शिवजी
Peoples News : पण्डित भगवती मरर, सप्तरी, वि. स. २०७९ साल फागुन १५ गते सोमवार
हालको मधेश प्रदेश, सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, वडा नम्वर – ८, ओद्राहा गाऊँ अवस्थित् एउटा शिवजीको मन्दिर छ । आधी मुगल शैली मस्जिद् जस्तो र आधी हिन्दु सनातनीहरुको मठ–मन्दिर जस्तो गुम्वा राखी बनाईएको यो शिवजी मन्दिरको स्थापना निर्माण बिक्रम् सम्वत् १९८० सालमा महाशिवरात्रीको दिन धर्मानुरागी स्वर्गीय नन्दमाया तिवारीले गर्नु भएको थियो, हो । धार्मिक आस्था अनुसार यसै दिन शिवजी ज्योतीर्मय रुपधारण गर्नु भएको थियो भने शिव–पार्वतीको शुभ–विवाह पनि यसै दिन सु–सम्पन्न भएको थियो । शिवलिङ्गको स्थापनासमेत यसै दिन भएको धार्मिक आस्था र जनविश्वास रहदै आएको छ । मित्र राष्ट्र भारतको बनारसबाट ल्याईएका (आएका) कथित् मुस्लिम समुदायका कालिगढ़हरुव्दारा मन्दिरको निर्माण कार्य सु–सम्पन्न गरिएकोले यो मन्दिरको ढाँचा (आकार) यस्तो हुन गएको (भएको) कुरा यहाँका स्थानीय बासिन्दाहरु भन्नुहुन्छ ।
मन्दिर माथि गजुर र त्रिशूल राखी सज्जाईएको छ । मन्दिरका झ्याल–ढोकाहरु बुट्टा कुदिएका बुट्टेदार छन् । यी झ्याल–ढोकाहरु पनि बनारसबाटै ल्याईएका हुन्, थिए । बिजुलीबत्तीको सुविधा रहेको यो मन्दिरको चारैपट्टि पर्खालले घेरिएको छ साथै वरिपरि सुन्दर र शोभायमान फूलवारी पनि छन् । रुद्राक्ष, रक्तचन्दन र धार्मिक आस्था अनुसार समूद्र मन्थनबाट उत्पति भएको फूल “पारिजात” जसलाई यहाँको स्थानीय भाषामा “मालती” पनि भन्ने गरिन्छ, यो फूल भगवान श्री कृष्णजीलाई चढाउँदा भगवानजी असाध्यै खुशी हुनुहुन्छ भन्ने धार्मिक मान्यता र जनविश्वास पनि रहँदै आएको छ, लगायत् बेल र अन्य जातका बोटबिरुवाहरुले सज्जिएका छन् शिवजी मन्दिर परिशर र छेउछाऊ ……. !
यहाँ शिवलिङ्गसहित् शिव पञ्चायन देव गणेश, विष्णु, सूर्यदेव, महागौरी (पार्वती) मन्दिरभित्र स्थापित् गरिएका छन् भने मन्दिर परिशरको उत्तरपट्टिको ढोकाबाट आँगन परिशरमा प्रवेश गरेपछि बजरंगबलीको (हनुमानजीको) मूर्ती पूर्वपट्टि पश्चिम् मुख फर्काई उत्तरपट्टि ढोका अगाडि़ स्थापित् गरिएको छ, हेर्न सकिन्छ । मल्लकालीन ढाँचाको जस्तो देखिने यी सबै मूर्तीहरु भारतको बनारसबाटै किनेर ल्याईएका हुन् र यी सबै मूर्तीहरुमा प्राण प्रतिष्ठा गरिएको छ । पश्चिमपट्टिको ढोकामा गणेशजीको मूर्ती र नाग स्थापित् छ । यसरी नै उत्तर–पूर्वको कुना ईशानकोणमा बिष्णु भगवानको मूर्ती स्थापित् छ । बिष्णु भगवानलाई रातो रङ्ग, रातो रङ्गको अबिर, अक्षेता, फूल चढाउनु हुँदैन भन्ने मान्यता रहिआएको छ । उत्तर–पश्चिम् कुना वायव्यकोणमा पार्वतीको मूर्ती स्थापना गरिएको छ । दक्षिण–पश्चिम् कुना नैऋत्यकोणमा गणेशजीको मूर्ती स्थापित् छ । दक्षिण–पूर्व कुना आग्नेयकोणमा सूर्यदेव स्थापना गरिएको छ ।
