पिपुल्स न्युज काठमाडौँ : काठमाडौं। चरम मन्दीका कारण घरको मूल्य आधा करोड रुपैयाँसम्म घटेको छ। काठमाडौं उपत्यकामा घरजग्गा व्यवसायीहरुले निर्माण गरेका कोलोनी, हाउजिङ तथा अपार्टमेन्टहरुको बिक्री मूल्यमा गिरावट देखिन थालेको हो। तरलता अभावका साथै महँगो ब्याजदरका कारण करिब वर्षदिन यता घरजग्गा कारोबार प्रभावित बनिरहेको छ। जसका कारण रियल इस्टेट कम्पनीहरु हायलकायल भएका छन्।
निर्माण गरेर राखेका युनिट पनि आर्थिक चुनौतीबीच बिक्री हुन नसकेपछि विभिन्न कम्पनीहरुले ग्राहक लोभ्याउन घर तथा अपार्टमेन्ट किन्दा गाडीदेखि भारी नगद छुट दिन थालेका छन्।
काठमाडौंको बुढानिलकण्ठमा निर्माण नेक्स्ट प्रोपर्टीज प्रालिले निर्माण गरिरहेको मधुवन होम्समा रहेको घरको मूल्य ५० लाख रुपैयाँले घटाइएको छ। कम्पनीले ४ करोड १५ लाख रुपैयाँबाट बिक्री थालेको घरको मूल्य अहिले करिब ५० लाख रुपैयाँ घटाइएको संचालक सन्तोषराज नेपालले बताए।
बैंक कर्जाका साथै घर किन्ने ग्राहक भेट्नै मुस्किल परेपछि घरको बिक्री मूल्य घटाउन आफूहरु बाध्य भएको उनको भनाइ छ।
‘अहिलेको क्राइसिस कै कारण हामीले घरको मूल्य घटाएका हौं। एउटै घरको मूल्य करिब ५० लाख रुपैयाँसम्म घटाएका छौं,’ नेपालले भने। नेक्स्ट प्रोपर्टीजले बुढानिलकण्ठमा कुल ५ वटा सेमी फर्निस्ड घरहरु बनाइरहेको छ। ४ देखि ५.५ आना जग्गा क्षेत्रफलमा घरहरु निर्माण भइरहेका छन्।
त्यसैगरी, काठमाडौं उपत्यकामा रहेका केही अपार्टमेन्टहरुले पनि उपहारका साथै मूल्य घटाएर भएपनि युनिट बिक्री गर्न थालेका छन्। ललितपुरको हात्तीवनमा रोयल अर्किड डेभलपर्सले निर्माण गरेको मेरो सिटीले युनिट बिक्रीमा गाडी नै नि:शुल्क उपहार दिने अफर ल्याएको छ।
तीन बेडरुम अपार्टमेन्ट किन्दा ३० लाख रुपैयाँ मूल्य पर्ने हुन्डाई ग्रान्ड आइ-१० नियोस नि:शुल्क दिने अफर कम्पनीले ल्याएको छ। १ हजार ३० वर्गफिटको उक्त अपार्टमेन्ट किन्नेले उपहारको गाडी नलिए ३० लाख अझ कम र बार्गेनिङ गर्न सके १ करोड रुपैयाँसम्मै त्यो युनिट किन्न सकिने अवस्था रहेको एक इच्छुक खरिदकर्ताले डेभलपरसँगको डिल उदृत गर्दै बिजमाण्डूसँग भने।
‘बनाएको प्रोपर्टी धेरै समय राख्दा ऋणको भार बढ्दै जान्छ। बरु सस्तोमा दिएर भएपनि ऋण घटाउन पाइयो भने हामीलाई पनि राहत नै हुन्छ। नबेची राख्दा झन् ऋण र क्यास फ्लोले च्याप्दै जान्छ। मुख्य कुरा भनेको स्टक नरहोस् भनेरै छुटसहितको अफर ल्याएका हौं,’ कम्पनीका निर्देशक विशाल अग्रवालले भने। त्यसैगरी, प्लाटिनम डेभलपर्सले सोल्टीमोडमा निर्माण गरेको सोल्टी सिटी अपार्टमेन्टले पनि फ्लाट खरिद गर्ने ग्राहकलाई गाडी उपहार दिने अफर ल्याएको छ। कम्पनीले ११ सय ६० वर्गफिटको तीन बेडरुम किन्ने ग्राहकलाई हुन्डाई ग्रान्ड आइ-२० दिने अफर ल्याएको छ। यस्तै, ९ सय २० वर्गफिटको तीन बेडरुमकै अपार्टमेन्ट किन्नेलाई प्लाटिनम डेभलपर्सले हुन्डाईको ग्रान्ड आइ-१० नियोस गाडी सित्तैमा दिने अफर ल्याएको छ।
कम्पनीका अनुसार ११ सय ६० वर्गफिट युनिटको मूल्य २ करोड ४३ लाख रुपैयाँ तोकेको छ। यो युनिट खरिद गर्ने ग्राहकले ४० लाख रुपैयाँ मूल्य पर्ने हुन्डाई आइ-२० नि:शुल्क पाउने कम्पनीले जनाएको छ। गाडी नलिँदा र केही बार्गेनिङ गर्दा यो युनिट दुई करोड रुपैयाँ हाराहारी आउने देखिन्छ।
साथै ९ सय २० वर्गफिटको युनिट किन्नेले ३० लाख मूल्य पर्ने हुन्डाई आइ-१० नियोस गाडी सित्तैमा दिँदै छ। गाडी नलिँदा र बार्गेनिङ गरे यो युनिटमा पनि खरिदकर्ताले राम्रै छुट पाउने देखिन्छ।
यदि अपार्टमेन्ट मात्रै किन्ने ग्राहकलाई गाडीको मूल्यका साथै बार्गेनिङ गरे अतिरिक्त छुट कम्पनीले दिने बुझिन्छ। किनकि प्लाटिनम डेभलपर्स पनि सकभर छिटो स्टकका युनिट बिक्री गरेर बैंकिङ कर्जा मुक्त हुन चाहन्छ।
ऋणको भारमा नरहेका डेभलपरहरु भने मूल्य घटाएर बेच्नु भन्दा बरु होल्ड गरेर बस्ने रणनीतिमा छन्। सातदोबाटोमा कुल ४० आना जग्गामा १२ वटा रो-हाउजिङ निर्माण गरिरहेको मेरो घरको द अर्बन स्पेसले भने आर्थिक सुस्ततालाई ध्यानमा राख्दै निर्माणलाई नै सुस्त बनाएको संस्थापक ई. विपिन गैरेले बताए। मूल्य नघटेपनि माग नभएकाले कम्पनीले घर निर्माणको रफ्तार भने घटाएको छ।
‘हामीले बैंकिङ कर्जा निकै घटाइसकेका छौं। अहिलेको अवस्थालाई मध्यनजर गर्दै निर्माणको गतिलाई केही कम गरेका छौं। ऋणको दबाबमा नभएकाले घरहरुको मूल्य घटाएका छैनौं, बरु होल्ड गरेरै बस्ने रणनीतिअनुरुप अघि बढेका छौं,’ गैरेले भने। Biz