![]()
पिपुल्स न्यूज डटकम/विरगंज :अव्वुलेश अन्सारी
एघार कक्षा पढ्दापढ्दै १५ वर्षको उमेरमा भागेर बिहे गरेकी एक किशोरी केही महिनामै एक्लै परिन् ।
घर फर्किन खोज्दा आमाबुवाले वास्ता नगरेपछि उनी देहव्यापारको जालोमा परिन् ।
उनले बताएको आफ्नो जीवनकथाको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
बाल्यकाल : म सानै छँदादेखि बुवाआमासँग बस्न पाइनँ । उहाँहरू जागिरको सिलसिलामा घरबाट टाढा काम गर्नुहुन्थ्यो । दुवै जना जागिरे हुनुहुन्थ्यो र उहाँहरूको पोस्टिङ अर्को जिल्लामा भएको थियो। त्यसैले म र मेरी बहिनी आमाबुवालाई दशैँतिहारजस्ता चाडपर्वका बेला मात्रै भेट्न पाउँथ्यौँ । बहिनीका लागि त अभिभावक सानै भए पनि म थिएँ, मेरो लागि कोही छ जस्तो लाग्दैन थियो । आमाको जागिर दुर्गम गाउँमा भएकोले आमाबुवाले हामीलाई सुगम ठाउँकै विद्यालयमा पढून् भन्ने सोचेर होला उहाँहरूसँग लग्नुभएन । मैले बुझ्ने बेलादेखि म र बहिनी कहिल्यै पनि बुवाआमासँग बसेनौँ । घरमा एकजना काम गर्ने दिदी हुनुहुन्थ्यो । उहाँले नै हामीलाई खाना बनाएर खुवाउने, स्कूल पठाउने गर्नुहुन्थ्यो ।मेरो पढाइ राम्रो थियो । म १५ वर्षकी हुँदा नै एसएलसी सकेर ११ कक्षा पढ्न सुरु गरिसकेकी थिएँ ।
प्रेमप्रस्ताव : पढाइ भर्खर सुरु भएको बेला थाहा पाएँः , मलाई केही समयदेखि एउटा केटाले पछ्याइरहेको रहेछ। एकदिन मलाई बाटोमा भेटेर उसले सीधै भन्यो, “मलाई तिमी एकदमै मनपर्छ । मैले जबाफ दिइनँ । तर उसले पछ्याउन पनि छोडेन । फेरिफेरि बाटोमा भेटेर भन्यो, “तिम्रो बुवाआमाले तिमीलाई माया नगर्ने भएर हो आफूसँगै नराख्नुभएको। म त तिमीलाई धेरै माया गर्छु। मसँगै बिहे गरेर काठमाण्डू हिँड । उसले यो भनिरहँदा मलाई कताकता लाग्न थाल्योः “साँच्चै मेरो आमाबुवाले मलाई माया गर्ने भए त आफैँ राख्नुहुन्थ्यो। यतिका वर्षदेखि उहाँहरू जागिरको सिलसिलामा घरबाट टाढा नै बस्दै आउनुभएको छ । जागिरको सिलसिलामा हाम्रो घरतिर आएको उसले मलाई पछ्याइरहेपछि मैले उसको कुरा पत्याएँ । उसँगै भागेर काठमाण्डू आएँ । बुवाआमाले एक हप्तापछि म ऊसँग भागेको थाहा पाउनुभएछ । काठमाण्डूमा मैले चिनेको ऊबाहेक अरू कोही पनि थिएन । विवाहपछि एक महिनाजस्तो हमाी बस्यौँ । मेरो पढाइ छुटेको थियो । उसैले काठमाण्डूको एउटा कलेजमा मलाई ‘पढाइलाई निरन्तरता देऊ’ भनेर भर्ना पनि गरिदियो ।
फेरि एक्लै : अनि जागिरको सिलसिलामा नयाँ ठाउँ पोस्टिङ भयो भनेर ऊ एक महिनापछि मलाई एक्लै छोडेर गयो। त्यसपछि महिनैपिच्छे ९/१० हजार रुपैयाँको दरले मलाई खर्च पठायो । तीन महिनापछिचाहिँ उसले मलाई वास्ता गर्न छोड्यो । फोन गर्दा पनि उठाएन । मेरो नम्बर ब्लक गरेछ । साथीको मोबाइल फोनबाट गर्दा पनि मेरो स्वर सुन्नेबितिक्कै फोन काट्न थाल्यो । मैले घाँटीमा लगाएको सुनको सिक्री बेचेर अरू दुई-तीन महिना जेनतेन चलाएँ । काम पनि केही थिएन । त्यसपछि त खानेकुराकै अभाव हुन थाल्यो । कोठा भाडा तिर्न पनि पैसा हुन छोडेपछि घरपतिले कोठामा भएका गतिला सामान पनि लैजान थाले । बुवाआमालाई पटकपटक फोन गरेँ । उहाँहरूले ‘तँ हाम्रा लागि मरिसकिस्, आइन्दा फोन नगर्’ भन्नुभयो । मसँग न काठमाण्डूमा चिनेको कोही मानिस थियो न कोही आफ्ना भन्ने अरू कोही थिए । भोक लागे पनि कोठामा रुँदै बस्नुको विकल्प थिएन । म बस्ने कोठानजिकै भएको एकजना आन्टीले चाहिँ मलाई भएको बेला पैसा तिर्नु भनेर चिया खाजा खान दिनुहुन्थ्यो । ममाथि दया देखाउनुभएको थियो ।
