पिपुल्स न्युज : बुधवार मध्यपुर थिमि गठाघरस्थित जर्मन होम्स पार्टी भेन्यू आयोजित कार्यक्रममा आयू सुपरस्पेसियालिटी क्लिनिकका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा जमूना किरण पौडेलले महिलाहरूलाई स्तन तथा पाठेघरसम्बन्धी क्यान्सरबाट जोगिने उपाय र उपचार विधिहरूबारे जानकारी गराउनुभो।
उहाँले नियमित स्वास्थ्य परीक्षण, पर्याप्त सरसफाइ तथा सावधानी अपनाउन महिलाहरूलाई आह्वान गर्नुभयो। क्यान्सरबारे थुप्रै भ्रमहरू व्याप्त रहेकाले त्यस्ता भ्रमबाट जोगिन पनि अनुरोध गर्नुभयो। महिनावारी, गर्भावस्था तथा महिनावारी हुने उमेर कटेपछि अपनाउनुपर्ने शतर्कताबारे समेत डाक्टर पौडेलले जानकारी गराउनुभयो। सक्षम सहकारीमा आबद्ध सदस्यसहित झण्डै १ सय २० जना महिला कार्यक्रममा सहभागी थिए। साथै, आयु क्लिनिकको सहयोगमा निशुल्क स्वास्थ्य शिविरसमेत संचालन गरिएको थियो।
कार्यक्रममा सक्षम सहकारीका अध्यक्ष सुष्मा थापाले स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने लोकप्रीय टेलिभिजन प्रस्तोता रुपा खड्काले कार्यक्रम सहजीकरण गर्नुभएको थियो।
कार्यक्रम आयोजनाका लागि कृष्ण वचत तथा ऋण सहकारी, अविजित वचत तथा ऋण सहकारी तथा दिपिका बुटिकले सहयोग गरेका थिए ।