मन्दिरको बीच भागमा शिवलिङ्ग स्थापना गरिएको छ । उत्तर–पश्चिमपट्टि पूर्व फर्केको बसाहा छ, नजिकैसंगै त्रिशूल र डमरु पनि ठड्याईएको छ । रुद्री पाठ गर्ने बेला अटूट् रुपमा जलधार गर्ने जलधारा पनि निर्माण गरिएको छ । शिवलिङ्गमा चढाएको पानी पश्चिमपट्टिको ढोका हुँदै बाहिर बगाउन निकासीको ब्यवस्था पनि मिलाईएको छ तर केही पूजा सामग्री र साउण्ड सिष्टम पनि चोरी भएको तीतो घटना पनि छ । उत्तर ढोकातिर मन्दिरमाथि सिमेन्टबाट निर्मित् दुईवटा (दुईथान) बाघका मूर्तीहरु छन् । संस्थापिका स्वर्गीय नन्दमाया तिवारीको संगमरमरको मूर्ती मन्दिरको दक्षिणपट्टिको भित्तामा मृत्यु पश्चात् राखिएको छ । भित्तामा माथि समयसूचक भित्ते घड़ी पनि झुण्ड्याईएको छ ।
चौध (१४) बर्षकै कलिलो उमेर किशोरी अवस्थामै (अहिलेको कथित् एकल महिला त्यतिखेर बिधुवा भन्ने गरिन्थ्यो अहिले पनि भन्ने गरेको पाईन्छ) प्रचलित सामाजिक परम्परा अनुसार एकल महिला (बिधुवा) बन्न पुगेकी (हुनुभएकी) नन्दमाया तिवारी सो पश्चात् मित्र राष्ट्र भारतको बनारस शहर गई गुरुकुलमा गुरुमन्त्र, शिक्षा–दिक्षा हासिल गर्नुभयो । तत्कालीन नेपालको सरकारले अर्थात् राणाशासनको समयमा जतिबेला नेपालमा महिला, छोरीलाई शिक्षाबाट पूर्ण रुपमा बन्देज लगाईएको थियो त्यति बेला ……. ! धन्य हुनुहुन्छ माताजी ! गुरुबाबाटै प्राप्त ज्ञान र आशीर्वाद्बाट प्रेरित भई आफ्नो नामसंगै पतिको नाम पनि जोडी “नर्मदेश्वर गुठ्ठी ओद्राहा” गठन गरि सञ्चालन प्रकृया पूरा गरी सात जनाको सञ्चालक समितिसहित् मालपोत कार्यालय सप्तरीमा गुठ्ठी दर्ता गर्नुभयो । हरेक बर्ष महाशिवरात्रीको अवसरमा धूमधामकासाथ यहाँ मेला लाग्ने गर्दछ । यस अवसरमा भजन–कीर्तन, नाचगान, रुद्री, शिवपार्वती शुभ–विवाहोत्सव गर्नुकासाथै दुई रातसम्म जाग्राम पनि बस्ने गरिन्छ ।
भगवान् बिष्णुको नबौँ अवतारको रुपमा मानिएको महामानव सिद्धार्थ गौत्तम भगवान् बुद्धको जन्म (अवतार), महाबोधिज्ञान प्राप्त र महानिर्वाण प्राप्त भएको (गरेको) दिन बैशाख पूर्णिमामा चौब्बिसघण्टे अष्टयाम् पनि हुने गर्दछन् यहाँ । हाम्री ममतामयी माता, प्रेरणाकी श्रोत्त, संस्थापिका, धर्मानुरागी नन्दमाया तिवारी परमधाम हुनुभएकी पुण्य तिथिमा ऋषिपञ्चमीको भोलिपल्ट पष्टीतिथिमा ब्राह्मण, साधु–सन्त, ऋषिमुनिहरु बोलाई भोजन–बस्त्र, मुद्रा (रुपियाँ–पैसा) दान गरी अतिथि सत्कार गर्ने परम्परा रहिआएको छ
