लोकतन्त्र अझै ओझैलमै
Peoples News : पण्डित भगवती मरर, सप्तरी, वि. स. २०७९ साल माघ ३ गते मङ्गलवार
थारु भषा, कला, संस्कृति के पहिचान ।
थारु कल्याणकारिणी सभा सप्तरी के शान ।।
बन्द करु दाबन–चापन, अन्त करु एकल सामन्ती शासन ।
हमरा सब के चाही, समानुपातिक प्रतिनिधित्व और पहिचान ।
ने त याब नै रुकत थरुहट के महासंग्राम ।।
थारु भाषा, कला, संस्कृतिको पहिचान ।
थारु कल्याणकारिणी सभा सप्तरीको शान ।।
बन्द गरौं दमन–शोषण, अन्त्य गरौं एकल सामन्ती शासन ।
हामीलाइ चाहिन्छ, समानुपातिक प्रतिनिधित्व र पहिचान ।
नभए अब रोकिने छैन थरुहटको महासंग्राम ।।
माघी पर्वको उपलक्ष्यमा मधेश प्रदेश अन्तरगत् सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाऊँपालिका–२, इटहर्वा बजार, सीतापुर कनौलीमा थारु कल्याणकारिणी सभा सप्तरीको आयोजनामा हालै सम्पन्न “थारु माघी महोत्सव–२०७९” को नारा हो यो । यो नाराले अहिले पनि सामन्ती शासन कायमै रहेको, यथावत् नै रहेको तथा लोकतन्त्र, गणतन्त्र र समाजवाद अझै ओझैलमै रहेको कुरा दर्शाउँछ । वास्तवमा हो पनि ……. ।
भावना कति सुन्दर, कति राम्रो तर ब्यवहार ……. ! थारुहरु आफै आफ्नो भाषा, साहित्य, कला, संस्कृति प्रति सचेत छैनन् । केही ब्यक्तिहरु चासो लिई जगेर्ना गर्नुपर्छ भनेर लागिपरेका पनि छन् तर प्रायः जसो त यस विषयमा सोच्दा पनि सोच्दैनन् । अहिले थारु जातिको शुभ–विवाहमा (विवाहोत्सवमा) बेहुलाले थारु जातिको परम्परागत् पोशाक पनि लाउँदैन, हेला गर्छन् पोशाकलाई । भोजभत्तेरमा जाँदा थारु पोशाक लाउँदैनन् । यस्तो पनि लाउँनु, के लाउनु यस्तो पोशाक ? भन्छन् ।
हाटबजारतिर गयो भने थारु भाषा बोल्न हिच्किचाउँछन्, आत्मग्लानी महशूस गर्छन् । शुभ–विवाहमा निमन्त्रणा कार्ड, श्राद्धमा शोक निमन्त्रणा कार्ड छपाउँदा थारु भाषामा छपाउँदैनन्, शुभविवाहोत्सवमा थारु गीत बजाउँदैनन् । कतैकतै गाउँघरतिर आमा, दिदीबैनी, नारीहरुले गाउँछिन् शुभविवाह संस्कारका संस्कारिक गीत, त्यो पनि लोप हुनै लाग्यो, लोपोन्मुक अवस्थामा छ । थारु भाषामा थुप्रै थारु जातिका प्राचीन परम्परागत् गीत–गजलहरु (गीत–गोद्हनहरु) छन् । अल्प संख्या, अतिनै न्यून मात्रामा केही यस्ता गीतहरु स्वराँकन र छायाँकन (स्वराँङ्कन र छायाँङ्कन) पनि भएका छन् तर अहिलेको यो सञ्चार प्रविधिको युगमा जति हुनुपर्ने हो त्यति हुन सकेको छैन, भएका छैनन् भने आधुनिक लोकगीतहरु अलि केही बढ़ी भएका छन् । समय र युग अनुसार हुनुपर्छ, यो साकारात्मक र राम्रो पक्ष हो तर प्राचीन परम्परागत् गीततिर पनि ध्यान पुर्याउनु अति आवश्यक देखिन्छ । ठाउँ–ठाउँमा प्रकाशन गृह, वित्तरण गृह, विद्युत्तीय सञ्चार माध्यम् सञ्चार गृह हुनु अति आवश्यक छ ।
यस्तै थारु जातिको संस्कारभित्र थुप्रै कुसंस्कारहरु पनि हावी छन् त्यसलाई पनि समय, परिस्थिति र युग अनुसार बदल्न सक्नु पर्छ । थारु कल्याणकारिणी सभाले अनावश्यक भोजभत्तेर खर्च घटाउन, मितब्ययित्ता अपनाउन भनेकै छ । कुसंस्कार, कुरीति, विकृति, बेथिति हटाउन भनैकै छ तर यतातिर ध्यानै नदिई अनावश्यक खर्च गर्ने, बालविवाह गर्ने परिपाटी अहिले पनि छँदैछ । पढ्न–लेख्न छाडी भागी विवाह गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गई रहेकोछ, बृद्धि भई रहेकोछ । यो दुःखद् पक्ष हो ।
