आपराधिक गतिविधिले अमेरिकाबाट निकालिएका भुटानी शरणार्थीको तेहरो निष्कासन

People’s News : आपराधिक गतिविधिले अमेरिकाबाट निकालिएका भुटानी शरणार्थीको नेपालमा बिचचली के नेपाली राजनिति दलले भोट ब्यांक बढाउन नागरिक्ता देलान ?

संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनियाबाट पूर्वी नेपालको झापामा अवस्थित बेलडाँगी शरणार्थी शिविरमा आइपुगेका रमेश संन्यासी अहिले आफू न यताको न उताको महसुस गरिरहेको बताउँछन् । उनलाई भन्छन्, झन्डै ५ हजार भुटानी शरणार्थीहरू बस्ने यो शिविरमा उनका लागि न समाउने ठाउँ छ, न टेक्ने धरातल । आपराधिक गतिविधिमा संलग्न भएकोमा अदालतबाट दोषी ठहर भएपछि आफूलाई अमेरिकाले निष्कासन गरेर भुटान फिर्ता पठाइदिएको उनी बताउँछन् । तर त्यहाँबाट भारतकोबाटोहुँदै नेपाल आइपुगेका संन्यासी र उनीजस्ता झन्डै डेढ दर्जन अमेरिकाबाट निष्काशित भुटानी शरणार्थीलाई उनीहरूकै मुलुकमा फिर्ता पठाउने निर्णय नेपालले गरेको छ । म नेपालमा जन्मिएको हुँ । ११ वर्षको उमेरमा पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका गएँ । अहिले अमेरिकाबाट फर्कँदा मसँग मेरो पहिचान छैन, कुनै परिचयपत्र छैन ।

संन्यासीले थपे, “अमेरिका नै आउने प्रक्रिया गरिदिनु र वकिलहरू लगाइदिनु भन्दा उताबाट (परिवारले) मिल्दैन, केही गर्न सकिँदैन भन्नुहुन्छ । मेरो कहाँ बस्ने के गर्ने टुङ्गो छैन । अमेरिका जस्तो ठाउँ छाडेर यहाँ बस्नुपर्दा खाडीमा आएको जस्तै महसुस हुन्छ । मलाई एकदमै गाह्रो भइरहेको छ । अधिकारकर्मीहरूले तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका भुटानी शरणार्थीलाई निष्कासन गर्ने अमेरिकी निर्णयले दोहोरो राज्यविहिनता निम्त्याएको भन्दै चिन्ता व्यक्त गरिरहँदा अमेरिका र भुटानले यस विषयमा केही बताएका छैनन् । 

ट्रम्प प्रशासनको आप्रावसन नीति

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प सत्तामा आएयता उनको प्रशासनले अवैध आप्रवासीको निष्कासनलाई आफ्नो नीतिको प्रमुख हिस्सा बनाएका छन् । अमेरिकी डिपार्टमेन्ड अफ होमल्यान्ड सेक्युरीटिजका अनुसार यो बीचमा आपराधिक गतिविधिमा संलग्न ३ लाख भन्दा बढी विदेशी पक्राउ परेका छन् । ट्रम्पले ल्याएको ‘बिग बिऊटीफुल बिल’ले अमेरिकी अध्यागमन निकाय आइसलाई एक वर्षमा १० लाखसम्म आप्रवासीलाई निष्कासन गर्न सघाउने अमेरिकी सरकारले बताइरहेको छ । ट्रम्प प्रशासनले अवैध ढङ्गले अमेरिका छिरेका र हत्या, बलात्कार, लागु औषध कारोबार जस्ता गम्भीर प्रकारका फौजदारी कसुरमा दोषी ठहर भएका वा आरोप खेपिरहेका आप्रवासीहरू निष्कासनमा परेको बताउँदै आएको छ । यूनिभर्सिटी अफ क्यालिफोर्निया, बर्क्लेले सूचनाको हक प्रयोग गरी प्राप्त गरेको विवरणले यो वर्षको सुरुदेखि जुनको अन्तिम सातासम्म १ लाख ४४ हजार भन्दा बढी निष्कासित भएको देखाएको छ । पक्राउ पर्ने र निष्कासित हुने विभिन्न देशका नागरिक मध्ये पुनर्वास कार्यक्रम अन्तर्गत नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थी पनि छन् । 

संन्यासी कसरी निकालिए ? 