जसलाई यहाँको स्थानीय भाषामा “भण्डारा” भन्ने गरिन्छ । भोजन–बस्त्रादि दान पश्चात् अतिथिहरुलाई बिदाई गर्ने बेलामा भोजन दक्षिणा पनि दिई बिदाई गर्ने चलन छ । यहाँ दैनिक रुपमा बिहान–बेलुका रुद्री हुन्छ । प्रत्येक सोमवारसाथै विशिष्ट चाड़पर्वको दिन भजन–कीर्तन हुने गर्दछ ।
स्वर्गीय नन्दमाया तिवारीले स्थापना गर्नुुभएको “शिवजी मन्दिर” र “नर्मदेश्वर गुठ्ठी ओद्राहा” अहिले जीर्ण अवस्थामा छ । गुठ्ठीको सञ्चालक समितिमा पुरानो सञ्चालक समिति मध्येकै पदाधिकारी तथा सदस्यहरुको एक योग्य सन्तान स्वतः एक सदस्य हुने ब्यवस्था रहेकोछ । अहिले हालको सञ्चालक समितिमा श्री महेश लुईटेल, मुरारी कार्की, रामभजु प्रसाद रौनियाँर, नन्द प्रसाद गजुरेल, सञ्जीव चौधरी, शशी शुल्क र गाऊँघरमा बोलचालको नाम पशुपति दुलालको सम्बोधनले चिनिने लोकराज दुलालज्यू हुनुहुन्छ । सामाजिक कृयाकलापमा संलग्न गुठ्ठीले विवाह, ब्रतवन्ध, श्राद्ध आदि कार्यहरुमा प्रयोग गर्न सकिने उपयोगी धर्मशाला, पोखरी, फर्निचरकासाथै अन्य आवश्यक सरसामानहरुको ब्यवस्था मिलाएको छ, गरेको छ । त्रियूगा कटानले जग्गा–जमीन क्षति हुँदा यकिनसाथ किटान हुन नसके पनि, भन्न नसके पनि लगभग (५–०–०) पाँच बिगाहा जग्गा एकदम्मै सस्तो दरमा, एकदम्मै न्यून दरमा ठेक्का लगाएको छ ।
यति मात्रै हैन उहाँ औधी शिक्षा प्रेमी भएकै कारण शिक्षा क्षेत्रमा पनि उहाँको उल्लेखनीय र महत्वपूर्ण भूमिका रहयो । अहिलेको श्री नन्द उमा पब्लिक माध्यमिक विद्यालय ओद्राहा उहाँकै अथक प्रयास र अमूल्य योगदान हो । शुरुवातमा त पहिला–पहिला शिवजी मन्दिर अगाड़ी आवासीय सुविधासहित् संस्कृृत विद्यालय थियो, पछि अंग्रेजी माध्यममा शुरुवात गरियो । त्यसपछि त्यहाँबाट विद्यालय सारी समय सापेक्ष आधुनिकीकरण गरियो । त्यति बेलाको तत्कालीन श्री ५ को सरकारले ब्यवस्था गरे अनुसार साधारण र ब्यवसायिक विद्यालय मध्येको साधारण विद्यालय थियो अहिलेको श्री नन्द उमा पब्लिक माध्यमिक विद्यालय ओद्राहा, सप्तरी । विद्यालयलाई आर्थिक कठिनाई नहोस् भनेर उहाँले विद्यालयलाई भूमि (जग्गा) दान (प्रदान) गरी महान् (ठूलो) गुण लगाउँनु भएको छ ।
यति सबै थोक हुँदाहुँदै पनि ओझेलमा परेको छ शिवजी मन्दिर, नर्मदेश्वर गुठ्ठी र श्री नन्द उमा पब्लिक माध्यमिक विद्यालय ओद्राहा, सप्तरी । समिति पनि निष्कृय अवस्थामा थियो, विभिन्न समयमा भएको राजनीतिक उथल–पुथल र व्दन्दका कारण । मन्दिर पनि जीर्ण अवस्थामा छ । अहिले आएर केही अनुदान रकम शिवजी मन्दिर मर्मत–सम्भारका लागि प्राप्त भएको छ जसबाट मन्दिरको मर्मत–सम्भार, सरसफाई र रङ्गरोगन गरिएको छ । शिवजी मन्दिर पुनः निर्माण गर्न श्रोत्त–साधन जुटाई रहेका छौं, भन्नु हुन्छ — गुठ्ठी सञ्चालक समितिका सदस्य श्री लोकराज (पशुपति) दुलाल ज्यू । उहाँले एकचोटी भीषण आगलागी हुँदा महत्वपूर्ण कागजातहरु सबै (सम्पूर्ण) जलेर नष्ट भयो ।
