संसद् पुनर्स्थापना नभए सहजरूपमा नलिने प्रचण्डको चेतावनी

Loading

प्रतिनिधिसभा विघटनयता सडक सङ्घर्षमा होमिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्रीको ‘असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्ने’ चेतावनी दिएका छन्।

काठमाण्डूस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग मङ्गलवार कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूहरूले थालेको आन्दोलनबारे चर्चा गरेका थिए । हाल विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको एवम् संविधानको मर्म र भावनाअनुरूप उक्त विघटन उल्ट्याइने विश्वास गरेको उनीहरूले बारम्बार दोहर्याए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद्‌को तल्लो सदन विघटन गरी बैशाखमा नयाँ निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

‘सेटिङ को भ्रम : प्रधामन्त्रीको समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ मिलाइसकेको भएर अब संसद् पुनर्स्थापना नहुने दाबी गर्दै हिँडेको प्रचण्डले आरोप लगाए । “त्यस्ता सेटिङ भएकाबारे हामीलाई विश्वास छैन। तर यदि सेटिङ नै खालको निर्णय भयो भने हामी सामु निकै ठूलो राजनीतिक र नैतिक प्रश्न खडा हुनेछ। त्यसलाई सहज रूपमा लिन सक्दैनौँ,” प्रचण्डले भने ।

त्यसो भए अदालतले प्रधानमन्त्रीको कदम सदर गरिदिए प्रचण्ड-नेपाल समूहले चुनाव बहिस्कार गर्छ त ? : प्रचण्डको जबाफ थियो – त्यो निर्णय त्यतिबेला नै लिनेछौँ । अहिले नै निष्कर्षमा पुगेका छैनौँ । उक्त जबाफमा थप प्रस्टता खोजेपछि नेपालले चाहिँ अलि अर्थपूर्ण उत्तर दिँदै भने, हाम्रो टिप्पणीको तपाइँहरू आफैँ विश्लेषण गर्न सक्नुहुन्छ ।

पार्टीको आन्तरिक विवादमात्र होइन : पटकपटक दुवै नेताले आफूहरूको आन्दोलन पार्टीभित्रको आन्तरिक विवादमात्र नभएको प्रस्ट पार्ने कोसिस गरेका थिए । “यो हाम्रो पार्टीको मात्र आन्तरिक विषय वा विवाद होइन, रहेन। प्रधानमन्त्रीलाई सत्ताको मात लाग्यो। उहाँले साम, दाम, दण्ड, भेदको नीति प्रयोग गर्नुभयो,” अध्यक्ष नेपालले भने । “यो लडाइँ पदको निम्ति होइन, न्यायको निम्ति हो । यही विषयलाई आफूहरूले अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन चाहिरहेको प्रचण्डले बताए । “यहाँ लोकतन्त्रको हत्या भइरहेको छ भनेर हामीले भनिरहेका छौँ,” उनले भने । विभिन्न विदेशी शक्तिहरूको आ-आफ्नै हित र चासो भएको हुनसक्ने भएपनि संसद् विघटनपछि उब्जिएको वर्तमान परिस्थितिको निम्ति केवल प्रधानमन्त्री ओली जिम्मेदार रहेको उनले बताएका थिए ।

केपी ओली ‘विक्षिप्त’ : प्रतिनिधिसभा विघटनपश्चात् दुवै पक्षबीच जारी चर्को वाक् युद्धको झल्को मङ्गलवारको कुराकानीमा पनि देखा पर्‍यो । गत साता माघ २३ को सभामा प्रधानमन्त्री केपी ओली ‘विक्षिप्त’ रूपमा प्रस्तुत भएको प्रचण्डको टिप्पणी थियो । माधवकुमार नेपालले पनि ओलीलाई सत्ताको मात लागेको तानाशाहको सङ्ज्ञा दिए  । पछिल्लो समयमा हिन्दू धर्म तथा राजावादीहरूसँग ओलीको ‘हिमचिम’ बढेका आधारहरू रहेको प्रचण्डको आरोप थियो । ‘पशुपतिमा दीप प्रज्ज्वलन, ३० करोडको जलप, राममन्दिर र अयोध्याका कुरा अनि ठीक नारायणहिटी सामुन्ने सभाको आयोजनाले’ केही न केही सङ्केत गरिरहेको उनले बताए । bbc

 

Leave a Comment