चार कक्षामा पढिरहेका बेलामा सन् २०१२ मा आफ्नो परिवारसहित अमेरिकामा पुगेका संन्यासी यसरी शरणार्थी शिविर फर्कनुपर्ला भनेर आफूले नसोचेको बताउँछन् । सवारीसाधनको चोरी, आपराधिक बदमासीसहित विभिन्न कसुरमा दोषी ठहर गरिएका उनलाई अदालतले सन् २०२२ मा निष्कासन गर्ने निर्णय लिइएको । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघिसम्म जेल सजाय काटेर बाहिर निस्कन पाउने विश्वासमा २४ वर्षका संन्यासी थिए । सात महिना जेलमा बिताइसकेपछि यसै वर्षको मार्चमा आइसका अधिकारीहरूले आफूलाई नियन्त्रणमा लिएको उनी बताउँछन् । त्यसको डेढ साता नबित्दै उनलाई न्यूयोर्कनजिकैको विमानस्थलबाट भारत पठाइयो । प्लेन चढाउन लैजाँदा हात र खुट्टामा हतकडी लगाइएको थियो । त्यो बेला कुकुरलाई जस्तै व्यवहार गरियो । पछि खोलिदियो तर ज्यादै नराम्रो लाग्यो । 

व्यावसायिक उडानमार्फत भारतको दिल्लीमा ओर्लिएपछिको उनको भोगाइ कुनै चलचित्रको कथा भन्दा फरक छैन । रातको समयमा अवतरण गरेका उनलाई लिन भुटानी अधिकारीहरू विमानस्थलमा नै पुगेका थिए । ट्रान्जिटमा केही घण्टा बिताएपछि बिहानै विमानमा चढाएर उनलाई भुटानको राजधानी थिम्पू नजिकको पारो विमानस्थल लगिएको उनी बताउँछन् । भुटानी अधिकारीहरूले उनको ‘फिङ्गर प्रिन्ट’ लिनुका साथै सोधपुछ गरेका थिए । संन्यासी भन्छन्, मैले डिपोर्टेशन भएर आएको भन्दै सबै कुरा भनेँ । उनीहरूले तिमीहरूले हाम्रो भाषा जान्दैनौ। यहाँ केही पनि गर्न सक्दैनौ । नेपालमा नै जाऊ भनेर भने । अनि पठाइदिने भयो । ‘ग्रान्ड पारो’मा हुँदा नै उनले आफूजस्तै अमेरिकाबाट निकालिएर आएका दुई जना भुटानी शरणार्थीलाई भेटेका उनी बताउँछन् । भारत र नेपालमा आफ्नो कोही आफन्त नरहेको भन्दै उनीहरूलाई उनले आफूलाई नेपाल पुर्‍याइदिए त्यस बापत लाग्ने खर्च दिन तयार रहेको सुनाएका थिए । 

एक जना दाइको मामा नेपालमा हुनुहुँदो रहेछ । तिमी सानै रहेछौ केही दिनुपर्दैन भनेर उहाँले भन्नुभयो । मामाले मान्छे पठाएर खोलामुनिबाट आएको हुँ । बाइकमा लिन पठाउनु भएको थियो । जेल बस्दाकै लुगा लगाएर मैले पुल तरेको हुँ । संन्यासीका अनुसार दमक आएपछि उनी केही दिन होटेलमा बसे, तर पैसा सकिएपछि गाह्रो हुँदै गयो । त्यसपछि दुई/तीन दिनसम्म म भुईँमा सुतेँ । त्यो बेला कसैले मलाई मद्दत गरेनन् । अनि, मेरो ममीले एक जना अङ्कल हुनुहुन्छ, उहाँले अमेरिकाबाट निकालिएकाहरूलाई सहयोग गरिरहनुभएको छ भनेर भन्नुभयो । त्यसपछि सोध्दै खोज्दै म यहाँ आइपुगेको हुँ । 

