![]()

पिपुल्स न्युज : दैलेखको नारायण नगरपालिका– ५ धताहाको नवदुर्गा निमाविमा अध्ययन गर्ने तीन सयभन्दा बढी विद्यार्थी एकैपटक बिरामी परेका छन् । रुघाखोकीसहित विद्यार्थी एकैपटक बिरामी परेपछि बिहीबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । रुघा, खोकी र ज्वरो आएर विद्यार्थी बिरामी पर्न थालेपछि आपत्कालीन रूपमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए । बाल विकासदेखि कक्षा ८ सम्म सञ्चालन हुने सो विद्यालयमा आइतबार करिब एक सय ५०, सोमबार सय र मंगलबार ८५ जना विद्यार्थी बिरामी परेको उनले बताए । मौसम परिवर्तनको समय छ, त्यसैले हो वा अन्य कारणले हो, एकैपटक तीन सयभन्दा बढी विद्यार्थी बिरामी परेपछि हामीले आपत्कालीन रूपमा विद्यालय बन्द गरेका छौँ,’ प्रअ रेग्मीले भने, अहिले तीन दिनका लागि बन्द गरिएको हो, परिस्थिति हेरेर पछि थप निर्णय लिनुपर्ने हुन सक्छ ।
अभिभावकसमेत धमाधम बिरामी : अहिले गाउँमा अभिभावक पनि बिरामी परेका छन् । एकैपटक ठूलो संख्यामा बिरामी देखिएपछि जिल्ला स्वास्थ्यको टोली उपचारका लागि गाउँ पुगेको छ । स्वास्थ्य टोलीले गाउँ पुगेर चेकजाँच र औषधि वितरण गरेको डा. विवेक गुरुङले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालयले सामान्य रुघाखोकीका कारण समस्या हुन सक्ने बताएको भए पनि के भएको भनेर निष्कर्ष निकाल्न सकेको छैन । चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा विद्यालय बन्द गरिएको हो । विद्यार्थीलाई आरामको आवश्यकता रहेको चिकित्सकहरूले बताएका छन् । कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै विद्यालय बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले बताए । भारतमा कोभिड संक्रमितको संख्या बढिरहेको तथा भारतमा रोजगारी गर्न गएका यहाँका बासिन्दा फर्कन थालेकाले जोखिम बढेको रेग्मीले बताए । भारतबाट दैलेख आउने नागरिकको संख्या पुनः बढ्दै गएकाले सामान्य रुघाखोकी लागेमा पनि अनिवार्य मास्क प्रयोग गर्न र तातोपानी सेवन गरेर सुरक्षित रहन स्वास्थ्य सेवा कार्यालय दैलेखले सबैलाई आग्रह गरेको छ । यसअघि दैलेखकै बेलपाटा प्राथमिक विद्यालयका छात्रा विद्यार्थी धमाधम ढलेपछि सो विद्यालय पनि तीन दिनका लागि बन्द गरिएको छ । मानसिक रूपमा तनाव बढेपछि यस्तो हुन सक्ने भन्दै विद्यालय बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ । बेलपाटामा पनि स्वास्थ्यकर्मीको टोली खटिएको छ ।
जिल्ला प्रवेश गर्ने नाकामा प्रशासनको कडाइ : कोरोना भाइरसको पुनः संक्रमण फैलन सक्ने जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रवेशमा कडाइ गरेको छ । चैते दसैँ मान्न भारतबाट फर्कने कामदारको संख्या अहिले बढिरहेको छ । भारतमा यतिवेला कोभिड संक्रमण बढिरहेकाले त्यसको असर यता पनि पर्ने भन्दै प्रशासनले नाकामा कडाइ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड– १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दैलेख प्रवेश गर्ने गुराँस गाउँपालिकाको गुराँस नाका र तल्लो ढुंगेश्वरमा हेल्थ डेस्क स्थापनासँगै चेकजाँच बढाउने निर्णय गरेको छ ।