व्यापार’को प्रस्ताव : म भोक सहनै नसकेपछि त्यहीँ गएर खाजा खाने गर्थेँ । एक दिन एक्कासि अलि फरक लवज भएको एउटा मान्छे मेरो छेउमा आएर बस्यो । उसले मलाई सीधै भन्यो, “तिमी असजिलोमा परेको मलाई थाहा छ । तिमी र म मिलेर एउटा ‘बिज्नेस’ गरौँ । मैले छक्क परेर जबाफ फर्काएँ, बिज्नेस गर्न त पैसा चाहिन्छ, म सँग त पैसा छैन । उसले भन्यो, पैसा चाहिँदैन । हामीले एउटा फेसबुक अकाउन्ट खोलेर सँगै काम गर्नुपर्छ । मैले उत्सुकतासहित उसलाई हेर्दै सोधेँः कस्तो काम ? उसले अलिकति पनि धक नमानी क्याफेको न्याप्किनमा फोन नम्बर लेखिदिँदै भन्यो, तिमी ग्राहकहरूसँग उनीहरूले भनेको ठाउँमा जानुपर्छ । मलाई के गरौँ र कसो गरौँ भयो । तैपनि भनेँ, “मेरो अगाडि यस्तो भन्ने हिम्मत कसरी गरेको ? उसले एकदम स्वाभाविक भएर भन्यो, असजिलो मान्नुपर्दैन यो काम धेरैले गर्छन् तर कसैले पनि थाहा पाउँदैन । तिम्रो र मेरो बीचको कुरा मात्रै हो । म जुरुक्क उठेर हिँडेँ । कोठामा बेलुका खानेकुरा केही थिएन । रातभरि सोचेँ । 
फेसबुकबाट ग्राहक : यसअघि नै मैले अनुनयविनय गर्दा पनि बुवाआमाको मन फर्काउन सकेकी थिइनँ । विवाह गरेर ल्याएको केटाको अत्तोपत्तो थिएन । अनि राति सोच्दासोच्दै लाग्यो, यसरी बस्नुभन्दा त बरु त्यही काम गरेरै बाँच्छु । आखिर कसैले थाहा नपाए के हुन्छ र ? मैले भोलिपल्ट उसलाई फोन गरेर भेटेँ । उसले मलाई सँगै राखेर फेसबुकमा एउटा फेक आईडी बनायो । नाम ‘लभ्ली रोज’। फोटो गुलाफकै। अनि परिचयमा (बायो)- “वी ह्याभ गर्लस्। इफ यू वन्ट टु इन्जोए, कन्ट्याक्ट अस । (हामीसँग केटीहरू छन् । तपाईँ रमाइलो गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस् ।) त्यो फेसबुकमा एक महिनाभित्रै ५,००० साथी बनाउन मिल्ने सीमा नाघ्यो । यौनसम्बन्धका प्रस्तावहरू थामिनसक्नु गरी आउन थाले । उसैले मलाई ‘यहाँ जाऊ, त्यहाँ जाऊ’ भन्थ्यो । आएका सबै सन्देशको पनि उसैले उत्तर दिन्थ्यो । म चाहिँ नयाँ नयाँ ग्राहकसँग जान्थेँ । बिस्तारै आम्दानी हुन थाल्यो । भाडा तिर्न सकेँ । चिया पसलकी दिदीको पहिलाको पैसा चुक्ता गरेँ । त्यो मान्छेले ग्राहकले दिएको आएको पैसाको ७५ प्रतिशत मलाई दिन्थ्यो, २५ प्रतिशत आफू लिन्थ्यो । गलत हो भन्ने सोच्दासोच्दै पनि मैले यस्तो काम गर्न थालेकी थिएँ । मलाई त्यो काम गर्न उक्साउने त्यो व्यक्ति र मलाई बाहेक अरू कसैलाई यसबारे थाहा थिएन ।
पक्राउ : यसैगरी समय व्यतीत हुँदै थियो । छ महिना हुँदा पनि मलाई यो सबै सपना पो कि जस्तो पनि लाग्थ्यो । एक दिन उसले फोन गरेर भन्यो, “तिमी सुन्धारा जाऊ । त्यहाँ एउटा मान्छे छ । त्यहाँ पुगेर मैले दिएको नम्बरमा उसलाई फोन गर । सुन्धारा पुगेर टेलिकम कार्यालयअगाडिबाट मैले फोन गरेँ । फोन गरेको केही बेरमै दुईजना महिला प्रहरी त्यहाँ आए । उनीहरूले हामीलाई सबै कुरा थाहा छ भनेर प्रहरी भ्यानमा हालेर थानामा लगे । मैले केही बुझिनँ । त्यो घटना हुँदा म १६ वर्षकी मात्रै थिएँ । थुनामा लगेपछि उनीहरूले नै मलाई सबै भने । त्यसरी फेसबुकको फेक आईडीमार्फत् यौनधन्दा गर्ने गरेको थाहा पाएपछि प्रहरीले नै ग्राहक भनेर उससँग सम्पर्क गरेको रहेछ । त्यसरी म प्रहरीको पक्राउमा परेँ । ऊ पर्यो कि परेन थाहा छैन ।