उनले थपे, “उताबाट ममीले अङ्कलको खातामा पैसा हालिदिनुहुन्छ । त्यही पैसा झिकेर सबै कुरा किनेर खाँदै आइरहेको छु । हामीले गल्ती गर्‍यौँ, सजाय भोगेर यहाँ आइहाल्यौँ । परिवारलाई छाडेर आउने इच्छा पनि होइन । 

‘खुसीको खबर’ र मेचीपुलसम्मको यात्रा

संन्यासी भन्दा अघि पहिलो चरणमा गएको मार्चमा निष्कासित भएका १० जना भुटानी शरणार्थीहरूलाई आइसका अधिकारीहरूले पारो पुगेर भुटानी अधिकारीहरूलाई सुम्पिएका थाहा भएको छ । उनीहरूलाई भुटानी अधिकारीहरूले सोधपुछ गरे र एक रात राखेर भोलिपल्ट सादा पोशाकका अधिकारीसहित ट्याक्सी चढाएर भारत-भुटान सीमामा पुर्‍याइदिएका बताइएको छ । सुरुमा १० हजार भारतीय रुपैयाँ बाटो खर्च दिएका उनीहरूले सिमानानजिकै आएपछि ‘खुसीको खबर’ भन्दै अर्को २० हजार थपिदिएका उक्त समूहका मानिसहरूले बताए । सो समूहका एक सन्तोष दर्जी भन्छन्, “भुटानले हामीलाई नेपालले स्वीकार नगरेकाले ट्राभल डक्युमेन्ट मात्रै दिएका हौँ, यता आउने बाटो मात्रै बनाइदिएको हो भनेर भन्यो । तिमीहरूको ठाउँ यो होइन नेपाल नै जानू भनेर यता पठाइदिएको हो । उनीहरूले नै गाडीहरू मिलाइदिएका थिए । तर यहाँ आएपछि हामी पक्राउ पर्‍यौँ । दर्जीले थपे, “अमेरिकी सरकारले हामीलाई यहाँबाट जिम्मा लिएर लगेको थियो । उसले हामीलाई फर्काएर नगर्नुपर्ने काम गर्‍यो । राम्रो ठाउँमा पुगिएको थियो तर गल्ती गरिहालियो । पानी पर्दा चुहुने भाटाको घरमा आएर बस्नु परिरहेको छ । अहिले दुःखैदु:ख छ । 

सो समूहमा आएकाहरूले बताएअनुसार भारतसँगको सीमापार गर्दा परिचयपत्र खोजिनसक्ने भुटानी अधिकारीहरूले बताएपछि निष्कासित भुटानी शरणार्थीहरूले त्यहाँ पुग्नुअघि नै ‘कागजपत्र’ फ्याँकेका थिए । तर सीमामा उनीहरूमाथि कुनै जाँच भएन । नेपाल प्रवेश गर्न भने अप्ठेरो भोग्नुपरेको उनीहरू बताउँछन् । उक्त समूहका तीनजनाले बिचौलियालाई साढे २२ हजार भारतीय रुपियाँ तिरेर साँझ ‘एक अर्काको हात समाउँदै’ खाली खुट्टा मेची नदी तरेको बताए । 