श्रीमान् (पति) स्वर्गे हुँदा चुरा फुटाउनु पर्ने, सिन्दूर पखाल्नु पर्ने, सेतो पोशाक लगाउनु पर्ने, ब्रह्मचर्य (ब्रह्मचारिणी) जीवन ब्यतित् गर्नु पर्ने बाध्यात्मक परिस्थिति अहिले पनि छँदैछ । पोई टोक्वी पनि भन्ने गर्छन् । केही ब्यक्तिहरु भन्छन् — पारिवारिक बन्धनबाट मुक्त गरिएको हो । यदि यस्तै हो भने त घरबाट निकाले पनि हुन्छ, निकाले सरह भैहाल्यो नि ! के यति हुँदैमा विवाह रद्द हुन्छ ? घर–परिवार, धनसम्पतिमा हक लाग्दैन ? कस्तो सोच ? एक्काईस्सौं शताब्दीमा पनि यस्तो अमानवीय ब्यवहार र कुसंस्कार जिवितै छ, यथावत् नै छ । अनि कसरी हुन्छ भाषिक उत्थान, कसरी हुन्छ साँस्कृतिक उत्थान ? गर्व गर्ने स्थिति छ ? पक्कै पनि छैन ।
नेपालमा अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भईसकेको छैन । संघीय लोकतान्त्रिक, गणतान्त्रिक देश बन्न सकेको छैन । थारु समुदायमा अझै पनि जेठरैत (थानपति) प्रथा (प्रचलन) पुरानै परम्परागत् शैली, प्राचीन शैली, सामन्तवादी (सामन्ती) शैली अन्तरगत् नै प्रचलित छ । लोकतान्त्रिक हुनसकेको छैन । यसलाई लोकतान्त्रिक, समाजवादी, गणतान्त्रिक बनाउँन जरुरी छ । यस्ता थुप्रै कारणहरु छन् जसले लोकतन्त्रलाई ठेस पुर्याउने काम गरिरहेको छ, आघात पुर्याई रहेकोछ ।
संवैधानिक राजतन्त्र वा राजसंस्था विघटन भई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भईरहदाँ अझै पनि लोकतन्त्रको सही अभ्यास हुन बाँकी नै छ । पटक–पटक स्थानीय निकाय, प्रदेश र संघको निर्वाचन सम्पन्न भई सरकार गठन हुँदा पनि बास्तविक लोकतन्त्रको अनुभूति हुन बाँकी नै देखिन्छ । नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको सही उपभोग र उपयोग गर्न बाँकी नै छ । समाजवाद, लोकतन्त्र र गणतन्त्रको अभ्यासमै छन् अहिले पनि नेपाली जनता । उनीहरुका लागि सामन्तवाद, परतन्त्र र निरंकुशतन्त्र नै हावी छन् । सबै ठाउँमा यस्तो अवस्था नहोलान् जस्तो कि नेपालको पश्चिम्, सुदूरपश्चिम् तिर थारु समुदायमा भलमन्सा (मुखिया) छान्ने चलन छ, जनसमुदाय वा जनताले आफ्नो हक अधिकार प्रयोग गरी आफूले ईच्छाएको ब्यक्ति छनौट गर्न पाउनु राम्रो चलन (प्रथा) हो तर प्रायः जसो ठाउँमा थारु समुदाय लगायत् केही अन्य समुदायमा पनि तत्कालीन राजसंस्थाले शासन चलाएझैं ग्रामिण ग्रामदेवता थानमा (मन्दिरमा) पुस्तौंपुस्ता एउटै ब्यक्तिका बंश वा घर–परिवारका सदस्य थानको थानपति रहदै आएको अलोकतान्त्रिक परिपाटी (परम्परा) अहिलेसम्म कायमै छ ।
कहिले हट्ने होला यो अन्धकार ? सामाजिक रुपान्तरण, साँस्कृतिक रुपान्तरण गर्छौं, बिकृति, बिसंगति, कुरीति, कुप्रथा हटाउँछौं, निर्मूल पार्छौं भन्ने कुरा त गर्छौं तर यतातिर ध्यान पुर्याउन सकेका छैनौं । अहिले पनि यस्ता–यस्ता परिपाटी, कुप्रथालाई अन्त्य गरी सही समाजवद, लोकतन्त्र र गणतन्त्र अथवा संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति नेपाली जनताले पाउनु पर्छ । स्थानीय मठ–मन्दिर, ग्रामथान सञ्चालनार्थ सञ्चालक समिति (ब्यवस्थापन समिति) बनाई दर्ता गर्न–गराउन निर्देशन जारी गर्नु पर्ने आवश्यक देखिन्छ । थारु आयोगलाई सक्रिय बनाउनु पर्छ । आयोगले कार्य गर्न सकिरहेको छैन । कर्मचारी (जनशक्ति) अभाव हो कि बजेट अभाव हो अथवा अन्य विविध कारण ……. ? नेपाल सरकारले यस विषयमा चासो लिई ध्यान दिनुपर्ने देखिन्छ । थारु समुदाय आफै पनि सचेत र जागरुक हुनुपर्ने जरुरी देखिन्छ ।