सुधारगृह : म १६ वर्षकी मात्रै भएकोले मलाई थुनामा नहालेको प्रहरीहरूले भने । मलाई सुधारगृहमा पठाइयो । त्यहाँ परामर्शका क्रममा मैले गरिरहेकी थिएँ त्यो कति खतरनाक काम रहेछ भन्ने थाहा पाएँ । म सुधारगृहमा बसेँ । त्यहाँका बालबालिकालाई पढाउन थालेँ । आफूले फेरि क्याम्पस पढ्न थालेँ । अहिले सबै ठिकठाक छ । शिक्षा अनुसारको काम गरेर कमाउँछु । आफ्नो गुजारा चलाएकी छु । तर विगतको तीतो यथार्थले अझै पनि बेलाबेला मलाई पिरोल्छ । मैले भोगेको त्यो कहालीलाग्दो घटना कसैको जीवनमा पनि नहोस् । यसै भएर ममाथि जे भयो त्यो मजस्तै अरू किशोरीले भोग्नु नपरोस् भन्ने लाग्छ । भागेर बिहे गर्दा म १५ वर्षकी थिएँ र देहव्यापारमा संलग्न हुँदा १६ वर्षकी । त्यसैले मलाई त्यो उमेरका किशोरीहरू सामाजिक सञ्जालमार्फत् हुने यस्ता क्रियाकलापबाट सतर्क होऊन् भन्ने लाग्छ । मैले सानै उमेरमा नबुझेर गरेको गल्तीका कारण ममाथि जे भयो त्यो समाजले थाहा पायो भने अहिले पनि मलाई नै दोषी देख्छ । मलाई यो अवस्थामा ल्याउने दुई पुरुषलाई केही भन्दैन । जे जस्तोसुकै परिस्थति होस्, गलत भन्ने लाग्दालाग्दै त्यसमा खतरनाक काम गर्नु नहुने रहेछ । आफ्नो टाढाको र टाढाको मान्छे आफ्नो कहिल्यै हुँदैन रहेछ । त्यस्तो सङ्कटको अवस्था परे आफ्नै मान्छेलाई भन्नुपर्छ । उहाँहरूले गाली गरे त्यसलाई पचाएर भए पनि उहाँहरूकै भरथेग खोज्नुपर्छ । यदि कोही छैन जस्तो लाग्छ भने प्रहरीलाई भन्नुपर्छ ।

अरूलाई यस्तो नहोस्’ : मेरो दिमागमा पनि प्रहरीलाई भनौँ कि भन्ने नलागेको होइन। तर प्रहरीलाई भन्न सकिनँ किनभने मेरो मैले १५ वर्षकै उमेरमा भागेर विवाह गरेकाले प्रहरीले मलाई नै दोषी देख्छ कि भन्ने लागेको थियो । तर फेसबुक प्रयोग गरेर यौनकर्म गर्ने प्रस्ताव आउनेबितिक्कै प्रहरीलाई भनेको भए पनि म जोगिने थिएँ । अनि मेरो घटनामा मलाई के पनि लाग्छ भने मेरो मात्रै गल्ती थिएन, मेरो बुवाआमाको पनि गल्ती थियो । उहाँहरूले ‘सन्तानलाई राम्रो ठाउँमा स्कूल हालिदिएका छौँ, पैसाले पुर्याएका छौँ’ भन्नुभन्दा सँगै राखेर पढाउँछु भनेको भए सायद मलाई केही पनि हुँदैन थियो । अनि म असजिलोमा छु भनेर काठमाण्डूबाट फोन गर्दा ‘तँ हाम्रा लागि मरिस्’ भन्नुभन्दा घर फर्किन भनेको भए मसँग फेरि कहालीलाग्दो घटना हुने थिएन । अब मैले त केवल पश्चाताप गर्ने कुरामात्रै बाँकी छ । सपनाजस्तो लाग्ने त्यो समय अहिले सम्झँदा पनि भक्कानो छुटेर आउँछ । मलाई निकै गाह्रो हुन्छ । तर मलाई कम्तीमा मेरो कुरा थाहा पाएर अरू किशोरीहरू त्यस्तोमा नपरून् भन्ने छ । म आफू कसरी सामाजिक सञ्जाल मार्फत किशोरावस्थामै तस्करीमा परेँ त्यो थाहा पाउन् भन्नका लागि मैले आफ्नो यथार्थ घटना भनेकी हुँ ।साभार लिङ्क