शरणार्थीहरूले बताएको यस्तो विवरण र दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन् । निष्कासित शरणार्थीहरूले लगाएका आरोपबारे ईमेलमार्फत सोधेको प्रश्नमा भुटानले जवाफ दिन अस्वीकार गरेको छ । नेपालको अध्यागमन विभागका प्रवक्ताले ‘नेपाल प्रवेश गरेपछि मात्रै ती शरणार्थीका हकमा आफ्नो क्षेत्राधिकार आकर्षित भएको’ भन्दै भुटानमा भएका घटनाहरूबारे जानकारी नरहेको जनाए । आफ्नो स्थलगत प्रतिवेदनमा अधिकारवादी संस्था इन्हुरेड इन्टरन्याश्नलले पनि यस्तै उल्लेख गरेको छ । उसले भनेको छ, “भुटानी अधिकारीहरूले कडा केरकार गरेर उनीहरूलाई कुनै अन्य विकल्प नदिईकनै २४ घण्टा भित्रै निष्कासन गरेका थिए । भुटानी अधिकारीहरूले नै उनीहरूलाई भारत भुटान सीमासम्म लिएर आएका थिए…. डङ्की रुट पनि भनिने अनधिकृत बाटो प्रयोग गरेर उनीहरू बेलडाँगी शरणार्थी शिविर आइपुगे । 

तेस्रो पटक निष्कासनको जोखिम

प्रहरी र अध्यागमन अधिकारीहरूले पहिलो चरणमा नेपाल प्रवेश गरेका ती भुटानी शरणार्थीहरूलाई झन्डै एक महिना थुनामा राखेका थिए । तर सर्वोच्च अदालतले ६० दिनसम्म नेपालबाट निष्कासन नगर्न आदेश दिएसँगै प्रत्येक साता प्रहरी चौकीमा उपस्थित हुने सर्तमा उनीहरूलाई शरणार्थी शिविरमा बस्न दिइएको थियो । जुन महिनाको पहिलो साता नेपाल सरकारले राहदानी र भिसा नलिई नेपाल प्रवेश गरेको भन्दै उनीहरूलाई जनही पाँच हजार रुपैयाँ जरिवाना गराउने र निष्कासन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । साथै, राहदानी वा भिसा जारी गर्न आवश्यक यात्रासम्बन्धी कागजपत्र पेश गर्न चार जना त्यस्ता शरणार्थीहरूलाई अध्यागमन विभागले पत्राचार पनि गरेको छ । ‘उक्त कागजपत्र प्राप्त भएपश्चात्‌ तपाईँको निष्कासनका लागि नियमानुसार प्रक्रिया अघि बढाउने,’ उनीहरूमध्ये एकलाई दिइएको देखेको एउटा पत्रमा भनिएको छ । 

त्यस्तो कागजपत्र नबनुन्जेल नियमित प्रहरी कार्यालयमा उपस्थित हुने गरी शरणार्थी शिविरमा बस्न दिने निर्णय भएको अध्यागमन विभागका प्रवक्ताले बताए । यो समस्याको कूटनीतिक हल खोज्न पनि आफूहरूले प्रयास गरिरहेको उनी बताउँछन् । उनले भने, “यो (नेपाल प्रवेश गर्ने) सङ्ख्या अझ बढ्न सक्ने देखिन्छ । कूटनीतिक माध्यमबाट दिगो समाधान खोज्न र सहजीकरण गरिदिनका लागि हामीले गृह मन्त्रालयमार्फत्‌ परराष्ट्र मन्त्रालयमा आवश्यक पत्राचार गरेका छौँ । परराष्ट्र मन्त्रालयमार्फत्‌ भुटान र अमेरिकासँग दूतावासहरूमार्फत्‌ छलफल तथा परामर्श गरेर उपयुक्त टुङ्गोमा पुग्नुपर्छ ।

बेलडाँगी शरणार्थी शिविर

अमेरिका, भुटान, भारत सबै ‘मौन’, यूएनएचसीआर के भन्छ

पुनर्वास कार्यक्रम अन्तर्गत लगिएका भुटानी शरणार्थीहरूलाई निष्कासन गरेर भुटान पठाउनुको कारणबारे अमेरिकी सरकारको धारणा बुझ्न अमेरिकी विदेश मन्त्रालय, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र आइसलाई इमेलमार्फत्‌ प्रश्न पठाएकोमा उनीहरूले जवाफ दिएनन् । अमेरिकाबाट निष्काशित ती व्यक्तिहरूलाई आफ्नो देशमा नराख्नुको कारणबारे भुटानी सरकारका अधिकारीलाई ईमेलमार्फत् सोधेको थियो । तर भुटानबाट पनि जवाफ प्राप्त हुन सकेन । भुटानको परराष्ट्र मन्त्रालयले जुनको तेस्रो साता सार्वजनिक सूचना जारी गर्दै आफ्ना सबै नागरिकलाई अमेरिकी आप्रवासन नियमहरू पालना गर्न र गैरकानुनी आप्रवासन हैसियत भएका भुटानीहरूलाई स्वैच्छिक बहिर्गमन रोजेर सकेसम्म चाँडो फर्कन अपिल गरेको छ । 