नेपाल बैङ्क लिमिटेड़ कञ्चनपुरबाटै एक लाख, सात हजार रुपियाँ हराएको कुरा पनि बताउनु भयो । सञ्चालक समितिका सदस्य श्री मुरारी कार्की र सञ्जीव चौधरीज्यूको संयुक्त दस्तखतबाट सञ्चालित् बचत खाता पनि थियो, मुद्दती पनि नेपाल बैङ्क लिमिटेड़ कञ्चनपुरमा तर कागजात सबै जलेर, नष्ट भएर रकम पाउन सकिरहेको छैन भनेर जानकारी दिनु भयो । गुठ्ठीका सदस्य श्री मुरारी कार्कीसंग सम्पर्क गर्दा उहाँले अहिले नेपाल बैङ्क लिमिटेड़ कञ्चनपुरमा कुनै खाता नरहेको र हाल त्रियूगा सहकारी संस्था लिमिटेड़ फत्तेपुरमा उहाँहरुकै दस्तखतबाट सञ्चालित् बचत खाता छ तर ने. बै. लि. कञ्चनपुरमा मौज्दात रहेको पहिलाको रकम पाउनको लागि प्रयास जारी रहेको, पहल भईरहेको जानकारी दिनु भयो ।
जतिसुकै कठिनाई आएपनि, जस्तोसुकै विषम् परिस्थिति आएपनि हाल आएर “नर्मदेश्वर गुठ्ठी ओद्राहा” र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री महेश लुईटेलज्यू असाध्यै सकृय हुनुभएको छ । विद्यालयको विषयमा अति आवश्यक चिन्तनमनन, सर–सल्लाह र रेखदेख गरिरहनु भएको छ । हाल यस विद्यालयमा पूर्व माननीय सभासद् श्री सूर्य नारायण यादवज्यू सभासद् रहनु भएको बेला अनुदान सहयोग गर्नु भए पश्चात् प्राविधिक शिक्षा आई. एससी. एजी. पशु विज्ञान (भेटेरिनरी) संकाय सञ्चालनका लागि नयाँ भवन निर्माण गरिएको र आउँदो शैक्षिकसत्रदेखि अध्य्यन–अध्यापन शुरु हुने जानकारी विद्यालयका प्रधानाध्यापक श्री कपलेश्वर यादवज्यूले दिनु भएको छ ।
जतिबेला नेपालमा महिला साक्षरता एकदम्मै न्यून थियो, शून्य नै थियो भन्नु पर्छ । नारी शिक्षा माथि प्रतिवन्ध लगाईएको थियो । कथित् ठूला घरानाका छोरी–चेलीहरुलाई मात्रै अध्य्यन–अध्यापन, गायन, नृत्य, बाद्यवादन गर्ने छुट थियो । झन् कथित् बिधुवा, एकल महिलालाई त सामाजिक तिरस्कार नै गरिन्थ्यो, अहिले पनि यस्तो कुसंस्कार जिवितै छ । त्यतिबेला उहाँ गुरुकुलमा शिक्षा–दिक्षा हासिल गरी धार्मिक, शैक्षिक, सामाजिक कृयाकलापमा सरिक भई समय सापेक्ष साकारात्मक रुपान्तरणका लागि ऐतिहासिक, महत्वपूर्ण र उल्लेखनीय योगदान गर्नुभयो । असाध्यै सह्रानीय र महान् कार्य गर्नु भयो तर दुर्भाग्य ……. बिडम्वना ……. ! विद्याकी देवी सरस्वती माताजीको पावन मन्दिर मानिने विद्यालय र विद्यालयको पवित्र प्राङ्गण, श्री नन्द उमा पब्लिक माध्यमिक विद्यालय ओद्राहाको पवित्र प्राङ्गण परिशरमा एउटा प्रतिमा पनि राखिएको छैन धर्मानुरागी, प्रेरणाकी श्रोत्तकी धनी, श्रद्धेय ममतामयी माताजी नन्दमाया तिवारीको ……. !