पिपुल्स न्युज काठमाडौँ : नेपाल राष्ट्र बैंकले कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बौल्दै लघुवित्तले बढी ब्याज लिएमा राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरेका हुन् ।
पछिल्ला दिनमा लघुवित्तले ऋणीहरुको घरबारै उठाइदिएको घटनाहरु सार्वजनिक भइरहेका छन्। गरिबी निवारणका लागि प्रमुख माध्यम मानिएको लघुवित्तले पछिल्लो समय सयौँ ऋणीलाई घरबारबिहिन बनाउने अवस्थामा पुगेको छ ।
लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने जस्ता काम गर्न थालेका छन् । यसो हुँदा ऋणीहरु घर छाडेर जंगलतिर लुक्ने जानेसम्मक अवस्था सिर्जना भएको छ ।
कार्यकारी निर्देशक नेपालले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्शन गर्ने पनि बताएका छन् ।
स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीयस्तरमा समस्या बढी बढ्दै गएको बताएका छन्।
उनले एउटा लघुवित्तबाट ऋण लिएर अर्को लघुवित्तबाट लिएको ऋण तिर्ने प्रक्रिया बढेपछि नेपाल राष्ट्र बैंकले एउटा ग्राहकलाई सकेसम्म एउटा वा बढीमा दुइ वटा लघुवित्तमा मात्र आबद्ध हुन पाउने व्यवस्था गर्न लागेको पनि बताए ।
लघुवित्त भनेका स्वनियममा चल्ने संस्था भएको हुनाले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई जसरी टाइट रेगुलेसनमा लघुवित्तलाई नराखिने उनले प्रष्ट पारे ।