आप्रवासन नियमहरू मिचेकोसहितका कारण देखाउँदै ट्रम्प प्रशासनले भुटानलाई पूर्ण यात्रा प्रतिबन्धमा पर्नसक्ने मुलुकको सूचीमा समावेश गर्न सक्ने विवरण यसअघि सार्वजनिक भएका थिए । अमेरिकाले निष्कासन गरेका भुटानीहरू भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको सम्बन्धमा भारतीय विदेश मन्त्रालयलाई प्रश्न गरे पनि त्यसको जवाफ प्राप्त भएको छैन । दिएको प्रतिक्रियामा शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय निकाय यूएनएचसीआरले आफ्नो सीमा व्यवस्थापन गर्ने देशहरूको सार्वभौम अधिकारको आफूले सदैव समर्थन गर्ने भन्दै शरणार्थीहरूको संरक्षण गर्ने दायित्व पनि उनीहरूको हुने उल्लेख गरेको छ । उसले भनेको छ, “हिंसा र दमनका कारण अन्तर्राष्ट्रिय संरक्षणको आवश्यकतामा रहेका मानिसहरूलाई शरणार्थीको हैसियत प्रदान गरेर शरणार्थीहरूको रक्षा गर्ने संयुक्त राज्य अमेरिकाको दीर्घकालीन प्रतिबद्धतालाई हामीले महत्त्व दिएका छौँ । शरणार्थीहरूलाई उनीहरूले दमन वा नोक्सान बेहोर्न सक्ने देशमा फिर्ता गरिनुहुन्न ।  यूएनएचसीआरले विगतमा पुनर्वास भएका ‘सानो सङ्ख्या’का व्यक्तिहरू नेपालमा आएकोबारे आफू जानकार रहेको भन्दै ती घटनाहरूको समीक्षा गरिरहेको र ‘आफ्नो मानवीय क्षेत्राधिकार अनुसार आवश्यक सहयोग उपलब्ध गराउने’ बताएको छ ।

भुटानी शरणार्थी को हुन् ? उनीहरू कसरी अमेरिका पुगे ?

नागरिकतासम्बन्धी कानुन परिमार्जन गर्दै भुटानले सन् १९८८ मा गराएको जनगणनाले करिब १ लाख १३ हजार भुटानीलाई अवैध आप्रवासी ठहर गरेको थियो । विरोधमा उत्रिएकामाथि सरकारले दमन गरेपछि दक्षिण भुटान अशान्त बन्न पुग्यो र ९० हजारभन्दा बढी नेपालीभाषी भुटानीहरू आफ्नो थलो छाड्न बाध्य भएका थिए । सुरुमा उनीहरू छिमेकी भारत आएका थिए । त्यसबेला कैयौँलाई भारतले ट्रकमा हालेर मेची पुलमा ल्याएर छाडिदिएको विवरण सार्वजनिक भएका थिए । माइधारमा आएर बसेका ती भुटानीहरूलाई नेपालले मानवीय आधारमा शरण दियो । दातृ संस्थाले दिने नुन, तेल, चामल र अरू मानवीय सहयोगका भरमा उनीहरूले वर्षौँ गुजारा चलाए । 

