हाराहारी देखिएको छ । तर उक्त महादेशका अधिकांश देशहरूमा यी देशहरूमा जस्तो विवरण राख्ने परिपाटी नहुँदा त्यसरी गणना गर्न सम्भव देखिन्न । नाइजिरिया, इथियोपिया, डेमोक्र्याट्रिक रिपब्लिक अफ कङ्गो र क्यामरूनसहित १४ वटा देशहरूमा बढीमा १० मृत्युमध्ये एक मृत्यु मात्र दर्ता भएको छ । सब-साहारा अफ्रिकाका आधाजति मात्र देशले हस्तलिखित रूपमा मृत्युको विवरण राख्ने गरेका छन् । एरिट्रिया र बुरुन्डीजस्ता देशमा त मृत्युदर्ता गर्नुपर्ने र त्यसको विवरण लिनुपर्ने कुनै कानुनी आवश्यकता नै छैन । एरिट्रियाले कोभिड-१९ का कारण केवल सात जनाको र बुरुन्डीले तीन जनाको मृत्यु भएको विवरण राखेका थिए ।
तर गत वर्ष अप्रत्यासित रूपमा निधन भएका बुरुन्डीका पूर्वराष्ट्रपति पियरे कुरुन्जिजाको मृत्युको कारण भाइरस भएको अनुमान गरिएको थियो । अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजिरियाले सन् २०१७ मा मात्र १० प्रतिशत मृत्युको दर्ता गरेको थियो । एप्रिल २०२० को एउटा यूएन प्रतिवेदनले महामारीले यस्तो पञ्जीकरण प्रणालीलाई थप नराम्रो प्रभाव पार्ने उल्लेख गरेको थियो । मृत्युदर्ता नभएकाले नै उक्त क्षेत्रमा प्रति १० लाख मानिसमा कोभिड-१९ का कारण भएको निधनको सङ्ख्या अन्यत्रको भन्दा कम देखिएको हुनसक्छ । नाइजिरियाले कोभिडले प्रति दश लाखमा नौ जनाको निधन भएको विवरण राखेको छ। विश्वभरिको विवरणमा प्रति १० लाखमा ३०९ जनाको निधन भएको देखिन्छ । दक्षिण अफ्रिकामा चाहिँ प्रति १० लाखमा ८०८ र ट्युनिशियामा ६३८ देखिन्छ । यी दुवै देशमा प्रभावकारी दर्ता प्रणाली छ। दक्षिण अफ्रिकामा ९२ र ट्युनिशियामा ९५ प्रतिशत मृत्युदर्ता हुने गर्छ ।
सुधारका लागि के गरिँदैछ ? : धेरै देशहरूले तथ्याङ्कको खाडल पुर्ने प्रयास गरिरहेका छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) सीआरभीएसमा एकदमै कमजोर अवस्थामा रहेको छ। उक्त देशमा वर्षौँ युद्ध चलेको थियो र अहिले पनि जारी छ । त्यहाँ सन् २०१७ मा भएका मृत्युमध्ये करिब दुई प्रतिशत मात्र दर्ता भएका थिए । अर्थ, योजना र सहायता मन्त्रालयका तथ्याङ्क विभागका प्रमुख एल्भिस फ्राङ्क मात्कोसले बीबीसीलाई सरकारले सीआरभीएसलाई महत्त्व दिएको र त्यसले सुशासनलाई बढाउन सहयोग गर्ने बताए । सेनेगल र रुवान्डाले एउटा अमेरिकी गैरनाफामूलक संस्थासँगको सहकार्यमा मृत्युदरलाई तुलना गर्ने कार्य गरिरहेका छन् । तीबाहेक अन्य पाँच अफ्रिकी देशले पनि अफ्रिकन फील्ड एपिडीमीओलजी नेटवर्कसँग मिलेर त्यस्तै काम गरिरहेका छन् । कतिपय देशहरूले सामुदायिक स्वास्थ्य कार्यकर्ताहरूलाई अस्पतालबाहिर हुने मृत्युको विवरण पनि सङ्कलन गर्न भनेका छन् । केही देशहरूले मृत्युको विवरण लिन मोबाइल प्रविधि पनि प्रयोग गरिरहेका छन् । तथ्याङ्क वैज्ञानिकहरू यी प्रविधिको प्रयोगले आगामी दशकभित्र धेरै देशहरू पूर्णरूपमा मृत्युदर्ता गर्न सक्षम हुने आशा व्यक्त गर्छन् । BBC