नेपाल र भुटानबीच १५ चरणमा भएका वार्ताले कुनै परिणाम दिन नसकेपछि सन् २००७ मा उनीहरूलाई तेस्रो देशमा पुनर्वासमा जाने विकल्प दिइएको थियो । त्यसअन्तर्गत झन्डै १ लाख १४ हजार भुटानी शरणार्थीहरूले आठ पश्चिमा देशमा नयाँ जीवनको सुरुवात गरे जसमध्ये ९६ हजार भन्दा बढी अमेरिका पुगेका थिए । गएको नोभेम्बरसम्म १२२ जना भुटानी नागरिकलाई निष्कासन गर्ने आदेश जारी गरिएको आइसको एउटा दस्तावेजमा उल्लेख भएपनि त्यसमध्ये कति पुनर्वासमा गएका भुटानी शरणार्थी हुन् प्रस्ट छैन ।

बेलडाँगी शरणार्थी शिविर

अमेरिकामा पनि चलिरहेको छ ‘कानुनी लडाइँ’

ओहायो ब्ल्याक लिककी टीका बस्नेतले गएको एप्रिलमा आफ्ना श्रीमान् मोहनलाई आइसले नियन्त्रणमा लिए यता अप्ठेरा दिनहरूको सामना गर्नु परिरहेको बताएकी छन् । आमा बन्ने क्षणमा उनले कहिले आफ्ना श्रीमानलाई ‘प्लेनमा पठाइन लागेको खबर’ को छट्पटीसँग जुझ्नुपरेक त कहिले कानुनी लडाइँमा लाग्नुपरेको बताइन् । झन्डै डेढ दशकअघि अमेरिकामा पुनर्वास भएका मोहन १८ वर्षभन्दा कम उमेरको हुँदा चोरी, गैर कानुनी ढङ्गले अर्काको परिसरमा प्रवेश गरेको र सरकारी सम्पत्तिलाई क्षति पुर्‍याउन खोजेको आरोपमा दोषी ठहर भएको बीबीसीले देखेको अदालतको कागजपत्रमा उल्लेख छ । टीका भन्छिन्, “मोहनले किशोर उमेरमा यहाँ आउनेबित्तिकै गल्ती गर्नुभयो । उहाँलाई त्यो बेला बाटो देखाउने कोही थिएन। तर त्यो गल्तीले अहिलेको उहाँलाई परिभाषित गर्न सक्दैन । उहाँलाई निष्कासन गरियो भने त्यसले हाम्रो परिवारलाई मात्र टुटाउँदैन्, आफूलाई परिवर्तन गर्न सबै थोक गरेका व्यक्तिमाथि गहिरो अन्याय हुनेछ । 

उनले थपिन्, “अहिले हामीसँग सानी छोरी छिन् । तर उहाँको अनुपस्थितिले मेरो मन छियाछिया भएको छ । यदी मेरो श्रीमान् भुटान वा नेपाल गएर घरबारविहीन हुनुपर्‍यो भने भोली पर्सी छोरीले मेरो बाबा खोइ भन्दा मैले के जवाफ दिने ? मोहनलाई सन् २०१४ मा एकजना आप्रवासन न्यायाधीशले भुटान वा त्यसको विकल्पमा नेपालमा निष्कासन गर्न आदेश दिएका थिए । तर दुवै देशले यात्रा अनुमतिपत्र नदिएपछि सरकारी निकायसामु नियमित उपस्थित हुने गरी उनलाई सुपरिवेक्षणमा राखिएको थियो । यसपटक अन्तिम क्षणमा, बोर्ड अफ इमिग्रेशन्स अपिल्सले ३० वर्षका मोहनको निष्कासन रोक्न अन्तरिम आदेश दियो । तर अझै उनी मिशिगनस्थित आइसको एउटा बन्दीगृहमा थुनामा रहेका छन् । 

टीका बस्नेत आफ्ना श्रीमान मोहनका साथ। पृष्ठभूमिमा सुन्तला रङ्गको घरको गेट देख्न सकिन्छ

मोहनको पक्षमा पैरवी गरिरहेका वकिल ब्रयान होफम्यान बोर्ड अफ ईमिग्रेशन्स अपिलले मोहनले कानुनी लडाइँको नयाँ मौका पाउने या नपाउनेबारे एउटा निर्णय दिने बताउँछन् । निष्कासित शरणार्थीहरूलाई भुटानले केही घण्टाभित्रै देशबाट निकालेर भारत पठाएको र उनीहरूमध्ये कतिपय सम्पर्कविहीन रहेको जिकिर ब्रायनले बोर्ड समक्ष गरेका थिए । उनले भने, “हामी यो मुद्दालाई आप्रवासन सम्बन्धी न्यायाधीशकहाँ पठाउन माग गरिरहेका छौँ । त्यसो भयो भने मोहनले यातनाविरुद्धको महासन्धिअन्तर्गत संरक्षण माग गर्दै आवेदन दिन सक्छन् । यदि निर्णय मोहनको पक्षमा भयो भने यो साधारणता ३ सदस्य भएको निकायबाट आउनेछ, त्यसका लागि लामो समय लाग्न सक्छ । 

अमेरिकाको पेन्सिल्भेनियास्थित आप्रवासनसम्बन्धी वकिल क्र्याग सागीन अदालतबाट निष्कासनको आदेश रहेको भए पनि राज्यविहीन भएका कारण यसअघि भुटानी शरणार्थीहरूलाई अमेरिकाले ननिकालेको बताउँछन् । उनले भने, “उनीहरू राज्यविहीन भएकाले उनीहरूलाई स्वीकार गर्नसक्ने देशमा पठाउन यहाँको सरकार असमर्थ रहेको थियो । त्यही भएर उनीहरूलाई नियमित रूपमा सरकारी निकायमा उपस्थित हुने गरी सुपरिवेक्षणमा राखिएको थियो । उनले थपे, “सुपरिवेक्षणमा राख्ने निर्णय भएका त्यस्ता मानिसहरूलाई उनीहरूको कुनै कानुनी हैसियत नभएको देशमा पठाइयो । त्यस्तो देश जसले उनीहरूलाई आफ्नो नागरिक नै स्वीकार गर्दैन । यो ज्यादै ठूलो समस्या हो । यो भनेको मानिसहरूलाई प्लेन चढाएर अञ्जान ठाउँमा प्यारासुटबाट धकेलिदिनु सरह हो । यो अन्तर्राष्ट्रियस्तरमा उपयुक्त ढङ्गले हल खोज्नुपर्ने विषय थियो । 

अधिकारकर्मीहरू किन चिन्ता व्यक्त गरिरहेका छन्

पुनर्वास कार्यक्रममार्फत अमेरिका पुगेका रोविन गुरुङ एशियन रिफ्यूजी युनाइटेडका सहसंस्थापक हुन् । उनको संस्थाले भुटानी समुदायका व्यक्तिहरूलाई कानुनी सहयोग प्राप्त गर्न मद्दत गरिरहेको छ । गुरुङ पक्राउ परेका वा निष्कासन गरिएकामध्ये कैयौँले आफ्नो पक्षमा वकिलहरू समेत राख्न नपाएको बताउँछन् । उनले भने, “अमेरिका र भुटानबीच कस्तो खालको समझदारी भएको छ जहाँ हिजोको दिनमा निष्कासनमा परेका व्यक्तिहरूलाई स्वीकार नगर्ने भुटानले अहिले आएर स्वीकार गरिरहेको छ ? हामी शरणार्थी भएर अमेरिकामा आएका थियौँ । हाम्रो समुदायका सदस्यहरू अहिले फेरि शरणार्थीकै चक्रमा फसिरहेका छन् । सान फ्रान्सिस्कोस्थित एशियन ल ककसको एशियन अमेरिकन लिडर्स टेबलकी म्यानेजर आइसा भिलारोसा पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका आएका भुटानी शरणार्थीहरूलाई निष्कासन गरिनु उपयुक्त नभएको बताउँछिन् । 

उनले भनिन्, “यो कार्यक्रम अमेरिकी इतिहासकै सर्वाधिक ठूलो थियो र त्यो गर्दा हामीले भुटानबाट दमन र निष्कासनमा परेका र नेपालको शिविरमा सङ्घर्षका दिनहरू बिताएका यो समुदायका मानिसहरूलाई यहाँ दिगो भविष्य दिने वाचा गरेका थियौँ । तर अहिले परिवारबाट पुनः अलग गर्नु दोहोर्‍याएर गहिरो आघात पुर्‍याउनु हो । भिलारोसाले अमेरिकामा न्याय र जबाफदेहिताको प्रणाली रहेको र सबै जटिल प्रकारका मुद्दाहरू त्यहीँ नै सम्बोधन गर्न सकिने बताउँछिन् । यो बीचमा अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई आप्रवासीहरूलाई उनीहरूको देशबाहेक अन्यत्र पनि निष्कासन गर्नका लागि बाटो खोलिदिएको छ । तेस्रो देशमा यातना, दमन र ज्यानको समेत जोखिम हुनसक्ने भन्दै त्यस प्रकारको निष्कासनविरुद्ध कानुनी चुनौती दिने अवसर दिइनुपर्ने एउटा अदालती आदेशलाई सर्वोच्च अदालतले जुलाईको सुरुमा हटाएसँगै केही आप्रवासीलाई द्वन्द्वग्रस्त दक्षिण सुडान पठाइएको थियो । यस्ता घटनाक्रमले निष्कासनको जोखिममा रहेका शरणार्थीका परिवार र उनीहरूको पक्षमा कानुनी लडाइँमा सक्रिय भएकाहरूलाई थप चिन्तित तुल्याएको उनीहरू बताउँछन् ।

भुटानी शरणार्थीसँग जोडिएका महत्त्वपूर्ण घटनाक्रम

  • सन् १९९० को अन्त्य: दक्षिण भुटानबाट नेपालीमूलका भुटानी शरण खोज्दै पहिलो पटक नेपाल प्रवेश, माईधारमा ६० जना भुटानी शरणार्थीको आगमन
  • सन् १९९१: तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा भुटानी राजा जिग्मे सिङ्गे वाङचुकलाई यो मुद्दाबारे ध्यानाकर्षण
  • सन् १९९२: दैनिक एक हजार जनासम्म भुटानी शरणार्थीहरू नेपाल प्रवेश, नेपालद्वारा संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयलाई आपत्कालीन सहयोगका लागि अपिल
  • सन् १९९३: नेपाल र भुटानद्वारा मन्त्रीस्तरीय संयुक्त समिति गठन गरेर वार्ताको सुरुवात
  • सन् २००१: वास्तविक भुटानीसहित विभिन्न चार समूहमा खुदुनाबारी शरणार्थी शिविरको वर्गीकरण आरम्भ। प्रक्रिया सुस्त र परिणामलाई लिएर विवाद
  • सन् २००३: नेपाल र भुटानबीच १५ चरणको वार्ता, प्रमाणीकरणलाई गति दिने वाचा तर सुस्त प्रगति
  • सन् २००७: संयुक्त राज्य अमेरिकासहित ८ देशद्वारा भुटानी शरणार्थी पुनर्वास कार्यक्रम घोषणा
  • सन् २०१६: भुटानी शरणार्थीहरूको तेस्रो देश पुनर्वास कार्यक्रम सम्पन्न
  • सन् २०१९: १,१३,३०० शरणार्थीहरूको तेस्रो देशमा पुनर्वास। ९६ हजार जनाभन्दा बढी अमेरिकामा।
  • सन् २०२३: नेपाली नागरिकलाई नक्कली परिचयपत्र दिई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा दुई पूर्वमन्त्रीसहित ३० जनामाथि मुद्दा दायर
  • सन् २०२५: अमेरिकाद्वारा अन्य आप्रवासीहरूसँगै कतिपय पुनर्वासमा गएका भुटानी शरणार्थीहरू पनि निष्कासित
  • सन् २०२५, जुन २०: अमेरिकाले फर्काएका भुटानीहरू गैरकानुनी रूपमा नेपाल भित्रिएको ठहर गर्दै अध्यागमन विभागद्वारा निष्काशन गर्ने निर्णय, जनही ५००० जरिवाना पनि तोकियो
पिपुल्स न्युज

Leave a Reply